Wednesday 23rd January 2019

जलवायु परिवर्तन र गुफाडाँडाको सम्मेलन


भक्त भण्डारी, सुनकोसी ३ (कालिका), सिन्धुपाल्चोक
जलवायु परिवर्तन र यसको पृष्ठभुमीः
हाल विश्व समुदायको माझमा जलवायु परिवर्तनको मुद्दा गहन र पेचिलो मुद्दाको रुपमा अगाडि आएको छ । विश्वमा भएको औद्योगिकिकरणको प्रतिफल स्वरुप पृथ्वीको हावा र पानीको चक्रमा व्यापक रुपमा परिवर्तन आएको छ । विभिन्न खालका मानवीय क्रियाकलापहरुका कारण पृथ्वीको वायुमण्डलमा कार्वनडाइअक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्वन लगायतका ग्याँसहरुको अधिकतम उत्सर्जनका कारण वायुमण्डलको माथिल्लो भाग (ओजोन तह) बाक्लो र खँदिलो हुँदै गइरहेको छ । यसको कारणले सुर्यबाट आउने ताप र प्रकाश पृथ्वीबाट परावर्तन भइ बाहिर जान नपाउने हुँदा पृथ्वीको औसत तापक्रम बृद्धि भैरहेको छ । यसरी पृथ्वी तातिने प्रकृयालाई विश्व उष्णीकरण (Global Warming) भनिन्छ । दिन र रातहरु पहिले भन्दा क्रमशः ताता हुँदै गइरहेका छन् भने चिसो दिनहरुको संख्या घट्दै गइरहेको छ । उष्णीकरण कै कारणले पृथ्वीको वायुमण्डलीय प्रणाली, वर्षा चक्रहरुमा परिवर्तन आइरहेको छ । अनावश्यक र अधिक रुपमा तापक्रम बढ्नाले धेरै ठाउँमा खडेरीको प्रकोप देखिएका छन् । पानीका स्थायी श्रोतहरु मुल, खोला, नदी, हिमनदी, हिमाल आदी मा पानीको परिमाण कम हुँदै गइरहेको छ । यसका साथसाथै कृषि तथा पशुपालनमा समस्या देखिनु, वन तथा जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीमा असन्तुलन पैदा हुनु, जलश्रोतमा कमी आउनु, भौतिक संरचनाहरुको क्षती हुनु, मानव जनजिवनमा जिविकोपार्जनका श्रोतहरुमा खलल आउनु तथा मानव स्वास्थ्यमा नयाँ नयाँ रोगहरुको आगमन हुनु जलवायु परिवर्तनले देखिएका प्रमुख असरहरु हुन् । यी असरहरुसँग जुध्न तथा यिनका प्रभाव कम गर्नका लागि मानव समुदायले अहिले नै आजै देखि प्रयास शुरु नगरे कुनै दिन पृथ्वीमा जीव अस्तित्व विहिन हुन सक्ने कुरालाई नकार्न सकिन्न ।
कुनै निश्चित क्षेत्रको जलवायुलाई त्यस स्थानको उचाई, आक्षाम्स, सामुन्द्रिक दुरी आदिले प्रभाव पार्दछ । यहि जलवायुमा विभिन्न किसिमका पारिस्थिकीय प्रणालीको सिर्जना हुन्छ जसवाट सवै प्राणीहरुले जीवन उपयोगी वस्तु तथा सेवाहरु प्राप्त गर्दछन् । यो जलवायु प्रणालीहरुमा प्राकृतिक तथा मानवीय कारणहरुले गर्दा चपेटामा परेको छ । प्राकृतिक कारणवाट हुने जलवायु प्रणालीमा परिवर्तन विस्तारै आफै नै समायोजन हुदै जान्छ तर मानवीय कारणवाट हुने परिवर्तन (असर तथा प्रभाव) अवस्यम्भावी हुन्छ । यिनै मानवीय कारणले गर्दा