Wednesday 18th July 2018

सडक चाैडा पार्दैमा सहरको विकास हुन्न -नेता गगन थापा


तितोपाटी – यतिखेरको नेपालको राजनीतिमा एक जल्दा बल्दा नेताका रूपमा नेपाली कांग्रेसका युवा नेता गगन थापा चिनिन्छन् । उनै युवा नेतासँग  भएको कुराकानीः

तपार्इँको बुझाइमा सहर के हो ?
आकस्मिक सेवा–सुविधा भएको ठाउँ र ठूलो जमातको आवश्यकता पूर्ति गर्ने ठाउँ सहर हो । सहरमा सहजतासँगै त्यससँग जोडिएको इतिहास, जीवनशैली र संस्कृतिको समष्टिगत रूप भेटिनुपर्छ । सहरको अर्को पक्ष भनेको मूर्त र अमूर्त संस्कृति हो । सहरमा हिजोको परम्परा र जमाना भेटिनुपर्छ।

हाम्रा सहरमा यी सुविधा पाइन्छन् त ?

यसको दुइटा पक्ष छ । हामीले काठमाडौंलाई हेर्ने होे भने गएको ३०-३५ वर्षमा काठमाडौंलाई यति ठूलो अन्याय गरेको छौं कि त्यो अन्यायको जति आलोचना गरेपछि पुग्दैन । हामीले गरेको भूलप्रति आगामी पिढीले सरापिरहनेछन् । यहाँका संस्कृति र परम्पराले सराप्ने छन् ।

विगतदेखि नै काठमाडौंले जुन किसिमको जनसंख्याको चाप खेप्दै आएको थियो, त्योसँगै व्यवस्थापन गर्न सकेनौं । यो पोलिसी लेभलमा रहने र सरकारी निकायमा रहनेको ठूलो लज्जाको विषय हो । राजनीतिज्ञको असफलता हो । दुई साताअघि मात्रै म इटलीको भेनिस सहर पुगेको थिएँ । त्यो देखेपछि मलाई अर्कै महसुस भयो । त्यहाँको एउटा चर्चको टुप्पोमा पुगेर सहर नियालेको थिएँ । सहरको मौलिकता र बनोट शैली हेर्दा आँखाबाट आँसु बग्यो ।

किनकी हामीले पनि नेपालका सहरलाई यस्तै बनाउन सक्थ्यौं । तर, हामी सहरको विकास गर्ने क्रममा चुक्यौं । भेनिस सहर ठ्याक्कै हाम्रा ऐतिहासिक दरबार भएको सहर काठमाडौं, भक्तपुर र ललितपुर जस्तै थियो।

सहरको विकासमा हामी कहाँनिर चुक्यौं जस्तो लाग्छ ?
यसमा राज्य मात्रै होइन, राजनीतिक दलका नेताहरू पनि चुके । हिजो विकासका काम गर्ने र योजना ल्याउनेले सहरको भविष्य सोचेनन् । सत्तामा रहनेले पनि सहरको मर्म बुझेनन् ।

२०४६ साल अगाडि काठमाडौंको विकासलाई तत्काल कसरी सच्याउने भनेर डा. प्रकाशचन्द्र लोहनीले काठमाडौं उपत्यका विकास प्राधिकरणको ऐनचाहिँ बनाउनुभएको रहेछ । त्योबेला हामीले उपत्यका विकास प्राधिकरणसँगै मिलेर पञ्चायत काललाई नसम्झेर विगतमा बिग्रेकोलाई सच्याउनुपर्छ भन्ने आवाज उठाएका थियौं । सहरमा नयाँ के गर्न खोजिएको हो अहिले नै सुरु गर्नुपर्छ भनेका थियौं । २८ वर्षपहिले सोच पुर्याएको भए अहिले काठमाडौं यस्तो हुँदैनथ्यो।

सहरमा आम नागरिकलाई चुस्त सेवा कसरी दिनुपर्छ भन्ने योजना राज्यले गर्नुपर्ने हो, तर हामीकहाँ यसबारे चिन्तन किन गरिएन ?
मचाहिँ ४६ सालपछिको राजनीतिक परिवर्तनलाई हेर्छु । त्यतिबेला ठ्याक्कै राजनीतिक परिवर्तन आयो । त्यसपछि आर्थिक क्षेत्र अलि खुला बन्दै गयो । सेवा सुविधा काठमाडौं केन्द्रित भए । देशभर नपाइने सेवा सुविधा काठमाडौंमै पाइन थाले, त्यसकारण पनि काठमाडौंमा मानिसको चाप बढ्दै गयो ।

