Wednesday 17th June 2026

प्रचण्ड भन्छन् प्रदेश २ को सरकारमा नेकपा जाँदैन


तितोपाटी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भए पनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ को सरकारको नेतृत्व वा सरकारमा नहुने प्रष्ट पारे।

उनले वर्तमान अवस्थामा बहुदलीय व्यवस्थाअन्तर्गत प्रतिष्पर्धात्मक निर्वाचनमा गएर सरकार निर्माण भएकाले तत्काल कार्यकारी राष्ट्रपति प्रणालीमा जाने सम्भावना नरहेको बताए।

आगामी निर्वाचनमा यस सम्बन्धमा जनताको अभिमत बुझेर नै निर्णय गरिने धारणा उनले व्यक्त गरे।

उनले माओवादी द्वन्द्वमा पीडित भएकाको समस्या समाधान सत्यनिरुपण आयोगले सुस्तगतिमा काम गरेकाले र अझै धेरै काम गर्न बाँकी रहेकाले आयोगको म्याद थप्ने विषयमा छलफल भइरहेको उल्लेख गरे।

एक प्रश्नको जवाफमा उनले निर्माण व्यवसायीले तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने व्यवसायीलाई राज्यले कारवाही गर्ने बताउँदै यस सम्बन्धमा सञ्चार माध्यममा आएजस्तो कुनै कार्य आफूबाट नभएको स्पष्ट पारे।

अध्यक्ष दाहालले जिम्मेवारी लिइसकेपछि तोकिएको समयमा काम पुरा गर्नु निर्माण व्यवसायीको पनि दायित्व हो भन्दै गुणस्तरहीन काम गर्ने व्यवसायीलाई कारवाही गर्ने विषयमा मन्त्री वा कसैलाई रोक्न कुनै दबाब नदिएको स्पष्ट पारे।

उनले जनताको चाहनाअनुसार मुलुकमा संघीयता कायम भएकाले तीन तहको सरकार निर्माण भइसकेकाले अबको एजेण्डा भनेको मुलुकमा सुशासन र आर्थिक समृद्धि भएको उल्लेख गरे।

अध्यक्ष दाहालले संघीयता मुलुकका लागि पहिलो अभ्यास भएकाले र सोहीअनुसार कर्मचारी र जनप्रतिनिधिलाई काम गर्न केही असहज भए पनि निकट भविष्यमा सो समस्या समाधान हुने विश्वास व्यक्त गरे।

उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले समायोजनका लागि बाध्य भएर सरकारले नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको स्पष्ट पारे।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...