Wednesday 18th July 2018

सरकार ! छाउगोठ खोजी खोजी भत्काउ


राधा पोखरेल – छाउगोठमा सर्पले डसेर एउटी युवतीको मृत्यु भएको महिना दिन नबित्दै अर्की युवती छाउगोठमै बलात्कृत भएकी छन् । छाउपडी प्रथाको समाचार नेपाली सरहदभन्दा सात समुन्द्रपारि अमेरिकासम्म फैलिन पुगेको छ ।

संसारमा सबैभन्दा बढी पाठक भएको अमेरिकाबाट प्रकाशित अंग्रेजी दैनिक पत्रिका द न्यू योर्क टाइम्सले आफ्नो जुलाई २२, २०१८ को अंकको पहिलो पृष्ठमा छाउपडी प्रथाको समाचार नै लेख्यो । साँच्चै, यो समाचारले संसारभर बेइज्जत भयो, हामी नेपालीको ।

सरकार समृद्धिको चर्को कुरा गरिरहेको छ । प्रधानमन्त्रीज्यू त बातैपिच्छे रेल र पानीजहाजको भन्दा अरू कुरै गर्नुहुन्न । उहाँको सपना-विपना नै पानीजहाज र रेल हो । पानीजहाज र रेल नेपालमा कुद्न थालेपछि मानौं नेपाल स्वर्ग बन्छ । कुनै नेपालीहरू दुःखी, गरिब, असहाय, निमुखा रहँदैनन् । औषधोपचारको अभावमा कोही नेपालीको अकालमा ज्यान जाँदैन । रोजगारी खोज्दै अरबको ५५ डिग्रीको तापक्रममा कुनै नेपाली युवा पसीना चुहाउन जानुपर्दैन ।

मानौं, पानीजहाज र रेल नेपालमा कुद्न थालेपछि छाउगोठमा कुनै पनि किशोरी र युवतीहरू सर्पले डसेर अकालमा मर्नुपर्दैन । कुनै भुस्तिघ्रे नरपशुहरूबाट छाउगोठमा किशोरीहरू बलात्कृत हुनुपर्दैन । तल्लो जात भएकै कारण कथित उपल्लो जातबाट धारा, पधेंरो छोएकै आधारमा अपमान र यातना भोग्न पर्दैन । सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक कुनै पनि भेदभाव, उँचनीच केही ब्यहोर्न पर्दैन । किनकि, हाम्रो देशमा पानीजहाज र रेल दौडिरहेको हुनेछ ।

प्रधानमन्त्रीज्यू ! कुरा समृद्धिको होइन, संस्कृतिको हो । समुन्नत संस्कृतिविना समृद्ध समाज निर्माण सम्भव छैन । मानिलिउँ, तपाईँले भन्ने गर्नुभएको पानीजहाज र रेल भोलिदेखि नै नेपालमा कुद्न थाल्यो रे ! आखिर, वर्गीय रूपमा पीँधमा रहेका नेपाली जनताले के पाउँछन् ? जातीय, क्षेत्रीय र लैंगिक रूपमा भेदभावमा पारिएका जनताले के पाउँछन् ? त्यो विकास र समृद्धिबाट फाइदा उठाउनेहरू त उही हुन्छन्, जो हिजो थिए र आज छन् ।

विश्व एक्काइसौं शताब्दीमा छ । ज्ञान, विज्ञान र प्रविधिको विकासले मानव सभ्यतामा अभूतपूर्व क्रान्ति भएको छ । पृथ्वी साँघुरो भएको अनुभूत गर्दैछ मान्छे । सायदनिकट भविश्यमा मान्छे अरू ग्रहमा बसाइँ सर्न सफल हुन्छन् होला । तर, विडम्वना ! हाम्रो देशका हामी नागरिक चरम अन्धविश्वासको अन्धकार युगमा बाँचिरहेका छौं । चरम अन्धविश्वासको अन्धकार युगबाट नागरिकलाई विज्ञानको उज्यालो युगमा ल्याउने जिम्मा सरकारको हो ।

प्रत्येक दिन अन्धविश्वासका कारण कुनै न कुनै सानाठूला घटनाहरू समाजमा घटेकै हुन्छन् । कुनै घटनाले समाजमा बिग्रह पैदा गर्छ त कुनैले विभेद । कुनै घटनाले मान्छेको ज्यानै जान्छ त कुनै घटनाले धन सम्पत्तिको नोक्सानी गर्छ । देश र समाजलाई अघि बढाउन तगारो बनिरहेका यस्ता अन्धविश्वासी संस्कृतिलाई अन्त्य नगरेसम्म समृद्धि कसरी आउला ?

