Thursday 17th September 2026

कामदारको स्वास्थ्य परीक्षण प्रदेशबाटै


तिताेपाटी — श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण प्रदेश तहबाट समेत गर्न पाउने गरी थप स्वास्थ्य संस्था सूचीकरण गर्ने भएको छ । अब कामदारले सरकारी अस्पतालबाट पनि स्वास्थ्य परीक्षण गराउन पाउनेछन् ।

मन्त्रालयले काठमाडौंमा केन्द्रित स्वास्थ्य परीक्षणलाई प्रदेश तहमा लैजान लागेको हो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३७ सहित २ सय २६ वटा संस्था मन्त्रालयले नवीकरण गरेपछि थप खुला गरिएको हो । सरकारले स्वास्थ्य परीक्षणको गुणस्तरलाई प्राथमिकता दिएको छ ।

२०६९ पछि कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ संस्था सूचीकरण हुन पाएका थिएनन् । मन्त्रालयले इच्छुक संस्थालाई १० दिनभित्र आवेदन दिन सूचना जारी गरेको छ ।
श्रममन्त्री गोकर्ण विष्टले पारदर्शी प्रतिस्पर्धा गराई सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने वातावरण बनाइने बताए । ‘निजी क्षेत्र मात्रै होइन, अब सरकारी अस्पतालले समेत कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनेछन् । जिल्ला तहका अस्पतालले गर्न नसकेपछि प्रदेश तहबाट परीक्षण हुनुपर्छ भन्ने हाम्रो नीति हो,’ उनले भने, ‘तर, गुणस्तर परीक्षणमा कसैसँग सम्झौता गरिनेछैन ।’
आवेदनपछि मन्त्रालयले इच्छुक संस्थाहरूको अनुगमन गर्नेछ । मन्त्रालयले झन्डै एक वर्षअघि स्वास्थ्य संस्थाको अवस्था अध्ययन गर्न विशेषज्ञ सम्मिलित टोली गठन गरेको थियो । टोलीले सरकारलाई स्वास्थ्य संस्थाका पूर्वाधार कमजोर रहेको भन्दै प्रतिवेदन बुझाएको थियो । जथाभावी परीक्षण हुँदा नेपालमा पास भएका कामदार विदेशमा फेल भएर फर्किनुपरेको थियो । त्यसरी फर्किएका कामदारले सबै लागत खर्च पाउने गरेका छैनन् ।
यसअघि सूचीकृत २ सय २६ वटै संस्थाले वैदेशिक रोजगारीका लागि खुला गरिएका सबै देशमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाएका छैनन् । साउदी अरब, ओमन, बहराइन जाने कामदारको गाम्का नेपाल आबद्ध १२ संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्दै आइरहेका छन् । मन्त्रालयले तीन देशमा सूचीकृत सबै स्वास्थ्य संस्थाबाट परीक्षण गर्न दिन कूटनीतिक पहल भइरहेको जनाएको छ ।
मलेसिया जानेको स्वास्थ्य परीक्षण पनि मापदण्ड पुग्ने स्वास्थ्य संस्थाबाटै गराउने मन्त्री विष्टले बताए । जेठ २ सम्म ३७ वटा संस्थाले मात्र गर्थे । ‘मलेसियाबाट कार्यविधिसहितको मापदण्ड आएको छ । जतिले मापदण्ड पुर्‍याउँछन्, ती सबैले परीक्षण गर्न पाउनेछन्,’ उनले भने ।
द्विपक्षीय श्रम समझदारी भएको ५ महिनापछि मलेसियाले नेपाली कामदारको स्वास्थ्य परीक्षण विधिसहितको मापदण्ड नेपाल सरकारलाई गत शुक्रबार पठाएको थियो । मलेसिया र नेपालको संयुक्त टोलीले पारदर्शी ढंगले अनुगमन गरी स्वास्थ्य संस्था छनोट गर्नेछ ।
-कान्तिपुर

सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...