Wednesday 8th January 2025

१२ वर्ष अघि युएइ पसेकी काभ्रेकी कमला ब्ल्ड क्यान्सर भइ २ महिनादेखि दुबइ अस्पतालमा, रकम अभावले उपचारमा सकस


तितोपाटी – वैदेशिक रोजगारीको शिलशिलामा १२ वर्ष अघि युएइ पसेकी माझीफेदी-७, काभ्रेकी कमला गिरी डेढ महिनादेखि दुबई अस्पतालमा थलिएकी छिन् । चिकित्सकले बताए अनुसार उनमा ल्युकीमिया ब्लड क्यान्सर भएको छ । अचेत अवस्थामा अस्पतालको आईसीयु कक्षमा भर्ना भएकी गिरीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । चिकित्सको नियमित निगरानीमै रहने गरी अहिले नर्मल बेडमा सारिएको छ । रोगसँग लडिरहेकी उनको थप उपचारमा आर्थिक समस्याले पनि सताएको छ । कमला, दुबई अस्पतालको सातौँ तलाको ७१० नम्बर कोठाको बेडमा उपचाररत अवस्थामै छिन् ।

कमला र उनका श्रीमान बिमल १२ वर्ष युएई आएका थिए । श्रीमान पनि यहीँको एक कम्पनीमा सेल्सम्यानको रुपमा कार्यरत छन् । कमला पनि सेल्स् र क्यासियरका रुपमा काम गर्थिन् । तर, छोरीको जन्मपश्चात चारवर्षयता उनी उनको हेरविचारमा मात्र लागेकी थिइन् । बिमलको कमाइले दुःख सुख जीवन चलिरहेकै थियो ।

गत माघ २६ गते कमलालाई सामान्य ज्वरो आउन थाल्यो । विमलले नजिकैको मेडिकलबाट ज्वरोको औषधि ल्याएर खुवाए । अवस्था सुधारोन्मुख भएन । दुई दिनपछि उनलाई थप उपचारका लागि दुवईको इरानी अस्पताल लगियो । बिमल रोजगारीमा भएकाले समय दिन सकेनन् । साथीको सहारामा कमलालाई अस्पताल पुर्‍याइयो ।

अवस्था झनै खस्कदै जान थालेपछि माघ २८ गते वरदुबईको अल रफा अस्पताल लगियो । चिकित्सकले कमलाको स्वास्थ्य परीक्षण गरे । तर, रातिको डिउटीमा रहेका चिकित्सकले सम्बिन्धत चिकित्सक नभएकाले सोही दिन रिपोर्ट दिएनन् । भोलिपल्ट, परीक्षण गर्दाको रिपोर्टमा कमलामा ल्यूकेमिया ब्लड क्यान्सरको लक्षण देखिएको अस्पतालले जनायो । त्यो समय आफ्नो जीवनमा आइपरेको बज्रपातबारे बिमल शव्दमा व्यक्त गर्न सक्दैनन् ।

निजी अस्पतालमा उपचार गराउँदा खर्चले धान्न नसक्ने बुझेर कमलालाई रशिद अस्पताल पुर्‍याइयो । तर, उक्त अस्पतालले क्यान्सर रोगको उपचार नहुने भन्दै दुबई अस्पतालमा लैजान सुल्झायो । त्यसपछि फागुन १ गते डेरा दुबईमा रहेको दुबई अस्पतालमा कमलालाई भर्ना गरियो । एक महिनासम्म आईसीयु कक्षमा राखेर उनको उपचार भयो । स्वास्थ्यमा सामान्य सुधार हुन थालेपछि अहिले नर्मल वेडमा राखिएको छ ।

उपचार खर्च १ करोड २० लाख बढी पुग्यो

दुईमहिना हुन लाग्यो कमला अस्पतालको शैय्यामा रोगसँग लडिरहेको । उनको हालसम्मको उपचारमा ४ लाख दिराम -एक करोड २० लाख बढी) खर्च भइसकेकोे श्रीमान बिमलले बताए । आईसीयु कक्षमा राखेर उपचार गराउँदा नै करिब ३ लाख दिरामको बील उठिसकेको थियो । बीलको सबै खर्च तिर्न बाँकी छ । बिमलको सामान्य कमाइले यहीँ अध्ययन गरिरहेकी छोरी र श्रीमतीको नियमित उपचार धान्न कठिन छ ।

श्रीमती अस्पतालमा भर्ना भएदेखि उनी रोजगारीमा गएका छैनन् । रोजगारदाता कम्पनीलाई आफ्नो समस्याबारे जानकारी गराएका छन् । कम्पनीले कहिलेदेखि काममा आउने भनेर बेलाबेला सोध्ने गर्छ । तर, बिमल यो दिन भन्न सकिरहेका छैनन् । बिमलका अनुसार कमलाको नियमित स्वास्थ्य परीक्षण र उपचारमा मात्र दैनिक ४५ सय दिराम खर्च हुन्छ ।