केहि वर्ष देखि पृथ्वी लगातार ताती रहेको छ । पछिल्ला केहि बर्षमा मानविय कारणले गर्दा यि ग्याँसहरुको चाहिने भन्दा बढी उत्पादन तथा उत्सर्जन हुनाले वायुमण्डलमा यि ग्याँसको तह बाक्लो कम्बल ओढेजस्तो गरी बढेको छ । फलतः पृथ्वी तातेको छ । यसैका कारण जलवायु परिवर्तन ९ऋष्mिबतभ ऋजबलनभ० को विश्वव्यापी समस्या उत्पन्न भएको छ । पृथ्विको वायुमण्डलमा यस अघि नै प्रशस्त हरितगृह ग्याँस जम्मा भैसकेको छ जस्ले गर्दा पृथ्विको तापक्रम आगामी २–३ दशक सम्म बढिनै रहने देखिन्छ ।
सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको पृथ्वी सम्मेलनबाट जलवायु परिवर्तनको मुद्दालाई अन्तराष्ट्रिय मुद्दाको रुपमा स्वीकार गरी यसको अनुकुलन तथा न्युनिकरणमा काम गर्ने अन्तराष्ट्रिय प्रतिवद्धता समेत आइसकेको छ ।
जलवायु परिवर्तनको कारण र यसका असरः
जलवायु परिवर्तनको मुख्य कारणको रुपमा विश्व तापमान बृद्धिलाई लिन सकिन्छ । वायुमण्डलमा भएको हरित गृह ग्याँसको बृद्धि, वनजंगलको बढ्दो विनाश, बढ्दो शहरीकरण, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, भुउपयोगमा भएको परिवर्तन र औद्योगिकीकरण जलवायु परिवर्तनका मुख्य कारक हुन् ।
जलवायु परिवर्तनका प्रभाव विशेष गरेर गरिब, विकासोन्मुख, भूपरिवेष्टित तथा पर्वतीय मुलुकहरुमा बढी हुन्छ र उनीहरुले यस्ता प्रभाव तथा असरहरुलाई तुरुन्तै अनुकुलन गर्न पनि सक्दैनन् । पानीको स्रोतहरु सुक्दै जानु, बाढि पहिरोको प्रकोप बढ्नु, हिउँको कभर घट्नु तथा हिमनदि र हिमताल विष्फोट हुनु, जैविक विविधतामा प्रभाव, नयां नयां रोग तथा महामारीको बढ्दो प्रकोप, कृषीबालीमा कीराको बढदो प्रकोप, बालीका प्रजाति लोप, बाली वृद्धी विकासमा अवरोध, प्रविधिको असफलता, माटोको मरुभुमिकरण र नयाँ रोग किराको विकास आदि जलवायु परिवर्तनका नकारात्मक असरहरु हुन् ।
उच्च तापक्रम र हिउं पग्लने क्रममा बृद्धि भै भविष्यमा नदीमा पानीको मात्रा घट्ने छ जसले सिंचाई, खानेपानी र जलबिद्युतलाई प्रभाबित पार्ने छन् । न्यानोपनाले लेउ अत्यधिक बृद्धि भै पानीको गुणस्तर कम हुने छ । नदीमा कहिले बढी त कहिले कम जल प्रवाह हुने छ । तिब्र बर्षाको कारणले पहिरोको खतरा पनि धेरै बढि रहेको छ । तिब्र बर्षाको कारणले आउने भिषण बाढीले भु–क्षय, पहिरो, मधेसमा लामो समय डुवान समस्या उग्ररुपमा बढ्दैछन् । अपार जैविक बिबिधताका कारण बिश्वले नेपाललाई प्राकृतिक प्रदर्शन कक्ष तथा प्राकृतिक जैविक प्रयोगशालाको रुपमा चिन्ने गर्दछ । जलवायुले प्रजातिको बितरण र वनस्पतीको बिबिधता निर्धारण गर्दछ । जलवायुमा हुने