Monday 17th June 2024

प्रकाण्ड परिवारलाई प्रहरीद्वारा कोसेली


तीतोपाटी- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ एक महिनादेखि प्रहरी हिरासतमा छन् । प्रकाण्ड दाङ प्रहरीको हिरासतमा भए पनि कालिकोट प्रहरी भने कोसेली बोकेर उनको घरमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माको टोली प्रकाण्ड र उनको परिवारको बारेमा बुझ्न नरहरिनाथ नगरपालिका–६ माल्कोटस्थित घरमा पुगेको हो । सदरमुकाम मान्माबाट एक दिन हिँडेर माल्कोट पुगेको प्रहरी टोली घरमा वृद्ध बुबा र बहिनी मात्रै देखेपछि कोसेली दिएर फर्किएको छ । कसैको पनि घरमा भेट्न जाँदा केही लगेर जाने यस क्षेत्रको प्रचलनअनुसार कोसेली बोकेर गएको डिएसपी शर्माले बताए । कोसेलीमा नरिवल, बिस्कुट, चकलेट थियो ।

बुबा र बहिनी मात्रै घरमा

डिएसपी शर्मा नेतृत्वको प्रहरी टोली माल्कोट पुग्दा प्रकाण्डका वृद्ध बुबा पहल र बहिनी जैपुरा घरमा थिए । उनको घरको अवस्था देख्दा र परिवारबारे सुन्दा प्रहरी टोली भावुक बन्यो । पाँच भाइबहिनीमा जेठा प्रकाण्ड हुन् । उनका दुई भाइ कोपिला र अमरको माओवादी

जनयुद्धमै मृत्यु भएको थियो ।

बहिनी गोकिकलाको माओवादीसँग शान्तिसम्झौता भइसकेपछि भीरबाट लडेर मृत्यु भएको थियो । उनी पनि माओवादी जनयुद्धमै संलग्न थिइन् । आमाको मृत्यु भइसकेको छ भने बुबा र बहिनी जैपुरा मात्रै घरमा छन् । जैपुराले नै बुबा र घरको रेखदेख गर्दै आएका छिन् । २३ साउनमा पक्राउ परेका प्रकाण्डलाई रिहा गर्न सर्वोच्च अदालतले पटकपटक आदेश दिए पनि प्रहरीले छोडेको छैन । काठमाडौंमा पक्राउ परेका उनलाई विभिन्न जिल्लामा पेस गर्दै दाङ पु-याइएको छ ।

प्रहरी टोली नरहरिनाथ गाउँपालिका–४ कुमालगाउँस्थित एटम बिसीको घरमा पनि पुगेको छ । नेकपाका कर्णाली ब्युरो इन्चार्ज बिसी पनि प्रहरी हिरासतमै छन् । बिसीकी आमा बाटुली बुढालाई डिएसपी शर्माले कोसेली दिएका थिए । प्रहरी टोलीले दिएको कोसेलीमा नरिवल, बिस्कुट, चकलेट थियो ।

‘हामीले क्या पायौँ ?’
प्रहरी टोली घरमा पुग्दा प्रकाण्डकी बहिनी जैपुरा त्रसित बनिन् । तर, प्रहरीले कोसेली दिँदै भलाकुसारी गरेपछि भने उनले खुलेर कुराकानी गरिन् । उनले प्रहरी टोलीलाई भात खाएर जान आग्रहसमेत गरिन् ।

प्रहरीले प्रकाण्डका विषयमा सोध्दा उनले धेरै जानकारी नभएको बताइन् । देश र जनताका लागि लडिरहेको जैपुराको भनाइ थियो । ‘युद्धमै परिवार सकियो । घरको यो हालत छ । हामीले क्या पायौँ ?’ जैपुराले भनिन् । प्रकाण्डले आफ्नो परिवारका लागि भन्दा पनि अरूका लागि लडिरहेको जैपुराले प्रहरीसँगको कुराकानीमा भनेकी थिइन् ।

त्यसपछि कुमालगाउँस्थित बिसीको घरमा पुगेको प्रहरी टोलीसँग उनकी आमा बाटुलीले पनि त्यस्तै प्रश्न गरिन्, ‘हामीले क्या पायौँ ?’ घाँस काट्न निस्किँदै गरेकी उनी प्रहरीबाट कोसेली पाउँदा खुसी देखिन्थिन् । प्रहरीले बिसीबारे बुझ्न खोज्दा उनले उल्टै छोराबारे सोधपुछ गरेकी थिइन् ।

साभार नयाँ पत्रीका


सम्बन्धित शीर्षकहरु

समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट…

इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् । व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले…

पुष्कर अथक रेग्मी - साहित्यकार वनमाली निराकारद्वारा लिखित एवं अर्चना शर्मा बिष्ट र आरति शर्मा आचार्यद्वारा प्रकाशित कविता संग्रह 'मान्छेका…

प्रतिकृयाहरू
...