सबैतिरका मानिसले काठमाडौ नै रोज्न थाले । काम गर्नेहरूको लागि पनि यही ठाउँ नै सहज बन्यो । त्यतिखेरलाई फर्केर हेर्ने हो भने, ल्यान्ड, खानेपानीको व्यवस्था, सरसफाइ, खाली ठाउँ कायम गर्नेलगायत यावत विषयमा कही कतै कडिकडाउ भएन । सबैले आफूखुसी काठमाडौंलाई उपभोग गर्न थाले ।

अझ माओवादी द्वन्द्वपछि त उपत्यकामा मानिसको चाप हवात्तै बढ्यो । उपत्यकाबाहिर असुरक्षा हुन थालेपछि मानिसहरू सुरक्षा खोज्दै काठमाडौंमा आए । यसले पनि काठमाडौंको भार बढायो।

सरकारको परम्परागत काम गर्ने ढर्रा र ढिलासुस्तीले नै सहर बिग्रिएको हो त ?
त्यो पनि हो । म त सोचमै समस्या छ भन्छु । अहिले म दुइटा परियोजनामा लागेको छु । एउटा चाबहिलको साँस्कृतिक नगरी र अर्को साँस्कृतिक पुर्नजागरणमा ।

यो प्रोजेक्टमा सहरको खास कुरालाई समेटेका छौं । यसमा केशरमलबाट निस्केको एउटा पर्यटक गार्डेन अफ ड्रिम हुँदै नक्साल आउँदा ७ घन्टासम्म उसलाई त्यहाँ अडाउन सकियोस् । पर्यटकलाई यहाँ रोक्न सकियो भने एक दिन अडाउन सकिन्छ । अहिले यसलाई गुरुयोजना बनाएर प्रारम्भिक काम सुरु गरिसकेका छौं । यस क्षेत्रमा सवारी नगुडाउने र स्थानीयले पनि अन्य नियम पालना गर्नुपर्छ । स्थानीयले पुरानो शैलीलाई पालना गर्नुपर्यो ।

हामीले त्यस क्षेत्रमा राजा मानदेवको पालाका केही अवषेशहरू पनि भेटाएका छौं । सहरको विकासमा बाटो ठिक्क राख्ने कि बाटो चौडा बनाउने भन्ने विषय पनि मैले उठाएको छु । यो विषयमा विवाद पनि हुन सक्छ ।

अहिले त हामीले हिजो पैदल हिडिरहेको मानिसलाई पनि मोटरसाइकल चढ्नुपर्छ भनेर उकासिरहेका छौं । यो राम्रो पक्ष होइन । किनभने बरु पैदल हिँड्ने र साइकल गुडाउने सडक व्यवस्थित पारेर अघि बढेको भए राम्रो हुन्थ्यो । तर, यस्ता क्षणिक र चरम सुखमा नागरिकलाई उचालेर सहरको विकास हुन्न।

काठमाडौं कस्तो सहर हो ?
काठमाडौं यस्तो सहर हो जहा हिँड्ने, संस्कृति बुझ्ने, साइकलमा सरर यात्रा गर्ने, ठाउँठाउँमा थकान मार्ने र रमाउने गर्ने ठाउँ प्रशस्त हुनैपर्ने हो ।

तर, यो अवस्था रहेन । सहरमा पैदल हिँड्न सक्ने अवस्था रहेन । बाटो ठूलो बनाउँदा पेटी राखिएको छैन । सवारीलाई मात्रै लक्षित गरेर सडक बनाइएको । यस्तै गतिले अघि बढ्ने हो भने अबको २०÷३० वर्षमा काठमाडौंमा सबैजसो ठाउँ सडकले नै खान्छ जस्तो लाग्छ ।

मुख्य त हाम्रो सोच र भिजन क्लियर भएन । हामीले यो ठाउँलाई गाडी र सडकको सहर बनाउन खोज्यौं । सहरको खास इतिहास र परम्परा जोगाउन खोजेनौं । अहिले स्मार्ट र मेगा सिटी भनेर हिँडिरहेका छौं । रेल र मेट्रोको सपना देखेको छौं । ठूला चिल्ला गाडी गुड्नुपर्छ भनेका छौं । के काठमाडौंको मौलिकता र परम्परागत संस्कृति यही हो त?

