Sunday 2nd August 2026

बीआरआई शिखर सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी चीन प्रस्थान


राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार उत्तरी छिमेकी देश चीन प्रस्थान गरेकी छन्। भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेकी हुन्।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापालगायतले त्रिभुवन विमानस्थल पुगेर बिदाई गरे ।

गणतन्त्र स्थापनापछि पहिलोपटक छिमेकी चीनले राष्ट्रपतिलाई बेइजिङमा स्वागत गर्ने तयारी गरेको छ। अघिल्ला राष्ट्रपति डा रामवरण यादव दुई पटक चीन भ्रमणमा गए पनि बेइजिङको आतिथ्य पाएका थिएनन्।

बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ। चीनले एसिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ ल्याएको बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको छ।

बीआरआईमा बेइजिङ पुग्ने पाहुनामध्ये सबैभन्दा लामो चीन बसाइ राष्ट्रपति भण्डारीको हुनेछ। राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्नेछिन् ।

एसियाबाट नेपालसहित पाकिस्तान, सिंगापुर, मलेसिया, थाइल्यान्ड, ब्रुनाई, कम्बोडिया, भियतनाम, म्यान्मार, युनाइटेड अरब इमिरेट्स सहभागी हुनेछन्। युरोपबाट रूस, इटाली, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, हंगेरी, सर्बिया, स्विजरल्यान्ड सहभागी हुनेछन्।

बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी सियान हुँदै बेइजिङ पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि गत भदौमा नेपाल र चीनले सम्झौताको प्रोटोकल टुंग्याएका थिए। प्रोटोकल अनुसार नेपालले चीनका ४ सामुद्रीक र ३ सुख्खा बन्दरगाह प्रयोग गरी सामान ल्याउने सक्नेछ। राष्ट्रपति भण्डारी अप्रिल २९ मा बेइजिङनजिकै सुरू हुने बागबनी प्रदर्शनीमा पनि सहभागी हुने तय भएको छ।

बेइजिङ भ्रमण सकेर राष्ट्रपति भण्डारी चीनको स्वशासित क्षेत्र तिब्बत आउनेछन्। तिब्बत भ्रमण सकेर उनी वैशाख १९ गते स्वदेश पुग्ने कार्यक्रम छ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD…

युरोपको सीमामा पछिल्ला दिनहरूमा देखिएको ठूलो दबाब केवल युक्रेन वा रुसका कारण होइन, अफ्रिकाबाट आउने आप्रवासनले पनि नयाँ चुनौती थपेको…

कुवेत सरकारले जलेब अल-शुयुख क्षेत्रमा सञ्चालन गरेको व्यापक सुरक्षा अभियानका क्रममा सुरक्षा कारणले खोजिएका तथा आवास (रेजिडेन्सी) र श्रम कानुन…

प्रतिकृयाहरू
...