Sunday 19th May 2024

निर्मला बलात्कार पछि हत्याको केशमा पक्राउ गरिएका बम दिदी बहिनीको बयान लिन शुरू


तितोपाटी – बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका बम दिदी बहिनीसंग प्रहरीले वयान लिन सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका बबिता र रोशनी बमसंग घटनाबारे वयान लिन थालिएको हो।

भीमदत्त नगरपालिका –२ महुलिया, उल्टाखाम निवासी कक्षा नौ मा अध्ययनरत १३ बर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको वास्तविकता बुझ्न सरकारले उच्चस्तरीय छानविन समितिको टोली महेन्द्रनगर खटाएको छ। साउन १० गते दिउँसोेदेखि वेपत्ता भएकी निर्मलाको शव दोस्रो दिन अर्थात साउन ११ गते भीनपा – १९ बाँगफाटास्थित खोला छेउको उखुबारीमा फेला परेको थियो। साथी रोशनीको घरमा दिउँसो गृहकार्य गर्न गएपछि निर्मला वेपत्ता भएकी थिइन्।

कञ्चनपुर प्रहरीका प्रहरी नायव उपरीक्षक तथा यस घटनाका अनुसन्धान अधिकृत कृष्णराज ओझाले घटनापछि उग्र बनेको आन्दोलन शान्त भएपछि अनुसन्धान थालिएको बताए। ‘घटनास्थलको अनुगमनसंगै पीडित र आरोपीका परिवारसंग भेटने काम भएको छ।’ अनुसन्धान अधिकृत ओझाले भने, ‘आरोपी बम दिदी बहिनीसंग वयान लिने काम पनि भइरहेको छ।’

निर्मला घटनामा जिल्ला न्यायाधिवक्ताको समन्वयमा प्रहरीले अनुसन्धान गरेको उनले जानकारी गराए। ‘निर्मला घटनालाई गम्भीर र गहन रुपमा अनुसन्धान गरिरहेका छौं।’ अनुसन्धान अधिकृत ओझाले थपे, ‘घटनाको सत्यतथ्य पत्ता लगाउन हामीले सल्लाह र सहयोग समेत लिएर काम गरिरहेका छौं।’

जिल्ला न्यायाधिवक्ता खोमराज भट्ट र अनुसन्धान अधिकृत ओझाले स्थलगत निरीक्षण गरेका छन्। अनुसन्धान अधिकृत ओझाले भने, ‘हामीले स्थलगत निरीक्षण गरिसकेका छौं। पीडित परिवारलाई पनि भेटिसक्यौं। शंकास्पद बमको घरको पनि स्थलगत निरीक्षण गरिसक्यौं।’

अनुसन्धान जारी नै भएकाले यसलाई टुङ्गोमा पु-याएपछि मात्रै घटनाको विस्तृत जानकारी आउने उनले बताए। ‘अनुसन्धान सुक्ष्म रुपमा भइरहेको छ। अहिले केही कुरा सार्वजनिक गर्न सकिने अवस्था छैन्’, अनुसन्धान अधिकृत ओझाले भने।

यता जिल्ला न्यायाधिवक्ताले निष्पक्ष अनुसन्धान गर्न नौं बुँदे निर्देशन दिएका छन्। प्रहरीले घटनाको आरोपमा पक्राउ गरेका ४१ बर्षिय दिलीपसिंह बिष्टको डिएनए जाँचको रिपोर्ट, बिष्टको मानसिक स्वास्थ्य अवस्थाको रिपोर्ट, प्रहरीले घटनास्थलमा भेट्टिएको भनेको बिष्टको सर्टको खल्ती (गोजी) को टुक्राको परीक्षण रिपोर्ट, घटनास्थलको स्केच (चित्र), घटनामा सलग्नताको आशंका हिरासतमा राखिएका बम दिदीबहिनीको घर र त्यहाँदेखि घटनास्थलको दुरी लगायतका प्रमाण पेश गर्न भनिएको छ।

घटनाको तीनसातापछि प्रहरीले अघिल्लो आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका बिष्टलाई निर्मला हत्याको अभियुक्त भन्दै सार्वजनिक गरेको थियो। मानसिक अवस्था कमजोर भएका बिष्टलाई हत्याराभनि सार्वजनिक गरेपछि आन्दोलन झन चर्किएको थियोे।

आन्दोलन चर्केपछि भदौ आठ गते शुक्रबारका दिन नेपाल सरकारद्वारा गठित छानविन समितिका संयोजक सहसचिव एवं कारागार व्यवस्थापन विभागका महानिर्देशक हरीप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानविन समिति महेन्द्रनगर पुगेको थियो।

गत विहीबार आन्दोलनले उग्र रुप लिएपछि आन्दोलनकारी र प्रहरीबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो। भदौं ८ गते साँझ ट्राफिक चोक नजिक प्रहरीले चलाएको गोली लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भगतपुर, शुभकामना टोलका १५ बर्षीय सन्नी खुनाले ज्यान गमाएका छन्। त्यसअघि गोली लागेर घाइते भएका महेन्द्रनगरका १७ बर्षीय अर्जुन भण्डाराको काठमाडौंमा उपचारका क्रममा दायाँ खुट्टा काट्नु परेको छ। घुँडा भन्दा माथि खुट्टा काट्नु परेको आफन्तले बताएका छन्।

आन्दोलन नरोकिएपछि यहाँका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कको ठाउँमा तारानाथ अधिकारी, एसपी डिल्लीराज बिष्टको ठाउँमा कुवेर कठायत र डिएसपी ज्ञानबहादुर सेठीको स्थानमा कृष्णराज ओझालाई खटाइएको छ।

परिवारले निर्मलाका हत्याराको पत्ता लगाएर सजाय दिएमात्रै न्याय पाएको आभाष हुने बताएका छन्। ‘राहत भन्दापनि पहिला हामीलाई न्याय चाहिएको छ’, निर्मलाका बुबा यज्ञराज पन्तले भने, ‘एकमहिना बितिसक्दा पनि कसले हत्या ग-यो भनि पत्ता नलाग्नु दुर्भाग्य हो।’


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...