Thursday 18th April 2024

मुस्ताङमा टिप्पर दुर्घटना हुँदा २० को मृत्यु, रोल्पाका मात्रै ११ जना परे


तितोपाटी – मुस्ताङमा भएको टिप्पर दुर्घटनामा रोल्पाको थबाङ गाउँपालिका–५ उवा पुसबाङका एकै परिवारका ६ जनाको मृत्यु भएको छ। एकाघरका ६ जनासहित यहाँका ११ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन्।

मजदुरीका लागि मुस्ताङ पुगेका छोराछोरीको मृत्युको खबरले मृतकका परिवार, आफन्त र जिल्लाबासी शोकमा डुबेका छन्। उवा पुसबाङकी ६० वर्षीय धनपुरी रोकाको काख रित्तिएको छ। उनका छोराहरू ३३ वर्षीय कमानसिंह, २३ वर्षीय राष्टे, १९ वर्षीय महेश र छोरी कर्मजिताको दुर्घटनामा मृत्यु भएको छ।

धनपुरीका पतिकी जेठी पत्नीबाट जन्मिएका छोरी जितमाया र जेठा छोरा कुमारकी छोरी सिर्जना रोकाको पनि सोही घटनामा मृत्यु भएको छ।

मजदुरीमा मुस्ताङमै रहेका मृतक महेशका दाई रामबहादुर रोकाका अनुसार घटनामा रोल्पाका ११ जनाको मृत्यु भएको छ।

‘घटनास्थलमा काम गरिरहेका सबैजसोको मृत्यु भएको रामबहादुरले जानकारी दिए । ‘मेरै परिवारका ६ जना र बहिनीका पति (ज्वाईं) को समेत ज्यान गएको छ।’, घटनास्थलमै रहेका रामबहादुर रोकाले भने, ‘आफन्तको शव हेर्न नसकेर म पनि अस्थायी क्याम्प फर्किएको छु। हाम्रो परिवारलाई ठूलो क्षति पुगेको छ।’
रामबहादुर घटना हुनुभन्दा अगाडि सोही सडक खण्ड भन्दा केही पर रहेका थिए। खबर सुनेपछि घटनास्थल पुगेको उनले बताए।
दिउँसोको खाना खाएर कार्यस्थलमा जाने क्रममा टिप्पर दुर्घटना भएको उनले बताए। ‘खाना खाने अस्थायी क्याम्पदेखि काम गर्ने ठाउँ टाढा भएकाले मजदुरहरू बालुवा बोकेर आइरहेको टिप्परमा चढेर गएका थिए’, रामबहादुरले घटना सुनाए, ‘सिंगल रोड थियो। सजिलो ठाउँबाटै टिप्पर पल्टिएको छ।’ टिप्पर पनि सडक निर्माण गर्ने कम्पनी कै रहेको उनले बताए।

उवामा रहेका आफन्तलाई रामबहादुरले नै घटनाबारे जानकारी गराएका थिए। फोनको पहुँचमा नभएका मृतक महेशका आमा धनपुरी र बुबा हित रोकालाई छिमेकीको फोनबाट खबर छोडिएको थियो। घटना सुनेपछि सन्तानविहीन बन्न पुगेकी धनपुरी होसमा छैनन्। बुढ्यौली अवस्थामा पुगेका उनीहरू आँसुमा डुबेका छन्।

मृतकहरूकी छिमेकी एवं शिक्षिका सपना रोकाले पूरै गाउँ शोकमा डुबेको बताइन्। एकैघरका आधा दर्जनसहितको मृत्युको खबरले सबैलाई रुवाएको छ। फोन सेवाको समस्याले आफन्तले राम्रोसँग घटना बुझ्नसमेत पाएका छैनन्। राष्टेकी पत्नी लिला रोकालाई सम्हालिन गाह्रो भएको छ। आफ्नो परिवारका ६ जना सहित ११ जनाको मृत्युको खबर सुनेपछि उनी विक्षिप्त बनेकी छन्।
‘मेरा पति (राष्टे) तीन वर्ष मलेसिया बसेर घर फर्किनु भएको थियो। वैशाख २३ गते मजदुरी गर्न जानु भएको हो’, लिलाले रुदै भनिन्, ‘कमाएर आउँछु भन्नुहुन्थ्यो । मृत्युको खबर सुन्नुपर्‍यो।’

उनी दाङको भालुबाङमा छोरालाई पढाउन कोठा भाडामा लिएर बसेकी छन्। पाँच वर्षको छोरा नर्सरीमा पढ्छन्।

रामबहादुरका अनुसार घटनामा बहिनी र ज्वाइँको पनि मृत्यु भएको छ। बहिनी जितमाया र उनका पति थबाङ गाउँपालिका–१ थबाङका ३६ वर्षीय मौसम रोकाको मृत्यु भएको हो। सोही ठाउँका २८ वर्षीय सुकमान रोकाको पनि मृत्यु भएको छ।

उवा पुसबाङका जितकुमारी र सुनछहरी गाउँपालिका–१ सेरमका ३२ वर्षीय सुन्तु घर्ती र ३२ वर्षीय राजकुमार पुनको मृत्यु भएको छ।

मृतक जितकुमारीका पति विष्णु घाइते भएका छन्। उनको अवस्था पनि चिन्ताजनक रहेको आफन्तले जनाएका छन्। उनी एसईई परीक्षा दिएर मजदुरीमा गएका थिए। रेशम घर्ती पनि घाइते छन्। उनीहरुको पोखरामा उपचार भइरहेको छ।

सेरम घुसबाङका आफन्त ठेकेदार रमेश घर्तीले उनीहरुलाई सडक निर्माणका लागि मुस्ताङ लगेका थिए। मृतकको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने बताइएको छ। मृतकका वृद्ध बुबाआमा शव लिन जान सक्ने अवस्थाका छैनन्। मजदुरीमै गएका बाँचेका आफन्तले नै शव ल्याउने आशामा बसेका छन्। आफन्तले मृतकलाई क्षतिपुर्ति दिन माग गरेका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

दक्षिण पश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ। यद्यपि भूकम्पबाट…

प्रतिकृयाहरू
...