Saturday 18th January 2025

राजदूत ज्यू हनिमुन सकिएन ?


तोयानाथ उपेक्षित – सवैलाई थाहा छ कर्मचारी, राजदूत वा मन्त्री र सांसदहरुले आफ्नो नियुक्तिलाई खुशीसाथ सहज तुल्याउन हनिमुने सुविधा पाउँछन तर खाडीमा काम गर्न आउने मजदुरका लागि त्यही हनिमुने समय प्रोभेजनरी प्रियड अर्थात परीक्षणकालका रुपमा प्रस्तुत भईदिन्छ । विशेष सर्तकता, निक्कै कठिन मेहनत र सकसपूर्ण १०० दिनहरु पार गर्न फलामको चिउरा चपाए जस्तो गाहो हुन्छन् नै ।

खासगरेर स्थानिय स्तरमा काम परिवर्तन गर्नेहरुको हकमा प्रोभेजनरी समय केही सहज भए पनि नया आउनेहरुको हकमा निक्कै कठिन हुन्छन । किनकी होमसिक सँग जुधेर, तातो चिसो मौसमसँग मस्कन सजिलो हुन्न । पुराना गोठालाहरुसँग एउटै खोरमा दाना पानी मिलाउन पनि सोच्न पर्ने हुन्छ । बाघ जस्ता मान्छेहरु यहाँ आएर विरालो जस्तो भएर बोल्न नजान्दा दुःख पाउने खतरा पनि उतिक्कै हुन्छ । बांगे बजार सम्झेर भौतारिने छुट हुदैन । साईली माईली लाई बाटो ढुकेर जिस्काउने कर्तुत पनि काम लाग्दैन । काम मन नपराउला की भन्ने पिर । मेडिकल फेल भईएलाकी भन्ने चस्को र साहुसँग काढेको रिऋको व्याज सम्झेर मजदुरका हनिमुने दिन चिन्तैचिन्तामा सकिन्छन । आलाराम सँग सम्बन्ध विकाश पर्ने बाध्यता र घरमा दंग्याएर श्रीमती र आमा लाई रुवाएको पाप कराउन शुरु भईसकेको हुन्छ । विस्तारै विस्तारै अरबका डोरी लाहुरेले समयको महत्व बुझ्न थाल्छन र पैसाको बोट पनि खोज्न थाल्छन ।

राजदूत ज्यू तपाईसँग यहाँ हनिमुने समयमा केही प्रश्न हुने छैनन अहिले । म पनि त्यो चाहान्न यहाँको हनिमुन भंग होस । यस लेख मार्फत तपाईलाई एक सय दिन सकिन लाग्यो भनेर आलाराम बजाउन मन लाग्यो । यहाँले १५ अप्रिलमा कुवेतका राजालाई अहोदाको प्रमाण पत्र बुझाएको मितिले हिसाव गर्दा हुनिमुनको समय अझै लगभग महिना दिन नै बाकी देखिन्छ तर नेपाल सरकारलाई हाई हाई गर्दै परराष्ट्रलाई बाई गरेको समयलाई गणना गर्ने हो भने हनिमुनको समय सकिएको छ । जनताको कर नै तपाईहरुको सेवा र सुविधाको श्रोत भएकाले हामीले त्यसरी नै समय हेर्ने हो । तपाईको दुतावासको फेसबुक आईडी अप्रिल १५, १८ र २८ भन्दा पछाडी अपडेट नभएको देख्दा हनिमुन साँच्चै लागेकै हो त ? भन्ने प्रश्न उठेको छ । किन त्यस्तो भएको होला ? अपडेड नहुने आईडी बन्दै गरे राम्रो, की अपडेट भईरहोस भन्ने माग गर्दछु म । आईडी चलाउने जनशक्ति नभएको हो की दुतावास काम नै नगरी सुतेको छ परबाट बुझ्ने आधार पहिल्याउन कठिन भो ।

दर्जनौ नेपाली संघसस्था सक्रिय छन यहाँ । हरेक शुक्रवार कुनै न कुनै कार्यक्रम भई नै रहेका हुन्छन । दुतावासको उपस्थितीलाई ति संस्थाहरुले गर्वका साथ ग्रहण र स्वागत गर्ने गर्दछन । तर हनिमुन कहिले सकिन्छ राजदूत ज्यू तपाईहरुको उपस्थिती हुन नसकेर आयोजकहरु निस्ताएका छन भन्ने खबर आईरहेका छन । दर्जन भन्दा धेरै कर्मचारी र झण्डै आधा दर्जन डिप्लोम्याटहरु हुदा पनि तपाईहरुले समय दिन नसकेको कुरा किमार्थ राम्रो लागेन । राजदुतको हनिमुन नसिद्धिएको भए पनि अरुको त त्यस्तो अवस्था नहोला । यदि लाईभ प्रसारणको डर हो भने भन्नु परयो कुवेतका पत्रकारहरुका क्यामरा यहाँहरुतिर फर्किने छैनन । अतिथीलाई बोलाएर बेखुशी बनाउने यहाँको कल्चर छैन ।

जे जे भो अब त्यसो नहोस । हनिमुन सकियो भने अब जाग्न परयो । नयाँ राजदुत, नयाँ कर्मचारीको नयाँ ठाउँमा नयाँ जोश र कार्ययोजना थाहा पाउने दिनको कामनामा हामी व्यग्र छौ । सवैका शुभकामनाहरुलाई संगालेर राख्नु नै भएको होला । शुभकामना श्रापमा परिणत हुन दिनु हुदैन । दिनको झल्को विहानीले दिए झै नयाँ नेतृत्वले फरक आशा जगाउने काम होस । तपाईहरु अपडेट हुनुहोला । वेब र आईडीहरु अपडेट भईरहुन । समस्याहरुको नियमित सार्वजनिक सुनुवाई गर्ने परिपाटी बनाउनुहोला । कसैले कसैका लागि केही नगरे पनि गुनासाहरु सुनिदिने सम्म भईदिए पनि मनको सन्तोस हुन्छ त्यसलाई विचार गर्न अनुरोध छ । यति नै ।


सम्बन्धित शीर्षकहरु

इरानी राष्ट्रपति मसूद पेजेश्कियान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वका दुई सबैभन्दा बढी प्रतिबन्धित राष्ट्रहरू बीचको साझेदारीलाई गहिरो बनाउँदै सहयोग…

चर्चित गायक एबम अभिनेता प्रकाश सपूतको  चलचित्र "बसन्त" मा समावेस गीत साँझ पर्‍यो झमक्क युट्यूब ट्रेडीङ्गमा पर्न सफल भएको छ …

देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।नेपाल राष्ट्र…

प्रतिकृयाहरू
...