आईसीयुमा हुँदा जीवन बचाउन चिकित्सकले आवश्यक औषधि प्रयोग गर्थे । नर्मल वेडमा आएपछि अहिले उनीहरुले आवश्यक औषधिको नाम लेखेर दिन्छन् । औषधि बाहिरबाट खरिद गरेर ल्याउन पर्ने बिमलले बताए । उनले अहिलेसम्म साथीभाइहरुको सहयोगले औषधि जुटाइरहेका छन् । वेड चार्ज, स्वास्थ्य परीक्षण, औषधि खरिदलगायतमा रकम बढिरहेको छ । बिमल २४ सै घण्टा श्रीमतीको साथमा अस्पतालमा हुन्छन् । यहीँ अध्ययन गर्दै गरेकी ५ वषर्ीया छोरीको हेरचाहमा पनि समय दिन समस्या छ । ‘आमाको अवस्था देखेर आजभोलि छोरी अस्पताल आउन मान्दिनन् । छोरीको कुरा सुनाउँदै उनले भने, ‘म जादिन बाबा तपाईं मामुलाई खाना खुवाएर आउनु है भन्छिन् ।’ उनलाई कोठामा छोरीलाई एक्लै छोड्नु पर्दा थप पीडा हुने गरेको छ ।

सहयोगको अपील

चिकित्सकले कमलाको ६ पटक केमो गराउनुपर्ने जनाएका छन् । तीन पटक केमो भइसकेको र अब तीनपटक गर्नुपर्ने छ । केमो गराउन एकपटकमा ७ हजार दिहराम खर्च लाग्ने अस्पतालले जनाएको छ । यसका लागि मात्र २१ हजार दिहरामको आवश्यक हुन्छ । बिमललाई श्रीमतीको थप उपचारका लागि आर्थिक समस्या छ । हालसम्म उपचारमा लागेको खर्चको बील तिर्ने चिन्ता छ । तर पनि उनको आत्मविश्वासले कमलाको उपचार भइरहेको छ ।

बिमलले युएईमा रहेका सामाजिक संघसंस्था तथा नेपाली समुदायमा सहयोगको याचना गरेका छन् । भन्छन्- आफूले सकेको गरिरहेको छु । मसँग भएको सबै कुरा सकियो । अब तपाईंहरुको सहयोग पाए श्रीमतीले नयाँ जीवन पाउने छिन् । कमलाको उपचारमा सहयोग गर्न त्यहाँ कार्यरत नेपालीलाई सामुहिक आह्वान गरिएको छ । युएईमा कार्यरत गायक प्रकाश पौडेलले सामाजिक संजालमार्फत सबैलाई सहयोगका लागि आहृवान गरेका छन् । आफ्नो तर्फबाट सहयोग घोषणा गर्दै उनले आहृवान गरेपछि अहिले विभिन्न व्यक्तिले सहयोगको प्रतिवद्धता जनाएका छन् । यस्तै सम्बन्धित जिल्ला समाज, संघसंस्था तथा व्यक्तिहरुले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

खर्च मिनाहाका लागि दूतावासको आग्रह

यसैबीच नेपाली दूतावास आबुधाबीले बिमारीको खर्च मिनाहाका लागि सम्बन्धित अस्पतालाई अनुरोध गरेको छ । बिमारीको परिवारको आर्थिक अवस्थाबारे अस्पताललाई अवगत गराउँदै उपचारमा लागेको खर्च छुट गरिदिन दूतावासले आग्र्रह गरेको हो । तर, दूतावासबाट आधिकारिक प्रतिनिधि आउनुपर्ने जनाउँदै अस्पतालले पत्र नबुझेको बिमलले बताए । यसबारेमा दूतावासले थप जानकारी लिने र आवश्यक पहल गर्ने दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता सागरप्रसाद फुयाँले जनाए ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

तपाईंको पार्टनरसँगको यौन सम्बन्ध अब उस्तै छैन। जब तपाइँ त्यो दुखद वास्तविकता एक साथीलाई बताउनुहुन्छ, तपाइँ चर्चा गर्ने पहिलो अपराधी…

सिरियाली सरकारी सञ्चारमाध्यमले होम्स सहरमा पाँच दिने सुरक्षा अभियान सोमबार समाप्त भएको र सयौं पक्राउ परेको युद्ध अनुगमनकर्ताले जानकारी दिएको…

पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले जिल्ला अदालत कास्कीमा दायर भएको सूर्यदर्शन सहकारी ठगीको अभियोग माथि नै प्रश्न उठाएका…

प्रतिकृयाहरू
...