Sunday 9th August 2026

कतारको रूस सँगको सम्बन्धबाट साउदी अरेविया रिसायो


तितोपाटी – रूसी एस-४०० हवाई रक्षा प्रणालीलाई भित्र्याएमा कतारविरुद्ध सैन्य कारबाही गरिने साउदी अरेबियाले चेतावनी दिएको फ्रान्सेली पत्रिका ल मोँद दैनिकले जनाएको छ ।साउदी अरेबियाले कतारले खरिद गर्न लागेको भनिएको एस-४०० बारे फ्रान्सेली राष्ट्रपति एमानुयल म्याक्रोँलाई जानकारी गराएको र यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । हतियार खरिदका लागि निकट समयमा हुन लागेको सम्झौता अवरुद्ध गर्न पनि साउदीले फ्रान्सलाई गुहारेको छ । क्षेत्रीय स्थायित्वका लागि कतारले हतियार किन्न नहुने भन्दै साउदीले फ्रान्सेली राष्ट्रपतिलाई सहयोग गर्न भनेको गोप्य सूचनालाई उद्धृत गर्दै उक्त दैनिकले लेखेको छ ।

यस समाचार रिपोर्टप्रति फ्रान्सको राष्ट्रपतिको कार्यालयका साथै विदेश मन्त्रालयबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । खाडी क्षेत्रका शक्तिराष्ट्रहरू बहराइन, संयुक्त अरब इमिरेट्सलगायतको सहयोगमा साउदी अरेबियाले इरानमाथि नाकाबन्दी लगाउँदै आएको छ । खाडीमा उदीयमान मुलुक कतारसँग साउदी र यसका पक्षधर मुलुकहरू उसलाई कमजोर पार्न चाहन्छन् । उनीहरूले इस्लामिक समूह तथा इरानसँग निकट भएको आरोपमा कतारसँगको सम्बन्धलाई गत वर्षको जुनदेखि विच्छेद गरेको घोषणा गरेका छ ।

इरानलाई रियादको क्षेत्रीय प्रतिस्पर्धीका रूपमा हेरिने गर्छ । आफूमाथि लागेको आरोपको कतारले खण्डन गर्दै आएको छ । उसले आफूमाथि लगाइएको आर्थिक नाकाबन्दी अन्यायपूर्ण भएको बताउँदै आएको छ । गत सातादेखि कतार साउदी र अरब इमिरेट्सका सामान बजारबाट हटाउन आदेश दिइसकेको छ । उसले त्यस्ता सामान नहटाउने पसलमाथि कडा कारबाही गर्ने पनि घोषणा गरेको छ ।

खाडी मुलुकहरूले एक्लाइरहेका बेला कतारले रूस लगायतका नयाँ सहयोगीको खोजी गरेको छ । कतारले यही वर्षको जनवरीमा मस्कोसँग अत्याधुनिक एस-४०० हतियार प्रणालीका विषयमा छलफल चलिरहेको बताएको थियो । त्यतिबेला छलफल निकै अघि बढिसकेको बताइएको थियो ।

फ्रान्सेली दैनिक ल मोँदले भनेको छ, ‘साउदी राजा सलमानले हतियार खरिदबारे गहिरो चासो व्यक्त गर्दै फ्रान्सेली राष्ट्रपतिलाई लेखेको पत्रमा यसले क्षेत्रीय द्वन्द्वलाई बढाउने खतरा रहेको चेतावनी दिइएको छ ।’ पत्रमा साउदी अरेबियाले उक्त हतियार प्रणालीलाई नष्ट गर्न जुनकुनै उपाय अवलम्बन गर्ने र कतारविरुद्ध सैन्य कारबाही गर्न तयार हुने बताएको पत्रिकामा उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा, इरान र क्षेत्रीय सुरक्षाबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो नेतृत्वमा प्यालेस्टिनी राज्य स्थापना…

आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक…

नेपालमा नाबालिगको डिम्ब (अण्डाणु) संकलन तथा किनबेचसँग सम्बन्धित प्रकरणले नयाँ मोड लिएको छ। ललितपुरस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिगको डिम्ब…

प्रतिकृयाहरू
...