कुनै परिवर्तनले यस किसिमको प्रजातिको बितरणमा हेरफेर ल्याउन सक्नेछ र यो प्रकृयालाई मानिसको उपस्थिति र अन्य अवरोधले प्रभाव पार्नेछन् । नतिजास्वरुप कुनै प्रजाति र पारिस्थितिकीय प्रणाली लोप हुन सक्नेछ । वासस्थानमा हुने परिवर्तनको मुख्य कारकतत्व अस्थिर तापक्रम र बर्षामा आउने हेरफेर हुन । भौतिक रुपमा प्रजातिको आवतजावतमा अवरोध हुने हुंदा पहाडी क्षेत्रका जैविक बिबिधताको निम्ति जलवायुमा आउने परिवर्तन प्रमुख चुनौतीको रुपमा रहेको छ । वन विनासको क्रम बिकराल छ । बाँच्नको निम्ति ठुलो क्षेत्रको आवश्यकता पर्ने, बाघ, गैंडा, हात्ती जस्ता प्रजातिहरु, बासस्थान बिनास तथा परिवर्तनबाट संकटमा परिरहेका छन् ।
जलवायु परिवर्तन नियमित प्राकृतिक प्रक्रिया पनि हो यद्यपि मानव जन्य क्रियाकलापहरु वन विनाश, औद्योगिकीकरण, सवारी साधनको बढ्दो प्रयोग र अव्यवस्थित शहरीकरणले हरितगृह ग्यास उत्र्सजमा वृद्धि भइ जलवायु परिवर्तनमा तिव्रता आएको छ । जलवायु परिवर्तनले गर्दा तापक्रममा वृद्धि हुने, वर्षामा परिवर्तन हुने र समग्र पृथ्वीको प्राकृतिक सन्तुलनमा फरक पर्न थालेको महशुस हुन थालेको छ । हिमालका हिँउ पग्लने, हिमतालहरू फुट्ने, अनियमित तथा अधिक वर्षा हुने, समुन्द्री सतह बढ्ने, बाढी, पहिरोको जोखिम तथा आवृत्ति बढ्ने, खडेरी लम्बिने तथा कृषि उत्पादनमा ह्रास आउने जस्ता समस्याहरू विकाराल रुपमा देखिदैँ आएका छन् । जिविकोपार्जनका लागि प्राकृतिक स्रोतहरु र बर्खे पानीमा अधिक निर्भर रहने हाम्रो देशमा यसको असर र पार्न सक्ने प्रभावहरु आउने दिनमा अझै बढोत्तर हुने देखिन्छ ।
जलवायु परिवर्तनको प्रकोपको असर तथा विपदवाट विपन्न, महिला तथा बालबालिका, वृद्धवृद्धा तथा फरक क्षमता भएका समुदायहरु बढी प्रभावित हुने विभिन्न अध्ययनहरुले देखाएको छ । जलवायु परिवर्तनको कारण बाढी, पहिरो, खडेरी, हावाहुरी, मानव रोगको महामारी, असिना, चट्याङ्, कृषिमा रोगकिरा र मिचाह प्रजाती जस्ता प्रकोपहरुले स्थानीय स्तरमा प्रत्यक्ष रुपमा असर परेको महसुस गरेको पाईएको छ । यसै सन्र्दभमा स्थानीय अनुकूलन कार्ययोजनाको राष्ट्रिय संरचना र जलवायुजन्य प्रकोप तथा विपद्हरुबाट परेको वा पर्नसक्ने प्रतिकुल प्रभावबाट स्थानीय स्तरमा अनुकूलन क्षमता वृद्धि गर्न सरकारले स्थानीय अुनकूलन कार्ययोजना तयार गरी कार्यान्वयन गर्नका लागि विशेष जोड दिएको छ । र हरेक स्थानीय तहले जलवायु परिवर्तन अनुकुलनका योजना बनाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता समेत देखिएको छ ।
नेपालमा जलवायु परिवर्तनको सन्दर्भः
