Saturday 10th October 2026

अाज श्रीकृष्ण जन्माष्टमी


तितोपाटी – भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। द्वापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भगवान् विष्णुको अवतारको रूपमा यसै दिन उहाँको जन्म भएको मानिन्छ ।

कर्म गर फलको आशा नगर भन्ने कृष्णवाणी मनन योग्य छ । सूर्य योगमा भगवान् रामको जन्म भएको मानिए जस्तै चन्द्र योगमा भगवान् कृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।
चन्द्र योगको उत्तम वस्तु दुग्ध पदार्थ रहेकाले भगवान् श्रीकृष्णमा दही मखन रुचाउने स्वभाव रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउनुहुन्छ । दही मखन चढाउँदा श्रीकृष्ण प्रशन्न हुनुहुन्छ भन्ने मान्यता छ । आफैँमा रसरङ र गोपिनीसँगको राशलिलासँग जोडिएको उहाँका अनेकौँ घतलाग्दा रोमाञ्चकारी प्रसङ्ग पुराणहरूमा पाइन्छ ।
ज्ञान कर्म र भक्तियोगका प्रणेताका रूपमा उहाँलाई पुजिन्छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाँका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ। यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए।

यस अवसरमा आज पाटनको कृष्ण मन्दिर, पशुपति मन्दिर परिसरको स्वेतवर्ण कृष्ण, गोठाटारको कृष्ण मन्दिर, हनुमानढोकाको कृष्ण मन्दिर लगायत सवै कृष्ण मन्दिरमा यो दिन मेला लाग्छ । कृष्ण प्रणामी र इस्कोन समुदायले बुढानीलकण्ठमा यसै अवसरमा उत्सव राखेका छन् । यस उपलक्ष्यमा देशभर विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन छ।

यस्तै श्रीकृष्ण जन्माष्टमीकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरेकी छन्। एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस पर्वले राष्ट्रलाई एकताको सुत्रमा आवद्ध गरी धार्मिक सहिष्णता तथा सद्भाव कायम गर्न सहयोग पु-याउने विश्वास व्यक्त गरेकी छन्।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...