Sunday 22nd March 2026

श्रीमतीसँग लसपस भएको शंकामा हत्या, हत्याको सूचना फेसबुक स्ट्याटस मार्फत


तितोपाटी – वैदेशिक रोजगारको सिलसिलामा दुबई गएका एक व्यक्तिले आफ्नी श्रीमतीसँग सम्बन्ध भएको आशंकामा युवकको हत्या गरेका छन् ।

ओखलढुंगाको मोलुङ–३ का सन्तोष कार्कीको चुप्पी प्रहार गरेर ५ भदौमा हत्या भएको हो । कार्कीको हत्यामा संलग्न भएको आरोपमा दाङको लालमटिया, भालुबाङका सञ्जिव थापा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशबहादुर सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुधबार बिहान पक्राउ गरेको हो ।

प्रारम्भिक सोधपुछका क्रममा थापाले आफ्नी श्रीमतीसँग सम्बन्ध भएका कारण कार्कीको हत्या गरेको दाबी गरेका छन् । उनी कार्कीको हत्या हुनु केहीदिन अगाडि मात्रै नेपाल आएका थिए ।

‘कार्कीको हत्या गर्ने उद्देश्यले नै थापा यहाँ आएको हुनसक्छ’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

हत्याको सूचना फेसबुकमा

कार्कीको शरीरमा १५ ठाउँमा चोट छ । प्रहरीलाई दिएको बयान अनुसार हत्यापछि थापा ३ दिनसम्म हिँडेर दाङ पुगेका थिए । दाङ पुगेर घटनाको ६ दिनपछि उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै कार्कीको हत्या गरेको स्वीकारेका छन् ।

उनले भनेका छन्, ‘सन्तोष कार्कीले मलाई वर्षैंदेखि दुःख, पीडा दिनु र बदनाम गराइदिनाको कारण सोधपुछ गर्न र सम्झाउन ५ गते उसको घर पुगेको थिएँ । तर, उल्टै ममाथि हातपात गर्न पुग्दा धारिलो हतियार प्रयोग गरी अन्तिम विकल्प स्वरुप उसलाई दण्ड दिएको हुँ ।’

उनले सत्य, तथ्यको वास्तविक कारण कार्कीकै मुखबाट जान्नका लागि आवश्यकताभन्दा बढी प्रहार गरेको पनि उल्लेख गरेका छन् । मर्ने वेला कार्कीले आफ्नो गल्ती समेत स्वीकारेको दाबी गर्दै उनले अगाडि भनेका छन्, ‘मेरा सबै विकल्पहरु असफल हुँदा दण्डलाई नै अन्तिम विकल्प बनाउन पुग्दा मबाट गल्ती भएकै हो ।’

उनले गल्ती गर्ने जो कोही कानुनको भागिदार हुनै पर्ने भन्दै कानुन समक्ष आत्मसमर्पण गर्ने बताएका थिए । तर, उनी लुकीछिपी बस्दै गरेको अवस्थामा बुधबार बिहान समातिएका छन् ।

अनुसन्धान अधिकारीका अनुसार थापाको औंलामा पनि चोट देखिएको छ ।

विदेशी साबुनले खुल्यो भेद

जिल्ला प्रहरी कार्यालय, ओलढुंगाका प्रमुख डिएसपी अर्जुनप्रसाद तिम्सिनाका अनुसार घटना भएको दिन कार्कीको घरमा अन्य कोही थिएनन् । घटना भएको थाहा पाएपछि नजिकै रहेको हाइड्रो पावर कम्पनीमा काम गर्ने मजदुरले रामपुर प्रहरी चौकीमा खबर गरेका थिए ।

त्यस लगत्तै, जिल्ला प्रहरी कार्यालय, ओखलढुंगा र १ नं. प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धानको टोलीले छानबिन थालेको डिएसपी तिम्सिनाले बताए ।

त्यसक्रममा होटलहरुमा बसेका व्यक्तिहरुको विवरण लिने क्रममा एउटा होटलमा ‘मेड इन यूएई’ लेखिएको साबुन भेटियो । त्यही तथ्यलाई आधार बनाएर कल डिटेल रेकर्ड लगायत चेक, जाँच गर्दा प्रहरी थापासम्म पुगेको थियो ।

अनुसन्धान जारी रहेकै वेला थापाले फेसबुकमै स्टाटस पोष्ट गरेपछि प्रहरीको शंका पुष्टि भएको थियो । थापाले श्रीमतीसँग सम्बन्ध भएको आशंका गर्दै हत्या गरे पनि हालसम्मको अनुसन्धानले उनीहरुबीच सम्बन्ध भएको नदेखाएको एक प्रहरी अधिकारी बताउँछन् ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...