Saturday 4th May 2024

सहारा मरुभूमीबाट आएको तातो हावाले गर्दा युरोपमा अत्याधिक गर्मी


तितोपाटी – युरोपमा पछिल्लो साता अत्याधिक गर्मीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । फ्रान्स, इटाली, जर्मनी, चेक रिपब्लिकलगायत मुलुकका थुप्रै सहरमा अचानक तापक्रम बढ्दा केहीले ज्यानसमेत गुमाएका छन् । शुक्रबार मध्याह्नसम्म फ्रान्समा ४५ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम हो । फ्रान्समा सन् २००३ मा ४४ दशमलव १ सेल्सियस तापक्रम पुगेको थियो ।

अत्यधिक तापक्रमसँगै फ्रान्समा स्वास्थ्यमन्त्री एग्नेस बुज्यानले ‘सबैजना खतरामा रहेको’ भन्दै गर्मीबाट बच्न सचेत गराएका छन् । फ्रान्सको जलवायु विभागले त दक्षिणी क्षेत्रका चार ठाउँलाई ‘रेड अलर्ट एरिया’ नै घोषणा गरेको छ । फ्रान्ससँगै जर्मनी, पोल्याण्ड र चेक रिपब्लिकमा जुन महिनामा हुने अहिलेसम्मकै धेरै तापक्रम पुगेको छ । यस्तै इटालीको सरकारले पनि १६ सहरलाई संकटग्रस्त क्षेत्रको रूपमा चित्रित गरेको छ ।

स्पेनमा भने त्यहाँको सरकारले सम्भावित खतराका लागि तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । त्यहाँका विभिन्न ८ प्रदेशलाई ‘रेड अलर्ट एरिया’ को घोषणा गरिएको छ । साथै थुप्रै ठाउँमा ४२ डिग्री सेल्सियससम्म तापक्रम नाघ्नसक्ने अनुमान गरिएको छ । गर्मीकै कारण थुप्रै स्कुलका परीक्षासमेत स्थगित गराइएको छ । मृतकको संख्या यकिन भने छैन । गर्मीसँगै प्रभावित क्षेत्रमा स्वीमिङ पुल, नदी र समुद्री किनारमा मानिसको घुइँचो लाग्न थालेको छ ।

मौसमविद्हरूका अनुसार सहारा मरुभूमीबाट आएको तातो हावाले गर्दा युरोपका विभिन्न सहरमा तापक्रम बढेको हो । अघिल्लो महिनामात्रै चिसो रहेका कतिपय सहरमा पनि जुनमा ह्वात्तै गर्मी बढेको छ । मौसमविद्हरूका अनुसार युरोपका विभिन्न देशमा कायम रहेको तापक्रम अझै बढ्नसक्ने छ ।


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...