नेपाल जलवायु परिवर्तनका कारणले अधिक प्रभावित देशहरुको सुचिमा चौथो नम्बरमा पर्दछ । बंगलादेश, माल्दिभ्स नेपालभन्दा अझ अग्रस्थानमा छन् । जैविक विविधताले भरिपुर्ण यो देशमा नखाएको बिष लागेको जस्तो आभाष भैरहेको छ । जलवायु परिवर्तनका कारण नेपालमा १९ लाख भन्दा बढि मानिसहरु जोखिममा रहेको आँकडा छ । नेपालमा औसत तापक्रम बृद्धिदर ०.०६ डिग्री सेल्सियस प्रतिवर्ष रहेको छ । तापक्रम तराईमा भन्दा हिमालमा बढि दरमा बृद्धि भैरहेको छ । तराईमा प्रतिवर्ष ०.०४ र हिमालमा प्रतिवर्ष ०.०८ डिग्रीका दरले तापक्रम बढिरहेको छ । यसबाट नेपालको तराईक्षेत्र भन्दा बढि हिमाली क्षेत्र प्रभावित भैरहेको देखिन्छ । यहि क्रममा तापक्रमको बृद्धि भैरहने हो भने अबको केहि बर्ष पछाडी हाम्रा हिमालहरु सुन्दर र मनोरम होइन केबल काला पहाडका रुपमा रुपान्तरित हुन सक्छन् । भारत र चिन जस्ता ठुला र तिब्र गतिमा औद्योगिकीकरण भैरहेको देशहरुको बीचमा रहेको नेपाल यी दुइदेशका कारण मात्रै होइन युरोप र अमेरिकाको औद्योगिक क्रान्तिको कारण पनि जलवायु परिवर्तनको प्रभाव खेप्न बाध्य भैरहेको छ । विगत २०० वर्ष भित्रको अवधिमा भएको औद्योगिकीकरणले पृथ्वीको वायुमण्डलमा जम्मा भएको हरितगृह ग्याँसहरुका कारण अहिले यहाँको वायुमण्डलीय प्रणालीमा परिवर्तन देखिएको छ । जलवायु परिवर्तन भैरहेको छ । यदी यहि गतिमा भैरहेको विश्व उष्णीकरण नरोकिने हो भने र यहि गतिमा भैरहेको जलवायु परिवर्तन नरोकिने हो भने पृथ्वीमा झन् झन् विकराल समस्या देखिन सक्छ । त्यसकारण पनि जलवायु परिवर्तनलाई रोक्न, तापक्रमको बृद्धि दरलाई रोक्न सबैले भुमिका खेल्नुपर्ने आवश्यकता छ ।
सिन्धुपाल्चोकमा जलवायु परिवर्तनको असरः
नेपालभित्रको एउटा सुन्दर जिल्ला सिन्धुपाल्चोक, प्राकृतिक सौन्दर्यले भरिपुर्ण जिल्ला हो । यहाँ हिमाल, ताल, पोखरीहरु, झरना, नदीनाला लगायतका प्राकृतिक श्रोतहरु छन् तर यी श्रोतहरु दिनानुदिन सुक्ने र पुरिने क्रममा छन् । राष्ट्रकै ध्यान आकर्षण भएको जुरेको पहिरो, भोटेकोशीको बाढि तथा कटान, विभिन्न स्थानमा बढ्दै गएको सुख्खापन सिन्धुपाल्चोकमा भएको जलवायु परिवर्तनको मुख्य असरहरुको रुपमा लिन सकिन्छ । वि.सं. २००२ सालमा सिन्धुपाल्चोकको सबैभन्दा होचो ठाउँ भीमटारमा समेत हिमपात भएको हाम्रा अग्रजहरु बताउँछन् तर अचेल अलि होचा लेकहरु त के अग्ला हिमालहरु पनि हिउँ विनाका पहाडमा परिणत भैरहेका छन् । चौताराको पात्लेपानी, ओख्रेनी, सुनखानीको ढाक्रेपानी लगायतका ठाउँहरुमा विगत १०–२० वर्ष अघिसम्म मनग्य हिउँ पर्ने स्थानहरु हुन् तर अचेल यहाँ हिउँ पर्न छोडिसकेको छ ।
