Friday 9th October 2026

दुई वटा गैँडा चीनलाई हस्तान्तरण गरियो


नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंडाको जोडी बिहीबार हस्तान्तरण गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरेका हुन् ।

‘भद्र’ र ‘रुपसी’लाई मंगलबार चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएको थियो । अब चीनबाट आउने विशेष जहाजमा चढाएर गैंडालाई चीन लगिनेछ ।

२०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो । त्यसको दुई वर्षपछि बिहीबार एकजोडी गैंडा चीनलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारले पोथी गैंडाको नाम ‘रुपसी’ र भाले गैंडाको नाम ‘भद्र’ राखेको छ ।

गैंडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि केही समय चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा कोषका भेटेरिनरी प्राविधिज्ञ किरण रिजाल, वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई गैंडासँगै चीन जाने छन् ।

नेपालले अहिलेसम्म विभिन्न देशमा २६ गैंडा उपहार दिएको छ । विश्वमै दुर्लभ मानिने एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा पछिल्लो गणनाअनुसार ६४५ वटा गैंडा रहेका छन् । चितवनमा मात्रै ६०५ गैंडा रहेको तथ्यांक छ ।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...