Wednesday 7th January 2026

विदेशका अस्पतालमा कोमामा रहेका नेपालीलाइ सरकारी खर्चमा स्वदेश फर्काइने


तितोपाटी – विदेशका अस्पतालमा कोमामा रहेका नेपालीलाइ सरकारी खर्चमा स्वदेश फर्काइने भएको छ । सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा कार्यदल गठन गर्ने निर्णय गरेको हो । श्रम मन्त्रालयका सहसचिवको संयोजकत्वमा स्वास्थ्य, अर्थ, परराष्ट्र, कानून मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सक, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र ट्रेड युनियनका तर्फबाट सदस्य रहने कार्यदल गठन गरिनेछ ।

कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भीर प्रकृतिका बिरामीलाई नेपाल ल्याउने प्रक्रिया/मापदण्डका सम्बन्धमा सुझाव पेश गर्ने बोर्डको सचिवालयले जनाएको छ । अचेत अवस्थामा रहेका बिरामीलाई नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानूनी संयन्त्रलगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सरकारलाई सुझाव दिनेछ । दक्षिण कोरिया, साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएइ)लगायत मुलुकका विभिन्न अस्पतालमा २८ जना नेपाली अचेत अवस्थामा उपचाररत रहेको सरकारको तथ्याङ्क छ ।

त्यसैगरी बैठकले वैदेशिक रोजगारीको सिलसिलामा करार अवधिभित्र बिरामी भई स्वदेश फर्किएर उपचारका क्रममा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका ११४ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । उनीहरुलाई आर्थिक सहायता प्रदान गर्न बोर्ड सचिवालयले रु छ करोड ६६ लाख विनियोजन गरेको छ । यसअघि करार अवधिमा विदेशमा मृत्यु भएका कामदारका परिवारले मात्र आर्थिक सहायता प्राप्त गर्दै आएका थिए । सरकारले कानून संशोधन गरेरै करारअवधिभित्र बिरामी भई स्वदेशमा उपचारका क्रममा मृत्यु भएमा वा बिदामा फर्किएको बेला मृत्यु भएमा मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको हो ।

बैठकले साउदीमा भएको एक दुर्घटनाका क्रममा शव साटफेर भएको घटनाका पीडितलाई पनि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । सोही दुर्घटनामा परी जीवितै रहेका भनिएका मृतक बागलुङका तजेन्द्र भण्डारीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने र मृत्यु भएको भनिएका (जो पछि जीवितै फर्किए) झापाका सुवास तामाङको परिवारले बुझेको आर्थिक सहायतालाई उपचार खर्चमा रुपान्तरण गर्ने निर्णयसमेत गरेको छ ।

बागलुङका तेजेन्द्र भण्डारीको सवारी दुर्घटनामा परी साउदी अरेबियामा मृत्यु भएको थियो । अस्पतालले शव पठाउँदा भण्डारीको शवलाई मोरङका सुवास तामाङ भनी पठाएकोे थियो । सुवासको परिवारले तामाङ संस्कारअनुसार दाहसंस्कार गरी नियमानुसार सचिवालयबाट आर्थिक सहायतासमेत प्राप्त गरिसकेपश्चात् उनी जीवितै नेपाल फर्किएका थिए ।

बैठकले राहदानीमा ‘मृतक’ भनी छाप लागेका र मृत्यु दर्तासमेत भइसकेको अवस्थामा सुवास जीवितै फर्किएकाले उनलाई पुनः नागरिकता लगायत अन्य कागजात उपलब्ध गराउन श्रम मन्त्रालयमार्फत सरकारसँग सिफारिस गर्ने निर्णयसमेत गरिएको बोर्डले जनाएको छ ।

-रासस


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

डिसेम्बर २८ मा तेहरानमा पसलेहरूको हडतालसँगै सुरु भएको विरोध प्रदर्शनमा सुरक्षा बलका सदस्यहरू सहित कम्तिमा १२ जनाको मृत्यु भएको आधिकारिक…

प्रतिकृयाहरू
...