गुफाडाँडाको सम्मेलनः
प्राकृतिक रुपमा सुन्दर जिल्ला सिन्धुपाल्चोकमा जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय सम्मेलन हुँदैछ । देशभरिका ७७ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरु सहभागि हुँदैछन् । सिन्धुपाल्चोकमा जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय सम्मेलन गरि मुलुकको ध्यानाकर्षण गराउनु आफैंमा एउटा सह्राहनीय काम हो, जबकि यो जिल्ला जलवायु परिवर्तनका विकराल असरहरु भोग्न बाध्य छ । २०६६ सालमा विश्व समुदायको ध्यानाकर्षण गराउन नेपालले सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद् बैठक गरेको थियो । त्यसको लगत्तै माल्दिभ्सले पनि समुद्रको पानी मुनि बैठक गरेको थियो । यसकारण सिन्धुपाल्चोकको गुफाडाँडामा राष्ट्रिय सम्मेलन गरेर राष्ट्रको ध्यान सिन्धुपाल्चोकमा आकर्षण गराउनु पनि एउटा गौरवको विषय हो । गुफाडाँडाको सम्मेलनले सम्मेलनस्थल मात्रै होइन सिंगो जिल्लाको पर्यटकीय सम्भावनालाई उजागर गर्न सक्नुपर्छ । सिन्धुपाल्चोकले खेपेको जलवायु परिवर्तनका असरहरु र जिल्लामा यी असर कम गर्न जिल्लाले अपनाएका अनुकुलनका प्रयासहरु र आगामी योजनाहरु पनि सम्मेलनका सहभागिले बुझ्न पाउनुपर्छ ।
तर ७७ जिल्लाका प्रमुख र उपप्रमुखहरुले गुफाडाँडाबाट लैजाने सन्देश के हो भन्ने कुरा स्पष्ट हुन जरुरी छ । यो सम्मेलनबाट गुफाडाँडाले र सिंगो सिन्धुपाल्चोकले के पाउने आशा बोकेको छ ? यदी यो सम्मेलनमा ७७ जिल्लाका प्रमुख र उपप्रमुखको साथसाथै विदेशी राष्ट्रका प्रतिनिधिहरु (जसका कारण जलवायु परिवर्तन भैरहेको छ) पनि उपस्थिती हुन सके उनीहरुले पनि केहि सन्देश लैजान्छन् । संयुक्त राष्ट्र संघ (अन्तराष्ट्रिय सरकार भनिन्छ) वा उसका प्रतिनिधिहरु समेतको सहभागिता हुँदा सम्मेलन अझ नतिजामुखी हुन सक्छ । नेपालले लिन सक्ने कार्बन व्यापारको अवसरलाई सिन्धुपाल्चोकले पनि सदुपयोग गर्न सक्छ । यसका लागि पनि सम्मेलनले सकारात्मक सन्देश दिनुपर्दछ ।


Loading...
सम्बन्धित शीर्षकहरु

Titopati - Snowfall coupled with breezing wind since Tuesday has troubled normal life in several mountainous districts in the country. General…

तितोपाटी - यतिखेर मुलुकका हिमाली भेगका विभिन्न ठाउँमा बाक्लो हिमपात भइरहेको छ । हिँजो पश्चिमी हिमाली क्षेत्रमा हिमपातको कारण त्यहाँको…

तितोपाटी - पुर्वी चितवनको राप्ती नगरपालिकामा करीब ५० लाखको लागतमा निमार्ण भएको सार्वजनिक शौचालय प्रयोगमै नआई खण्डहरमा परीणत भएको छ ।  आधुनिक…

प्रतिकृयाहरू