Sunday 15th November 2026

अमेरिका जान लागेका १३ नेपाली नाइजेरियामा अलपत्र


तितोपाटी – पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् ।

दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा म्याग्दीका १३ सहित २३ जना नेपाली युवालाई बन्धक बनाएका थिए ।

नाइजेरियन दलालसँगै रहेका नेपाली दलालले समेत युवालाई होटलबाट बाहिर आउन नदिएको नाम उल्लेख नगरिदिन अनुरोध गर्दै ती युवाले जानकारी दिएका छन् ।

करीब २२ महिना अगाडि हवाई र पदैल यात्रा गरी नाइजेरिया पुगेका युवाले घरपरिवारमा सम्पर्क गरेपछि घटना सार्वजनिक भएको होटलमा रहेका युवाले पठाएको विवरणमा उल्लेख छ । बन्धक बनाइएका युवामध्ये भागेर बाहिर आएकाले दिएको सम्पर्क नम्बरमा जेम्स भन्ने नाम गरेका व्यक्तिले फोन उठाएर कुनै समस्या नभएको बताउने गरेको आफन्तको भनाइ छ ।

बन्धक बनाइएका युवा नाइजेरियाबाट अमेरिकातर्फ प्रस्थान गर्ने भएकाले पनि आफ्नो नामसहित पासपोर्टको विवरणसमेत सार्वजनिक नगर्न अनुरोध गरेका छन् । म्याग्दीबाट गएकामा अर्मनका युवा धेरै छन् । बेनी नगरपालिका र गाउँपालिकाका विभिन्न वडाका युवाको नाम पहिचान हुन सकेको छैन । अवैध मार्गबाट करीब रु ३५ लाख खर्च गरी अमेरिका पुग्ने युवालाई नेपाल, भारतलगायत देशका तस्करले तोकेको ठाउँमा मोटो रकम बुझाउनुपर्छ । सम्झौताअनुसार रकम बुझाउन नसक्नेलाई होटलमै बन्धक बनाएर राख्ने गरिएको छ ।

नेपालबाट पठाउने एजेण्टलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली एजेण्टलाई पक्राउ गरेपछि थप जानकारी लिने प्रयास भइरहेको परिवार स्रोतलाई उद्धृत गर्दैै अमेरिकामा रहेका एक म्याग्देलीले जानकारी दिए । उनले आफू पनि हिँडेर आएको बताउँदै बाटो जोखिमपूर्ण भए पनि नेपालीको आकर्षण नघटेको बताए ।

नेपालबाट ठाउँ ठाउँमा युवालाई मोलतोल गरी बिक्री गरेजस्तै गरी पैसा बुझाउनुपर्छ । नेपाल, भारत, थाइल्याण्डलगायतका देशमा नेपाली दलाल रहेका उनीहरुले बताएका छन् । पछिल्लो समय, बोलिभिया, पानामा र मेक्सिकोमा समेत नेपाली दलालले होटललगायतमा काम गर्ने गरी त्यहाँ पुगेर सेटिङ मिलाउने गरेका छन् ।

बन्धक बनाइएका युवाले विभिन्न अन्तर्राष्ट्रियस्तरका रेमिट् कम्पनीमार्फत परिवारबाट रकम मगाइरहेका छन् । भारत, ब्राजिल, इथोपिया, बोलिभिया, पेरू, इक्वेडर, पानामा हुँदै करीब १२ देशका समुद्र र जंगलको कठोर यात्रा पार गरी मेक्सिकोमा पुगेपछि तस्करले अन्तिम सेटिङ गरेबापत रकम माग्ने गर्छन् । हरेक वर्ष म्याग्दीबाट रु ५० लाखसम्म दलाललाई बुझाएर अमेरिका जाने युवाको संख्या अत्यधिक रहेको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं | जलवायु कूटनीति / नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा…

१० दिने चीन भ्रमणमा निस्कियो सांसदहरूको जम्बो टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमा विश्वकर्माले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)…

तेलअभिभ | १५ नोभेम्बर २०२६/ इजरायलका अर्थमन्त्री तथा धार्मिक जियोनिज्म पार्टीका नेता बेजालेल स्मोट्रिचले विपक्षी नेता गादी आइजेनकोटलाई प्रधानमन्त्री बेन्जामिन…

प्रतिकृयाहरू
...