Wednesday 25th March 2026

वैदेशिक रोजगारीमा जाने ५७४ जना व्यक्तिको नक्कली वीमा गराइ ठगी गर्ने जेल चलान


तितोपाटी – वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका ६ मध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक आदेशमा धरौटी माग भएका अन्य तीनमध्ये एकजना धरौटी तिरेर निस्किएका छन् भने दुई जना धरौटी तिर्न नसकेपछि कारागार चलान भएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा काम गर्ने प्रकाश रेग्मीसहितका व्यक्तिले विभिन्न ५७४ को नक्कली बीमा लेख जारी गरी ठगी गरेको आरोपमा उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो । उनीहरुमध्ये स्याङ्जाका प्रकाश रेग्मी, भक्तपुरका सुदीप खड्का र ललितपुरका सञ्जय केसी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

उदयपुरका भोला पोखरेल रु दुई लाख धरौटी तिरेर छुटेका छन् भने काभ्रे घर भई हाल काठमाडौँ चाबहिल बस्ने सिंहबहादुर लामा र स्याङ्जाका ध्रुव रेग्मी धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौँले लामालाई रु दुई लाख र ध्रुव रेग्मीलाई रु दुई लाख ५० हजार धरौटी माग गरेको थियो । लामा वल्डवेज मेनपावर इन्सुरेन्सका श्रम प्रतिनिधि हुन् भने अन्य प्राइम लाइफ इन्सुरेन्सका कर्मचारी भएको प्रहरीले जनाएको छ ।

प्रकाश रेग्मी १७ को नक्कली बीमालेख जारी गरेको मुद्दामा गएको वैशाखमा रु एक लाख धरौटी तिरेर तारेकमा छुटेका व्यक्ति हुन् । त्यो मुद्दा विचाराधीन अवस्थामा रहेकै बेला पुनः नक्कली बीमालेख बनाई ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको हो । उनीहरुलाई प्रहरीले विशेष सूचनाको आधारमा मङ्सिरमा काठमाडौँ जिल्ला टोखा नगरपालिका–९ मिलनटोलबाट पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो ।

वल्डवेज म्यानपावर इन्सुरेन्सबाट लामामार्फत बीमाको लागि आवश्यक कागजात प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा कार्यरत प्रकाश रेग्मीले बुझेकोमा हालसम्म प्राइम लाइफ इन्सुरेन्स कम्पनीको नामबाट ७०९ वटा नक्कली बीमालेख जारी गरिएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । अहिलेसम्म ४३४ वटा नक्कली बीमालेख भेटिए पनि अन्य विषयमा अनुसन्धान जारी रहेको ब्यूरोको भनाइ छ ।

अन्य म्यानपावर तथा व्यक्तिगत रुपमा समेत बीमा कम्पनीका कतिपय बीमालेख नक्कली हुनसक्ने भएकाले सम्बन्धित कम्पनीमा गई रुजु गर्न तथा नक्कली भएमा उजूरी गर्नसमेत प्रहरीले सबैमा अनुरोध गरेको छ ।

-रासस


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...