Wednesday 2nd September 2026

प्रकाण्ड परिवारलाई प्रहरीद्वारा कोसेली


तीतोपाटी- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ एक महिनादेखि प्रहरी हिरासतमा छन् । प्रकाण्ड दाङ प्रहरीको हिरासतमा भए पनि कालिकोट प्रहरी भने कोसेली बोकेर उनको घरमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माको टोली प्रकाण्ड र उनको परिवारको बारेमा बुझ्न नरहरिनाथ नगरपालिका–६ माल्कोटस्थित घरमा पुगेको हो । सदरमुकाम मान्माबाट एक दिन हिँडेर माल्कोट पुगेको प्रहरी टोली घरमा वृद्ध बुबा र बहिनी मात्रै देखेपछि कोसेली दिएर फर्किएको छ । कसैको पनि घरमा भेट्न जाँदा केही लगेर जाने यस क्षेत्रको प्रचलनअनुसार कोसेली बोकेर गएको डिएसपी शर्माले बताए । कोसेलीमा नरिवल, बिस्कुट, चकलेट थियो ।

बुबा र बहिनी मात्रै घरमा

डिएसपी शर्मा नेतृत्वको प्रहरी टोली माल्कोट पुग्दा प्रकाण्डका वृद्ध बुबा पहल र बहिनी जैपुरा घरमा थिए । उनको घरको अवस्था देख्दा र परिवारबारे सुन्दा प्रहरी टोली भावुक बन्यो । पाँच भाइबहिनीमा जेठा प्रकाण्ड हुन् । उनका दुई भाइ कोपिला र अमरको माओवादी

जनयुद्धमै मृत्यु भएको थियो ।

बहिनी गोकिकलाको माओवादीसँग शान्तिसम्झौता भइसकेपछि भीरबाट लडेर मृत्यु भएको थियो । उनी पनि माओवादी जनयुद्धमै संलग्न थिइन् । आमाको मृत्यु भइसकेको छ भने बुबा र बहिनी जैपुरा मात्रै घरमा छन् । जैपुराले नै बुबा र घरको रेखदेख गर्दै आएका छिन् । २३ साउनमा पक्राउ परेका प्रकाण्डलाई रिहा गर्न सर्वोच्च अदालतले पटकपटक आदेश दिए पनि प्रहरीले छोडेको छैन । काठमाडौंमा पक्राउ परेका उनलाई विभिन्न जिल्लामा पेस गर्दै दाङ पु-याइएको छ ।

प्रहरी टोली नरहरिनाथ गाउँपालिका–४ कुमालगाउँस्थित एटम बिसीको घरमा पनि पुगेको छ । नेकपाका कर्णाली ब्युरो इन्चार्ज बिसी पनि प्रहरी हिरासतमै छन् । बिसीकी आमा बाटुली बुढालाई डिएसपी शर्माले कोसेली दिएका थिए । प्रहरी टोलीले दिएको कोसेलीमा नरिवल, बिस्कुट, चकलेट थियो ।

‘हामीले क्या पायौँ ?’
प्रहरी टोली घरमा पुग्दा प्रकाण्डकी बहिनी जैपुरा त्रसित बनिन् । तर, प्रहरीले कोसेली दिँदै भलाकुसारी गरेपछि भने उनले खुलेर कुराकानी गरिन् । उनले प्रहरी टोलीलाई भात खाएर जान आग्रहसमेत गरिन् ।

प्रहरीले प्रकाण्डका विषयमा सोध्दा उनले धेरै जानकारी नभएको बताइन् । देश र जनताका लागि लडिरहेको जैपुराको भनाइ थियो । ‘युद्धमै परिवार सकियो । घरको यो हालत छ । हामीले क्या पायौँ ?’ जैपुराले भनिन् । प्रकाण्डले आफ्नो परिवारका लागि भन्दा पनि अरूका लागि लडिरहेको जैपुराले प्रहरीसँगको कुराकानीमा भनेकी थिइन् ।

त्यसपछि कुमालगाउँस्थित बिसीको घरमा पुगेको प्रहरी टोलीसँग उनकी आमा बाटुलीले पनि त्यस्तै प्रश्न गरिन्, ‘हामीले क्या पायौँ ?’ घाँस काट्न निस्किँदै गरेकी उनी प्रहरीबाट कोसेली पाउँदा खुसी देखिन्थिन् । प्रहरीले बिसीबारे बुझ्न खोज्दा उनले उल्टै छोराबारे सोधपुछ गरेकी थिइन् ।

साभार नयाँ पत्रीका


सम्बन्धित शीर्षकहरु

सिरियाको दक्षिणी प्रान्त स्वेइदा (Sweida/Suwayda) मा पुनः हिंसा भड्किएपछि राष्ट्रपति अहमद अल–शराआ नेतृत्वको नयाँ सरकारका लागि देशलाई एकीकृत गर्ने प्रयास…

अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव फेरि बढेको छ। अमेरिकाले यी आक्रमणहरू होर्मुज जलडमरूमध्यमा जहाज…

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

प्रतिकृयाहरू
...