Wednesday 12th November 2025

दार्चुलामा सेफ्टीट्यांकी भत्किंदा विद्यालयमा खेल्दै गरेका ४ विद्यार्थीको मृत्यु


तितोपाटी – दार्चुलाको नौगाढ गाउँपालिका–४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भासिँदा चार बालबालिकाको ज्यान गएको छ। ढक्कनमाथि खेल्दै गरेका १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको हो।

‘सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाइएको थियो’, स्थानीय प्रतापसिंह ठगुन्नाले भने, ‘सोही मैदानमा बालबालिका खेल्दै थिए। ढक्कन भासिँदा उनीहरू सेफ्टी ट्यांकीमा परे।’

बालबालिकाको शव निकाल्न तीन घन्टा लागेको प्रहरी चौकी सिप्टीका इन्चार्ज देवदत्त भट्टले बताए। ‘माटोसहित बालबालिका ट्यांकीमा परेका रहेछन्। वर्षा भइरहेकाले बेलुका मात्रै शव निकाल्न सक्यौं,’ भट्टले भने।

शौचालय पाँच वर्षपहिले सांसद विकास कोषको ४० लाख रुपैयाँमा निर्माण गरिएको थियो। ‘बालबालिका पहिलादेखि नै सेफ्टी ट्यांकीमाथि खेल्थे। आज बिहान स्कुलमा पढेका बालबालिका साँझ खेल्दै गर्दा अचानक भत्किएको हो’, नौगाड गाउँपालिकाका कृष्ण ठगुन्नाले भने।

शोकमा डुब्यो सिप्टी

दिउँसो घटना भएलगत्तै विद्यालय परिसरमा जम्मा भएका स्थानीयले कति बालबालिका ट्यांकीमा परे भन्ने छुट्याउन सकेनन्। स्थानीय आफ्ना बालबालिका घरमा छन् कि छैनन् खोज्न लागे।

विद्यालयको निर्माणाधीन भवनको उपभोक्ता समिति अध्यक्ष रहेका कृष्णसिंह धामीकी कक्षा २ मा पढ्ने १० वर्षीया छोरी अनुस्का र उनका ४ जना साथी खेलिरहेको स्थानीयले बताएका थिए। चार बालबालिकाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ।

‘बालबालिका खेल्दाखेल्दै विद्यालय परिसरमै मृत्यु भयो। सपनाजस्तै भएको छ,’ स्थानीय जयमती धामीले भनिन्।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...