Friday 17th April 2026

राहुल गान्धीले भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदबाट राजीनामा दिए


तितोपाटी -राहुल गान्धीले भारतको मुख्य विपक्षी दल कांग्रेस पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। हप्तौंको अड्कलबाजीपछि उनको यस्तो निर्णय आएको हो। आफ्नो राजीनामा पत्रमा उनले हालैको लोकसभा चुनावमा भएको पार्टीको हारको जिम्मेवारी लिएका छन्। उनले आफ्नो राजीनामा पत्र सामाजिक सञ्जाल ट्वीटरमा समेत राखेका छन्। उनले उक्त पत्रमा अरूको जवाफदेहिता खोज्नुअघि आफू जवाफदेही हुन आवश्यक रहेको बताएका छन्। उनले राजीनामा दिने आफ्नो मनसाय यसअघि नै घोषणा गरेका थिए। तर पार्टी नेताहरूले भने उनले आफ्नो मनस्थिति बदल्ने आशा गरेका थिए।

गान्धीका पिता, हजुरआमा र जिजुबुवा सबै भारतका पूर्व प्रधानमन्त्री थिए। आफ्नो राजीनामा पत्रमा उनले सत्तारुढ भारतीय जनता पार्टी बिजेपीप्रति आफ्नो कुनै “द्वेष वा रिस” नरहेको बताए पनि उनले भारतको बारेमा उक्त पार्टीको विचारको आफ्नो शरीरको प्रत्येक कोषले विरोध गर्ने बताए। र, त्यस्तो विचार द्वेष र मतभेदमा आधारित रहेको पनि उनले बताए। उनले चुनावको निस्पक्षतामाथि पनि प्रश्न उठाएका छन् र भनेका छन् “हामीले राजनीतिक पार्टीसँग लडेका होइनौं… हामीले भारतको समग्र पद्दतीसँग लडेका हौं।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको बिजेपी पार्टी हालैको चुनावमा भारी मतसहित विजयी भएको थियो। चुनावमा निकट प्रतिस्पर्धा हुने ठानेका विपक्षी दल र विद्वानहरू उक्त जीतबाट चकित भएका थिए।

राजीनामा पत्रमा के छ ?

राहुल गान्धीले राजीनामा पत्रमा कंग्रेसका लागि काम गर्नु सम्मानको विषय भएको बताएका छन्। पार्टीको आदर्श सुन्दर भारतको जीवनशक्ति रहेको बताउँदै उनले सन् २०१९ को लोकसभा चुनावमा आफ्नो पार्टीको हारको जिम्मेवारी आफ्नो भएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। भविष्यमा पार्टीको विस्तारका लागि जवाफदेहिता एकदमै महत्त्वपूर्ण रहेको र यही कारणले नै आफुले कंग्रेस पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएको उनले बताएका छन्।

पार्टीलाई फेरि बनाउनका लागि कडा निर्णयको जरुरी भएको बताउँदै लोकसभा चुनावको हारका लागि धेरै मानिसहरूलाई जवाफदेही बनाउनुपर्ने जरूरी रहेको भन्दै उनले अरूलाई जवाफदेही बनाउने तर आफ्नो जवाफदेहिताको कुरा चाहिँ बेवास्ता गर्नु अन्याय हुने बताएका छन्। सन् २०१४ को चुनावमा कंग्रेस पराजित हुँदा पनि राहुल गान्धी नै पार्टी अध्यक्ष थिए। त्यतिबेला ५४३ सिट मध्ये कंग्रेसले जम्मा ४४ सिटमात्रै जितेको थियो। यो वर्ष उसले ५२ सिट ल्याएर केही राम्रो गर्‍यो तर धेरैले यसलाई “अपमानित गर्ने प्रदर्शन” भनेका छन्।

गान्धीले उत्तरी राज्य उत्तर प्रदेशको आफ्नो पारिवारको निर्वाचन क्षेत्र अमेथीमै पनि हार बेहोरे। तर दक्षिणी राज्य केरलामा अर्को सिट जितेका कारण उनी सांसदचाहिँ छन्। कंग्रेस पार्टीका कतिपय सहयोगीले आफूलाई अध्यक्ष पदका लागि आउँदो चुनाव गर्न भनेको पनि राहुल गान्धीले बताएका छन्। पार्टीको नयाँ अध्यक्ष जो भए पनि त्यो आफूले चयन गर्नु ठिक नहुने उनले बताए। आफ्नो पार्टीको इतिहास र विरासत विशाल भएको भन्दै उनले पार्टीको संघर्ष र मर्यादाको सम्मान गर्ने बताए। उनले पार्टीले नेतृत्वको बारेमा एकदमै सही निर्णय गर्नेमा आफू विश्वस्त रहेको र नयाँ नेतृत्वले पार्टीलाई साहस, प्रेम र इमानदारीपूर्वक अघि बढाउने उनले बताए।

“अध्यक्ष पदबाट राजीनामा दिए लगत्तै मैले कंग्रेसको वर्किङ कमिटीमा रहेका आफ्ना सहकर्मीलाई नयाँ अध्यक्ष चयनका लागि एउटा समूह बनाएर उसैलाई जिम्मेवारी दिन सल्लाह दिएको छु,” उनले लेखेका छन्। त्यस्तो समूहलाई नयाँ अध्यक्ष खोज्न आफूले मद्दत गर्ने र त्यसो गर्दा कंग्रेसको नयाँ नेतृत्व खोज्न निकै सजिलो हुने उनले बताए। उनले आफ्नो संघर्ष सजिलै सत्ता पाउनु नरहेको पनि उल्लेख गरेका छन्।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन…

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

काठमाडौँ — नेपालका लागि चीनका राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग सोमबार भएको अनौपचारिक भेटमा तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे…

प्रतिकृयाहरू
...