विकासका कामका होस पुर्याएको भए काठमाडौं कस्तो बन्थ्यो होला ?
यो ठाउँ मन्दिरै मन्दिरले बनेको छ । के हामीले यी कुरा बिर्सने ? मेरो विचारमा खत्तम भएका नदी, थुपै्र मान्छे साइकल र सडकमा हिँडेको, रिक्सामा हिँडेको, बसमै हिँडे पनि ठुल्ठूला इलेक्ट्रिक बसहरूमा हिडेको, जात्रा पर्वले घेरिएको दृश्य अहिले देख्न पाइन्थ्यो । मेरो परिकल्पना यस्तै छ ।

अझै पनि यस्तो बनाउन सकिन्छ । यस्तो बन्न सक्ने ठाउँहरू काठमाडौंमा धेरै छन् । जुन ठाउँमा पुराना बस्ती थिए, ती ठाउँलाई यस्तै रूप दिन सकिन्छ।

तपाई सानो छँदा काठमाडौं कस्तो थियो ?
सबैतिर खाली थियो । फुटबल ग्राउन्ड र पौडी खेल्ने ठाउँहरू धेरै थिए । सहरमा संरचना पनि कम थिए । गाउँ जस्तै थियो, ३५÷४० वर्षअघिको काठमाडौं।

सहरको मौलिकताभित्र के–के पर्छन् ?
सहरको संस्कृति र परम्परा पर्छ । जस्तै, हिजो सहरमा के–के थिए, के–के मासिए, अब तिनलाई फर्काउन के गर्ने भन्ने विषयमा सोच्न जरुरी छ ।

अहिले सुन्धारामा आर्मी क्याम्प भएको ठाउँ, खुला मञ्च र दशरथ रंगशालालाई जोडेर पनि ठूलो पार्क बनाउन सकिन्छ । अहिले कमलपोखरी क्षेत्रमा पनि त्यसलाई फराकिलो पार्ने काम भइरहेको छ । मैले सरकारलाई मात्रै दोष दिन्न । सबैले काठमाडौं भएन मात्रै भन्छन् ।तर, काम कसरी गर्ने थाहा छैन ।

तपाईँले मौलिक र रैथाने संस्कृतिको कुरा गर्नुभयो, राजा मानदेवको पालामा उपत्यकामा के थियो भन्नेबारे कुनै अध्ययन नै भएको छैन, मल्लकालीन संस्कृति पनि लोप हुने क्रममा छ, यसको बचाउ कसरी गर्ने ?
यसबारे टोली नै बनेको छ । तपाईँले भनेजस्तै सानो सानो संस्कृति खोज्ने, नक्साल, चाबहिल क्षेत्रका मन्दिर र विहारको इतिहास खोज्न थालिएको छ ।

नक्साल क्षेत्रमा गज्जबको पाटी बन्दै छ । पुरातत्व विभागले पनि अहिले यसमा चासो दिएको छ । अहिले बनेका मन्दिर र अन्य परम्परागत भवनमा मौलिकता छैन । पिलर, टायल र ढलानको प्रयोग हुन थालेको छ । यो सम्पदा र संस्कृतिमाथिको गम्भीर लापर्वाही हो । यसबारे कसले सोच्ने भन्ने विषय अन्योलमा छ । मेरो विचारमा यसबारे सोच्ने भनेको नगरपालिका नै हो । अर्को कुरा, हामीले समृद्धि र विकासका नारा ओकलिरहँदा आफ्नो जरो र किलो बिर्सिन हुँदैन ।

हाम्रा सहरमा के हुनुपर्ने थियो र के भइरहेको देख्नुहुन्छ ?
आजभन्दा २० वर्षपहिले एकजना मान्छेले काठमाडौंको एपमल्चर भनेर बाग्मती र विष्णुमतिको दोभानै दोभानमा भएको मन्दिर, त्यहाँभित्र रहेका दाहासंस्कार गर्ने घाट र चलनहरू समेटेर एउटा रिसर्च गरेको रहेछ ।

त्यसमा हामीले खोलामात्रै टिकाउन सक्यौं भने पनि त्यसले कति फाइदा गर्छ भन्ने कुरा रहेछ । त्यसले हाम्रो अगाडि र पछाडिको काठमाडौंलाई समेट्छ । अब काठमाडौंलाई यसरी सुधार्न सकिन्छ।

