Friday 20th March 2026

सुन तस्करी र हत्या मुद्दामा फरार एसएसपी श्याम खत्रीले गर अात्मसमर्पण, अदालतद्वारा बयान सुरू


तितोपाटी – साढे ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीको बयान जिल्ला अदालत मोरङमा लिन सुरु गरिएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनको बयान जारी छ ।

उनको बयान सकिएपछि सरकारी वकिलका तर्फबाट थुनछेकको बहस हुनेछ । त्यसपछि खत्रीका कानुन व्यवसायीले बहस गर्नेछन् । खत्रीका तर्फबाट बहस गर्न अधिवक्ताहरु हेमराज पन्त र मदनकुमार पन्तले वकालतनामा दर्ता गराएका छन् ।

यो प्रकरणमा मुछिएपछि फरार रहेका खत्रीले अदालतमा बिहीबार बिहान आत्मसमर्पण गरेका थिए । उनी फरार भएपछि प्रहरी प्रधान कार्यालयले खोजीका लागि सर्कुलर जारी गरेको थियो । पारिवारिक स्रोतका अनुसार खत्री भारतको देहरादुनमा बसिरहेका थिए । सुनकै मुद्दामा काठमाडौंमा जारी अर्को मुद्दाको तारेख जेठ २४ गते परेकाले उनी आएको स्रोतले बताएको छ ।

एसएसपी खत्री २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए । २०७३ चैत ४ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

यो मुद्दामा पूर्व डिआइजी गोविन्दप्रसाद निरौलासहित यो मुद्दाका २८ प्रतिवादीलाई यसअघि नै अदालतले थुनामा राखी पुर्पक्ष गर्न आदेश दिइसकेको छ । उनीहरुलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा राखिएको छ ।

त्यसबेला प्रहरी नियन्त्रणमा रहेका ३० प्रतिवादीमध्ये एसएसपी खत्रीको चालक रहेका प्रहरी जवान बिष्णुबहादुर खड्कालाई उनलाई जिल्ला अदालतले १५ हजार रुपैयाँ धरौटीमा रिहा गरिसकेको छ । खत्रीका अंगरक्षक अम्मरबहादुर थापालाई साधारण तारेखमा रिहा गरिएको थियो ।
जिल्ला न्यायाधिवक्ताको कार्यालय मोरङले बैशाख १९ गते १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै खत्रीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।

यो प्रकरणका योजनाकार भनिएका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमतोमा हुने गरेको बयानमा बताएका थिए । आफू सुन तस्करीमा सहयोग गर्ने तल्लो तहको मानिस भएको भन्दै गोरेले आफूभन्दा माथिल्लो तहका सुन तस्करीका नाइके, प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका ठूला नेता पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुने बयानमा उल्लेख गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...