युगौंदेखि शासकहरूले आफ्नो स्वार्थपूर्तिका लागि समाजमा रोपिदिएको अन्धविश्वासको संस्कृति जादुको छडी चलाएझैं छु मन्तर गरेर हटाउन सम्भव छैन । नागरिकको सोच र संस्कार परिवर्तनका लागि सरकार योजनावद्ध सशक्त कार्यक्रमहरू लिएर जनतामाझ जान जरूरी छ । साथै, आवश्यक नियम कानुन निर्माण गर्दै प्रभावकारी कार्यान्वयन गर्न पनि जरूरी छ । तर, सरकारसँग यस्तो कुनै प्रष्ट नीति, कार्यक्रम देखिँदैन ।

छाउपडी प्रथा मानव समाजको एउटा कलंक हो । महिलामाथि हुने क्रुर अमानवीय हिंसा हो । जुनबेला शरीरमा सबभन्दा बढी पोषकतत्वको आवश्यक पर्छ, त्यहीबेला भोकभोकै राख्ने, जुनबेला शरीरलाई सबैभन्दा बढी सरसफाईको आवश्यक पर्छ, त्यहीबेला प्रकाश र हावा पनि नछिर्ने कालकोठरीमा लगेर बन्द गर्ने, अनि जुनबेला मानसिकरूपमा सबभन्दा आडभरोसा र सान्त्वनाको आवश्यक पर्छ, त्यहीबेला परिवारका सदस्यहरूसँग अलग्याएर राख्ने । अनि उनीहरूलाई रोग नलागे कसलाई लाग्छ ? उनीहरूलाई सर्पले नडसे कसलाई डस्छ ? उनीहरू मानसिकरूपमा बिछिप्त नभए को हुन्छन् ? उनीहरू असुरक्षित नभए अरु को हुन्छन् ?

धर्म, संस्कृति र परम्पराका नाममा यस्तो हिंसा सुदूरपश्चिमका महिलाहरूले कहिलेसम्म भोग्ने ? हो, परापूर्वकालदेखि समाजमा चल्दै आएका कतिपय धर्म, संस्कृति र परम्पराहरू राम्रा छन् । त्यसको हामी सबैले संरक्षण गर्नुपर्छ । कतिपय समयसापेक्ष सुधार गर्नुपर्ने छ, त्यसलाई सुधार गर्दै लैजानुपर्ने हुन्छ भने कतिपय जबर्जस्ती भत्काउनुपर्ने पनि हुन्छ, त्यसलाई राज्यले कडा कानुन बनाएर भत्काउनुपर्छ । धर्म, संस्कृति र परम्पराका नाममा मानवताविरोधी कुराहरू बोकेर हिँड्नुहुँदैन ।

रजस्वला हुनु महिलाको अपराध हो ? रजस्वलासम्बन्धी सही ज्ञान दिन नसक्दा एकातिर महिला हीनताबोधले ग्रसित छ । मानसिक रूपमा आतंकित छ । शारीरिकरूपमा रोगी बन्दैछ । अर्कातिर पुरूषहरूले घृणा गर्छन्, अमानवीय अछुत व्यवहार गर्छन् । परम्पराका नाममा समाजले परिवारसँग अलग्याएर कालकोठरी छाउगोठमा बन्धक बनाउँछ । अनि परम्पराका नाममा अभिभावक र यो समाज गर्व गर्छ । सरकार मूकदर्शक बनेर रमिता हेर्छ ।

यो पुरूषप्रधान समाज यति ढोंगी, अमानवीय छ कि भन्न पनि शरम लागेर आउँछ । यसको अर्थ मैले पुरूषहरूको बिरोध गरेकी होइन, पुरूषप्रधान प्रवृत्तिको बिरोध गरेकी हूँ । मलाई राम्रोसँग थाहा छ, नारी-पुरूष एउटै रथका दुई पांग्रा हुन् । एकविना अर्काको अस्तित्व सम्भव छैन । समभाव र समान अधिकारसहित सँगसँगै मिलेर समाजलाई अघि बढाउनुको कुनै विकल्प छैन ।

