Thursday 14th May 2026

सिन्धुपाल्चोकको सुनकोशी – ३ पुनर्निर्माण सम्पन्न गर्ने मुलुककै पहिलो वडा बन्यो


तितोपाटी – सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–३ पुनःनिर्माण सक्ने पहिलो वडा बनेको छ । एक गैरसरकारी संस्थाको सहयोगमा वडाबासी सबैले भूकम्प प्रतिरोधी घर निर्माण गरेसँगै सो वडा पुनःनिर्माण सक्ने पहिलो बनेको हो । सुनकोसी गाउँपालिका–३ कालिकाका ६ सय ५३ परिवारले नै निजी आवास पुनर्निर्माण सकेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सुनकोसी–३ साविकको कालिका गाविसलाई सतप्रतिशत निजी आवास पुनर्निर्माण सक्ने देशकै पहिलो वडा घोषणा गरिएको हो ।

कारितास नेपालको भूकम्प पुनःनिर्माण परियोजनाअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँगको समन्वयमा यहाँका ६५३ घर निर्माण गरिएको हो । जसका लागि ५५ करोड २० लाख लगानी भएको छ । कारितास नेपालले सिन्धुपाल्चोकका विभिन्न वडामा ४ हजार ८ सय २५ घर निर्माणको जिम्मा लिएकामा ४ हजार ९ घर निर्माण सकेको छ । जसमध्ये सम्पूर्ण पुनर्निर्माण सकिएको सुनकोसी–३ पहिलो वडा हो ।

गैर–सरकारी संस्थाको सहयोग सही परिचालन, स्थानीय तहको समन्वय र टहरोको दैनिकीबाट वाक्कदिक्क भएका स्थानीयको सक्रियताका कारण यहाँ पुनर्निर्माणले गति लिएको हो । धेरै गैर–सरकारी संस्थाले पुनर्निर्माणमा आफ्नो स्वार्थ घुसाउँदा ‘बद्नाम’ भइरहेका बेला यहाँ भने समन्वयात्मक सहकार्यले सकारात्मक नतिजा दिएको छ ।

गैर–सरकारी संस्थाले घर बनाउने पैसासहित तालिम दिएपछि पुननिर्माणका सक्रिय भएका स्थानीयले करिब पाँच लाख खर्चिएर आवास निर्माण गरेका हुन् । प्राविधिकका अनुसार हेर्दा पनि चिटिक्क देखिने यस्ता भूकम्प प्रतिरोधी घर न्यूनतम् २२ दिनमै तयार हुन्छ । लामो समयसम्म टहरामा जीवन गुजारेको स्थानीय अहिले खुसी छन् ।

भूकम्पबाट धेरै क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा पुनर्निर्माण तीव्र छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार सिन्धुपाल्चोकका ८८ हजार लाभग्राही परिवारमध्ये ५५ हजार बढीले घर बनाइसकेका छन् ।

-न्यूज२४


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...