Saturday 10th October 2026

‘न्याय’ माग्दै अस्पतालमै अाफन्तका शव


तितोपाटी – एक वर्षअघि काठमाण्डूमा हत्या गरिएकी १० वर्षीया अमृता नेपालीको शव अहिले पनि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसको फोरेन्सिक मेडिकल विभागस्थित शव परीक्षण गृहमा राखिएको छ।

काठमाण्डू जिल्ला अदालतले गत जेठमा आरोपीलाई अमृताको बलात्कार र हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाइसकेको छ।

तर फैसलाको पूर्ण पाठ नहेरी छोरीको शव नउठाउने अमृताकी आमा सन्तोषीले बताइन्। उनले भनिन्, “फैसलाको कागज आएकै छैन, त्यो आएपछि हेरेर मात्र नानीको शव उठाउने भनेको हो।” उनले शवगृहमा राखे बापत तिर्नुपर्ने रकम समेत आफूसँग नभएको दुखेसो पोखिन्।

राज्यले न्याय नदिएको भन्दै कतिपय हत्या भएका र विवादास्पद परिस्थितिमा मृत्यु भएका व्यक्तिका परिवारले सन्तोषीको जस्तै तिनीहरूका शव बुझेर नलिँदा वर्षौँदेखि अस्पतालको शवगृहमा रहेको अधिकारीहरूले बताएका छन्। राज्य संयन्त्रमा रहेकाहरूबाट आफूहरूमाथि अन्याय भएको भन्दै मृतकका आफन्तले हालसम्म पनि शव अस्पतालमै छाडेका हुन्।

यसरी विरोध स्वरुप आफन्तका शव अस्पतालमा नै छाड्नेमा माओवादी सशस्त्र द्वन्दकालका पीडितदेखि बलात्कार र जातीय विभेदको शिकार भएकाका आफन्त समेत रहेको अधिकारीहरूले बताएका छन्।

पछिल्ला वर्षहरूमा अन्यायमा परेको ठान्नेहरूले आफन्तका शव नउठाई विरोध जनाउने गरेको उनीहरूको भनाइ छ।

काठमाण्डूको महाराजगञ्जस्थित उक्त शवगृहमा अहिले ६ वटा यस्ता शव छन्। त्यसमध्ये द्वन्द्वकालमा सुरक्षाफौजद्वारा मारिएको भनेर राष्ट्रिय मानव अधिकार आयोगले पछि उत्खनन गरेका धादिङकी सरला सापकोटा र काभ्रेकी मैना सुनारको शव समेत अझै आफन्तले बुझेका छैनन्। अधिकारीहरूका अनुसार सापकोटाको शव त्यस शवगृहमा राखिएको १२ वर्ष भइसकेको छ। सुनारको शव राखिएको पनि वर्षौँ भइसकेको छ।

यसैगरी द्वन्दकालमा मारिएका आफ्ना छोराका हत्यारा पक्राउ गर्न माग गर्दै अनशन बसेरहेका बेला मृत्यु भएका गोरखाका नन्दप्रसाद अधिकारीको शव समेत साढे दुई वर्षभन्दा बढी समयदेखि सो शवगृहमै रहेको छ।

यी बाहेक जातीय विभेदसम्बन्धी मुद्दा जोडिएको काभ्रेका अजित मिजार र रहस्यमय मृत्यु भएको भनिएको सिन्धुपाल्चोककी रिता थामीको शव समेत आफन्तले बुझेर लगेका छैनन्।

उनीहरूको शव राखिएको पनि लामो समय भइसकेको अधिकारीहरूले बताए।

लामो समय शवगृहमा नै छाड्दा शवहरू बिग्रने चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जका फोरेन्सिक मेडिकल विभागका प्राध्यापक हरिहर वस्ती बताउँछन्। “फ्रीजमा राख्नु भनेको पनि सधैँ सुरक्षित जस्ताको तस्तै भइरहने होन परिवर्तन हुँदै जान्छन्,” उनले भने, “सग्लो शरीर आएका थिए भने पनि अस्थिपञ्जरका रुपमा कुहिएर गइसके।” उनले अनुसन्धानका लागि शवहरूको थप परीक्षण गर्नु नपर्ने भएकाले शवगृहमा राख्नु आवश्यक नरहेको बताए।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

प्रतिकृयाहरू
...