मैले पुरूषप्रधान समाजको किन आलोचना गरेकी हुँ भने केही दिन अगाडि छाउगोठमा छाउ बारिरहेकी एउटी युवतीलाई जबर्जस्ती बलात्कार गर्‍यो । बलात्कार गर्ने कुनै महिला थिइन, पुरूष नै थियो ।

अनि घरपरिवारका सदस्यहरूसँग बःन त परै छाडिदिउँ, अनुहारसमेत हेर्दा पाप लाग्छ भनेर एकान्तबास छाउगोठ पठाउने पनि यही पुरूषप्रधान समाज नै थियो । ए बलात्कारी पुरूष ! तिमीले ती युवतीलाई टाढैबाट हेरेर मात्रै बलात्कार गर्‍यौ ? या छोएर बलात्कार गर्यौ ? खोइ कहाँ गयो, तिमीले छुट्टयाइदिएको पाप-धर्मको सीमाना ?

यदि महिला रजस्वला हुन छाडेभने प्रकृति चल्ला ? रजस्वला भएकी महिलालाई घृणा गरेर अलग्गै छाउगोठ पठाउने ए (ना)मर्द पुरूष, हिम्मत भए एक्लै श्रृष्टि चलाएर देखाऊ । एक्लै बाँचेर देखाऊ । ए समाज ! ए सरकार !! तिमीहरू पनि श्रृष्टि चलाएर देखाऊ । समाज चलाएर देखाऊ ।

रजस्वला भएकी महिलालाई घृणा गर्ने, अछुत व्यवहार गर्ने र छाउगोठ पठाउने घरपरिवार, समाज र सरकारलाई बिनम्रतापूर्वक आग्रह छ-
महिला भनेका सृष्टि हुन्, धर्ती हुन् । रजस्वला हुनु भनेको सृष्टिलाई निरन्तरता दिन परिपक्व हुनु हो । तसर्थ, घृणा होइन, उनीहरूको यथोचित सम्मान गर्न सिक ।

त्यस्तै म महिलाहरूसँग पनि अनुरोध गर्दछु- हामीले आफूलाई महिला हुनुमा गर्व गरौं । किनकि, रजस्वला हामी महिलालाई प्राप्त प्रकृतिप्रदत्त विशेष उपहार हो । गर्भाधान गर्ने र आमा बन्ने अवसर के पुरूषले चाहेर सम्भव छ ? छैन । त्यसैले म फेरि भन्छु- महिला भएकोमा गर्व गरौं ।

अन्धविश्वासका कारण मान्छे मर्छ । दुईचार दिन सामाजिक सन्जाल रंगिन्छ । सरकार कानमा तेल हालेर सुनेको नसुन्यै गर्छ । बिरोध क्रमशः मत्थर हुन्छ । अन्तमा हराउँछ । त्यसपछि सरकार लाज पचाएर पुरानै शैलीमा जनतामाथि शासन गर्छ । यो चक्र आफूलाई चौबिस क्यारेट कम्युनिस्ट भन्नेहरूको सरकारमा पनि पुनरावृत्त भइरहेको छ ।

कम्युनिस्टको अर्थ साम्यवादी हो । साम्यवाद मान्छेको सोंच, चिन्तन, ब्यबहार र सामाजिक संस्कारमा अन्धविश्वासको अन्त्य र बिज्ञानको अबलम्बनविना सम्भव छैन ।

अब छाउपडी प्रथाको अन्त्य गर्नसरकारले सामाजिक जागरणका लागि सचेतनामुखी विविध प्रभावकारी कार्यक्रमहरू सन्चालन गर्ने र छाउगोठ खोजीखोजी नष्ट गर्ने (सर्च एण्ड डिस्ट्रोय) अभियान शुरू गर्नुपर्छ । यस अभियानमा राजनीतिक पार्टीहरू, सामाजिक संघ संस्थाहरू, नागरिक समाज सबैले पनि साथ दिन जरूरी छ ।

अन्यथा, अब पनि कुनै महिलाको छाउगोठमा ज्यान गयो भने त्यसको जिम्मा सरकारले लिनु पर्नेछ । समृद्धिका नाममा अविकासको विकास र गरिवी जाल सिर्जना नहोस् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता…

तितोपाटी - सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई खारेज गर्ने…

तितोपाटी - नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिनादेखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा…

प्रतिकृयाहरू