Monday 5th October 2026

वीरगञ्जमा २० वर्षीया एक महिलाले चम्ल्याहा बच्चा जन्माइन


तितोपाटी – वीरगन्जमा मंगलबार एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छिन्। पर्साको छिपहरमाइ गाउँपालिका- ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी हुन्। वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो १२ बजेर ४० मिनेटमा खातुनले ४ शिशु जन्माएकी हुन्। अस्पतालकी मेट्रोन भूमिका अधिकारीका अनुसार खातुनले जन्माएका चारैजना शीशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

खातुनले जन्म दिएका तीन छोरीको तौल क्रमश १ किलो ५ सय ग्राम, १ किलो र ८ सय ग्राम तथा छोराको तौल १ किलो २ सय ५० ग्राम रहेको मेट्रोन अधिकारीले जानकारी दिइन्। उनका अनुसार चारैजना शिशुको अवस्था सामान्य रहेपनि तौल कम भएकाले सबैलाई अस्पतालको एनआइसीयु कक्षमा राखिएको छ। ‘खातुनलाई वीरगन्ज हेल्थ केयर अस्पतालमा मङगलबार बिहान सात बजे भर्ना गरिएको थियो, अधिकारीले भनिन्, ‘१२ बजेर ४० मिनेटमा चार शिशु जन्मिएका हुन्, सबैको स्वास्थ्य अवस्था सामान्य छ तर तौल कम भएकाले एनआइसीयु कक्षमा राखिएको हो।’

सामान्यता गर्भ रहेको ९ महिनामा शिशु जन्मिने गरेको भएपनि खातुनले सात महिना पनि नपुग्दै शिशु जन्मिएकाले उनीहरुको तौल कम रहेको अस्पतालको प्रसूति विभागकी चिकित्सक डा. स्वेता चौधरीले जानकारी दिइन्।

‘बच्चाको तौल कम भएकाले इन्फेक्सनको जोखिम हुने भएकाले सबैलाई एनआइसीयु कक्षमा राखिएको हो, डाक्टर चौधरीले भनिन्, ‘एनआइसीयुमा राखेपछि तौल पनि विस्तारै बढ्दै जान्छ।’

डाक्टर चौधरीका अनुसार आमा खातुनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।खातुनका श्रीमान् सलिमका अनुसार सोमबार राति अचानक सुत्केरी बेथा लागेपछि खातुनलाई गाउँ नजिककैको पोखरीया अस्पतालमा लगिएको थियो।

त्यहाँबाट उनलाई भारत रक्सौलको डंकन हस्पिटलमा लगेर भर्ना गर्दा चिकित्सकले सुत्केरी गराउन नमानेपछि खातुनलाई मंगलबार बिहानै वीरगन्जको नेसनल मेडिकल कजलेजमा लगिएको थियो।

तर नेसनल मेडिकल कलेजमा पनि चिकित्सकले भर्ना गर्न नमानेपछि मंगलबार बिहान सात बजे खातुनलाई वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको सलिमले बताए।

वीरगन्ज हेल्थ केयर हस्पिटलमा सुत्केरी गराउने क्रममा डाक्टर रमतुल्लाह साह,डाक्टर स्वेता चौधरी, मेट्रोन भूमिका अधिकारी, नर्स समिता आलेको टोली संलग्न रहेको हस्पिटलका कार्यकारी अध्यक्ष डाक्टर अबुल हयश अन्सारीले जानकारी दिए। ‘खातुनको डिलेभरी नर्मल भएको हो, उनले भने, ‘शल्यक्रिया गर्नु परेन।’

साभारः अन्नपुर्णपोष्ट


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...