Monday 20th May 2024

दाहाल र देउवालाई भेटेर पत्रकार महासंघले दियो ज्यादती नरोके आन्दोलन गर्ने चेतावनी


तितोपाटी- नेपाल पत्रकार महासंघले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर प्रेस स्वतन्त्रतामाथि हुने गरेका हस्तक्षेप रोक्न माग गरेको छ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा आइतबार विहान दाहाल र देउवा निवास पुगेर पत्रकार महासंघले १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। पत्रकारहरुमाथि ज्यादती बढेको भन्दै नरोके आन्दोलन गर्ने चेतावनी पत्रकार महासंघले दिएको छ।

महासंघले कानुनबाट प्रेस स्वतन्त्रता विरोधी प्रावधानहरु सच्याउन पनि माग गरेको छ।

‘विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्नुपर्छ,’ महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ।

साथै महासंघले राष्ट्रिय मिडिया प्राधिकरण गठन गर्न माग गरेको छ।

महासंघका महासचिव रमेश विष्टले १६ बुँदे ध्यानाकर्षण पढेर सुनाएपछि अध्यक्ष दाहालले सरकार र पार्टीमा पनि पत्रकार महासंघले राखेका मागबारे छलफल गर्ने प्रतिवद्धता जनाएका छन्। पत्रकारले उठाएका माग र हकहितका लागि सहयोग गर्ने दाहालको भनाइ छ।

सभापति देउवाले प्रेस स्वतन्त्रताका पक्षमा कांग्रेसले लड्दै आएको र अब पनि लड्ने बताए। ‘लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस लड्दै आएको छ, लड्छ,’ देउवाले पत्रकारहरुसँग भने। पत्रकार महासंघका पदाधिकारी र पार्टी निकट पत्रकारका संगठनका नेता ध्यानाकर्षण पत्र बुझाउन नेता निवास पुगेका हुन्।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...