विश्वका अन्य सहरलाई हेरी नेपालमा सहरीकरणको अवस्था कस्तो छ ?
नेपालको सहरीकरण अत्यन्तै गलत छ । सहरमा भइरहेको विकासको काम अनियन्त्रित ढंगले भइरहेको छ । भोलिलाई हेरिएको छैन । खाली ठाउँ कहाँ राख्ने थाहा छैन । विदेशमा प्रत्येक विकासका काम गर्दा भोलि र सहरको भविष्यलाई हेरिएको छ । काठमाडौंको विकासको गर्नेले पहिले सोचेनन् ।

स्वास्थ्य मन्त्रालय पछाडिको धाप क्षेत्रमा अहिले भवन बनेका छन् । त्यसलाई खाली छाडेका छन् । हाम्रोमा विकास भनेको ठूलो घर हो, ठूलो बाटो हो भन्ने सोचको विकास भयो । सरकारी निकायमा रहेनेले पनि यही मात्रै देखे । अब अन्य सहर विकास गर्दा काठमाडौंले जस्तो गल्ती गर्नुहुन्न।

कुन–कुन देशका सहर घुम्नुभएको छ ?
म करिब ६०-७० देशका सहर घुमेको छु । विदेशका सहर आधुनिक शैलीमा विकास भइरहेका छन् । सहरको मौलिकतालाई भत्काइएको छैन । हाम्रोमा त्यसको उल्टो भइरहेको छ ।

सरकारले कसरी काम गर्यो भने काठमाडौं राम्रो बन्ला ?
सहरका जिम्मेवार हुनुपर्यो । सरकारी निकायमा रहनेले सहरको भविष्यबारे सोच विचार गर्नुप¥यो । सहरको यो कुरा कसरी बनेको हो र कसरी अस्तित्वमा आयो भन्ने हेर्नुपर्छ ।

उपत्यकाका धेरै ठाउँहरूमा अहिले चर्चहरु विस्तार भइरहेका छन्, सरकारी जग्गामा पनि हस्तक्षेप भइरहेको छ, यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ?
काठमाडौंमा चल्ने गरेका धार्मिक महायज्ञमा मैले यसबारे धेरै भन्ने गरेको छु । यहाँ सनातन परम्परासँग जोडिएका मान्छेहरूको दुःख र पीडाबारे सरकार वा अन्य निकायले ध्यान नदिनु नै गम्भीर कुरा हो । राज्यले गरिबलाई हेरेको भए चर्चहरू मौलाउने थिएनन् ।

विदेशीहरूबाट पैसा उठाएर ल्याएर गरिबलाई धर्म परिवर्तन गराउने थिएनन् । यसबारे ८-१० वर्षपछि विवाद आउन सक्छ।

तपार्इँलाई मनपर्ने सहर कुन हो ?
अहिलेसम्म वाह ! भनेर लाग्ने सहर भक्तपुर नै हो । त्यहाँ पुरानो कुरालाई जोगाएर विकास गरिएको छ । दरबारको गल्लीबाट छिरेपछि पुरानो आर्किटेक्ट र सहरमा भएको महसुस गराउने कुराहरू पनि छन् । जात्रा, पर्वले सहरलाई सुन्दर बनाएको छ, यी कुरा काठमाडौंले गुमायो।

उपत्यकाभित्र घुम्न गइरहने ठाउँ ?
निश्चित ठाउँ छैन । दोहोर्याएर जान मन लागेको ठाउँ नमोबुद्ध हो । ललितपुरका गाउँतिर पनि जान मन छ।

मन भएर पनि पुग्न नपाएको ठाउँ ?

चित्रमा देखिरहेको तर पुग्न नपाएको ठाउँ साउथ अफ्रिकाको केप टाउन हो । त्यहीँ जान मन छ ।

पछिल्लो समय घुमेको सहर ?

इटालीको भेनिस पुगेको थिएँ ।

उपत्यकाको मनपर्ने खानेकुरा ?
मलाई काठमाडाैंको पुरानो पसलको छोयला मिठो लाग्छ । मःमः पनि मिठो लाग्छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता…

तितोपाटी - सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई खारेज गर्ने…

तितोपाटी - नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिनादेखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा…

प्रतिकृयाहरू