Tuesday 24th February 2026

विवाह गर्ने प्रलोभन देखाइ २० भन्दा बढी युवतीसँग ठगी


तितोपाटी – संभ्रान्त परिवारका युवतीहरूलाइ विवाह गर्ने प्रलोभन देखाइ ठगी गर्दै हिंड्ने  एक युवा विरूद्धको उजुरी यतिवेला प्रहरीमा परेको छ । हुँदै नभएको पद  देखाएर युवतीहरूसँग नजिक हुने र प्रेम सम्बन्ध कायम गरी विवाह गर्ने प्रलोभन देखाइ धन सम्पती ठगी गर्दै हिँड्ने नवलपरासी डन्डाका २८ वर्षीय रोनाल्डराज आचार्यका विरूद्ध जाहेरी परेपछि उनको खोजी प्रहरी लागेको बुझिएको छ । लामो समय देखि फरक फरक ठाउँका फरक फरक युवतीहरूलाइ ठग्दै आएका आचार्यको विरूद्ध पीडित युवती खानदानी घरानाका भएकाले पारिवारिक प्रतिष्ठाको कारण उनीहरू खुलेर बाहिर आउन  नसकेको प्रहरीले बताएको छ ।

पछिल्लो पटक ठगिएकी ज्ञानेश्वरकी किरण शाह (नाम परिवर्तन)ले प्रहरीमा उजुरी गरेपछि मात्रै यो विषय बाहिर  आएको हो । आचार्यसँग प्रेम सम्बन्धमा रहेकी शाह त्यतिवेला छाँगाबाट खसेझै भइन्, जतिवेला एक अपरिचित युवतीले हुनेवाला दुलाहको असली धन्दा पर्दाफास गरिन् । त्यस वेलासम्म ढिला भइसकेको थियो । नगुम्नुपर्ने गुमिसकेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौं टेकुस्थित कार्यालयमा आइतबार भेटिएकी उनी प्रहरीसँग भन्दै थिइन्, ‘त्यसले मेरो सबै सक्यो । त्यसविरुद्ध कानुनी कारबाही गरिपाऊँ ।’

केही सातापछि मात्रै दुईबीच इन्गेजमेन्ट हुँदै थियो । यसका लागि राजधानीको पाँचतारे होटेल बुक गरिएको थियो । उपहार दिन डेढ करोड रुपैयाँको ल्यान्डरोभर कारसमेत तयार थियो । तर, जब हुनेवाला दुलाहाको असली धन्दा सतहमा आयो, बल्ल सबै योजना तासको घरझै भताभुंग हुन पुगे । आचार्य अहिले प्रहरी हिरासतमा छन् । शाह न्याय खोजीमा भौँतारिँदै छिन् ।

प्रहरीका अनुसार आचार्यले शाह जस्तै २० भन्दा धेरै युवतीलाई यसैगरी फसाइसकेका छन् । ‘उसको खास धन्दा विभिन्न प्रलोभनमा युवती फसाउने र धनमाल लिने रहेको देखिन्छ । उसले २० भन्दा धेरै युवतीलाई ठगी गरेको पाइएको छ । प्रहरीका अनुसार शाह र आचार्यबीच अस्पतालमा भएको दोस्ती प्रेममा बद्लियो । आचार्यले उनलाई आसध्यै माया गर्थे । ख्याल पनि उत्तिकै गर्थे । परिवारसँग उनी अतिनिकट थिए । इन्जिनियर भनेर परिचित उनीप्रति शाह परिवार उत्तिकै प्रभावित थियो । दुईले विवाह गर्ने मनस्थिति बनाए । शाहले आचार्यसँग विवाहको प्रस्ताव राखिन् । उनले स्विकार गरे । विवाहको प्रसंग परिवारसम्म पुग्यो । परिवार पनि सहमत भएपछि इंगेजमेन्टको मिति तय भयो । इंगेजमेन्टका लागि स्थान तोकियो काठमाडौंको एक पाँचतारे होटेल । गरगहना खरिद भए । ज्वाइँलाई उपहार दिन डेढ करोड मूल्यबराबरको ल्यान्डरोभर कार बुक भयो ।

यही क्रममा शाहलाई एक अपरिचित युवतीले फोन गरिन् । फोनमा आचार्यको बारेमा ‘केही भन्नु छ’ भनिन् । दुईबीच भेट्ने सहमति भयो । शाहले युवतीबीच भएको कुराकानीको प्रसंग आचार्यलाई पनि भनिन् । उनले अपरिचित ती युवतीलाई भेट्ने योजनामा आफू रहेको सुनाइन् । जब युवतीलाई भेट्न दुवैसँगै जाने योजना बन्यो, त्यसपछि आचार्य एकाएक बेपत्ता भए । कतै पत्ता नलागेपछि उनले ती युवतीलाई भेटिन् । त्यसपछि पो थाहा पाइन, आचार्यले यसअघि ती युवतीलाई त्यसैगरी फसाइसकेका रहेछन् ।

-नयाँपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

प्रतिकृयाहरू
...