Wednesday 7th January 2026

झ्यालको सिसा फुटेको क्षतिपुर्ति ३० लाख रूपैयाँ दिनु लोकतन्त्र हो कि लुटतन्त्र सरकार ?


तितोपाटी – सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयर शिवाकोटीलाई मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिएको हो । साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भएका थिए । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको पनि मृत्यु भएको थियो ।

घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै १० कात्तिकको विरोध र्यालीमा स्थानीयले मेयरको शनिश्चरेस्थित साढे दुईतले घरमा ढुंगा प्रहार गरेका थिए । त्यसक्रममा केही झ्यालका सिसा फुटेका थिए भने नगरपालिकाबाट लिएको मे१झ १२१ नम्बरको गाडीमा र बा१०च ३०६१ नम्बरको निजी कारमा सामान्य क्षति पुगेको थियो । उनको छोरा नेपाल रत्न सिवाकोटीको मे७प ३००० नम्बरको बुलेट मोटरसाइकल भने आन्दोलनकारीले जलाइदिएका थिए ।

मेयर सिवाकोटीले घटनाको केही समयपछि जिल्ला प्रशासन कार्यालयमार्फत एक करोड चार लाखबराबरको क्षतिको विवरण बनाएर सरकारसँग क्षतिपूर्ति माग गरेका थिए । नातिको एउटा खेलौना गाडीको क्षतिपूर्ति मूल्य मात्रै २४ हजार माग गरेका थिए । झापाका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले करिब एक करोड उपलब्ध गराउनुपर्ने फाइल गत वर्ष प्रधानमन्त्री कार्यालयमा पठाएको बताए । प्रधानमन्त्री कार्यालय स्रोतले पनि गत वर्ष नै फाइल प्राप्त भएको जनाएको छ । ‘गत वर्षदेखि नै फाइल रोकिएर बसेको थियो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘त्यतिवेला जिल्ला प्रशासन कार्यालय झापाबाट फाइल प्रधानमन्त्री कार्यालयमा आएको हो ।’

मेयरले मागेका थिए एक करोड चार लाख क्षतिपूर्ति

नगरपालिकाको बोलेरो गाडी – ३१ लाख
निजी कार – ४३ लाख
टिभी – १ लाख ८० हजार
बुलेट मोटरसाइकल – ४ लाख ५० हजार
झ्यालको सिसा – एक लाख ५० हजार
सिलिङका बत्ती – २० हजार
प्लास्टिकका कुर्सी – चार हजार
गमला – १० हजार
मार्बलका बुट्टा – ३० हजार
लत्ताकपडा – पाँच हजार
खेलौना गाडी – २४ हजार
विश्राम घर – तीन लाख ५० हजार
सोफा टेबल – एक लाख ३० हजार
घरको बाहिरी क्षति – १५ लाख
घरपछाडिको सिटिङ रुमको क्षति – दुई लाख ५० हजार
राउन्ड झ्याल (दुई थान) दुई लाख
स्रोतः इलाका प्रहरी कार्यालय बिर्तामोड

अहिले नगरपालिकाको गाडी नगरपालिकाकै खर्चमा, निजी कार इन्स्योरेन्स रकमबाट मर्मत गरिसकेका र घरको सिसा फेरेर भित्तामा रङरोगन पनि गरेका सिवाकोटीलाई सरकारले ३० लाख के आधारमा दियो भन्ने प्रश्न उठेको छ । बिर्तामोडका नेकपाकै कार्यकर्ताले समेत आपत्ति जनाएका छन् । तत्कालीन एमालेबाट मेयर निर्वाचित सिवाकोटी प्रधानमन्त्री ओलीनिकट मानिन्छन् । बिर्तामोड आउँदा प्रधानमन्त्री धेरैजसो उनकै घरमा बस्छन् । सिवाकोटी बिर्तामोडका प्रतिष्ठित व्यवसायी एवं नर्सिङ कलेजका सञ्चालकसमेत हुन् ।

मेयर सिवाकोटीसहित सातजनालाई क्षतिपूर्ति

वैशाख २० र २३ गते बसेको मन्त्रिपरिषद् बैठकले सिवाकोटीसहित विभिन्न जिल्लाका सात जनालाई उपलब्ध गराउन ८४ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको थियो । अर्थमन्त्रालयको वेबसाइटमै रकम निकासा भएर गृह मन्त्रालयमा गएको प्रस्ट उल्लेख छ । अर्थले जेठको विवरणको तेस्रो बुँदामा यो विषय समेटेको छ । अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले वेबसाइटमै सबै खुलाइएको बताउनु भयो ।

‘क्याबिनेटले निर्णय गरेपछि अर्थ मन्त्रालयले रकम निकासा गर्ने हो,’ अर्थका प्रवक्ता खत्रीले भन्नुभयो, ‘रकम निकासा भइसकेको छ कि छैन भन्ने थाहा पाउन अर्थ मन्त्रालयको वेबसाइट हेर्दा हुन्छ ।’सिवाकोटीबाहेक रामेछापकी विमला विश्वकर्मा, स्याङ्जाकी पवित्रा भण्डारी र मोरङका गोविन्दराम गौतमलाई पाँच–पाँच लाख, नेपालगन्जका कमलसिंह क्षेत्रीलाई एक लाख, अछामका हिमाल विकलाई आठ लाख र काठमाडौं महानगरपालिका–३ वसुन्धराका रोहन गुरुङलाई ३० लाख दिएको छ । गुरुङ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हुन् ।

-जनताटाइम्सबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

डिसेम्बर २८ मा तेहरानमा पसलेहरूको हडतालसँगै सुरु भएको विरोध प्रदर्शनमा सुरक्षा बलका सदस्यहरू सहित कम्तिमा १२ जनाको मृत्यु भएको आधिकारिक…

प्रतिकृयाहरू
...