तितोपाटी – पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो। नाकको नजीकै अनुहारको हड्डिहरूको भित्र नम हावाको रिक्त स्थान हो, जसलाई ‘वायुविवर’ अथवा साइनस (sinus) भन्छन्। साइनसमा पातलो झिल्लीको तह हुन्छ। जब कुनै व्यक्तिलाई रूघा तथा एलर्जी हुन्छ साइनसमा सिँगान भरिन्छ र सुन्निन्छ। साइनसको निकास माध्यम अवरुद्ध हुन्छ अनि सिँगान यहीँ भित्र थुनिन सक्छ।जहाँब्याक्टेरिया एवं भाइरस विकसित हुन सक्छ र अन्ततोगत्त्वा पिनास हुन सक्छ।
साइनोसाइटिस भनेको साइनस(:en:Sinus|Sinus) हरूको इन्फ्लामेसन हो। साइनस भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरूमा हुने हावा भरिएका खाली भागहरूहुन् जो ससाना प्वालहरू ओस्टियमको माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएकाहुन्छन्। यस्ता साइनसहरू चार प्रकारका हुन्छन्। फ्रन्टल साइनस(निधारमा), म्याक्जिलरी साइनस(दुवैतिर गालाको भित्र), इथमोइडल साइनस(आँखाहरूको बीचमा), स्फेनोइडलसाइनस( इथमोइडल साइनसको भित्रपट्टि)। यिनीहरूलाईसमग्रमा पारानेजल साइनसेस पनि भनिन्छ।
पिनासको कारण
पिनासले जाडो मौसममा धेरै दुःख दिन्छ। रुघाखोकी लाग्दा केही पनि नभएकोभनी लापरबाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धूलो-धूवाँ, नाकमा हुने संक्रमण, विभिन्न किसिमका नाकका एलर्जीहरू, नाकभित्रको हड्डी बाङ्गिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका कारण हुन सक्छन् ।
मौसम परिवर्तन हुने क्रममा वातवरणमा रुघाखोकीका भाइरस बढी सक्रिय हुन्छन्, त्यसकारण जाडोमा रुघा धेरै लाग्छ । जब वातवरणमा रुघा लगाउने किटाणु ज्यादा हुन्छन् तब ती नाकका प्वाल हुँदै साइनस (खोपिल्टो) सम्म पुग्छन्। कसैलाई रुघा लागिरहने एलर्जी छ र पटक–पटक रुघा लागिरहन्छ भने उसलाई पिनास हुन्छ। वातवरणाीय एलर्जीले पनि रुघा लागिरहने हुन्छ र पछि गएर पिनास बन्छ।
पिनास हुने दोस्रो कारण हो, रोगसँग लड्ने शरीरको प्रतिरक्षा क्षमता कमजोर हुनु। यस्तो क्षमता कमजोर भएका व्यक्तिलाई रुघा लागिसकेपछि चाँडै निको हुँदैन। यस्ता बिरामीलाई एन्टिबायोटिकले पनि सजिलै काम गर्दैन र रुघाखोकी लम्बिएर संक्रमण साइनससम्म पुग्छ। यस्तो अवस्थामा पिनास हुन्छ।
पिनास हुने तेस्रो कारण हो, नाकको हड्डी बांगो हुनु। नाकको डाँडी लामो भएका व्यक्तिहरूको नाकको हड्डी बांगो हुन्छ। यस्तो हड्डी जतापट्टि बांगो भएको हो, त्यतापट्टि नाकको प्वाल सानो हुन्छ। यस्तो प्वालबाट हावा आवतजावत राम्रो हुन सकेन भने किटाणु प्रवेश गर्छन्। यस्तो अवस्थामा पनि साइनसमा संक्रमण भइ पिनास हुन्छ।
पिनासका लक्षणहरू
– टाउको दुख्ने
– अनुहारका भागहरू दुख्ने
– नाक बन्द हुने
– नाकबाट बाक्लो सिंगान बग्ने
– मुखबाट खकार आउने
– खोकी लागिरहने
– नाकले कुनै बास्ना÷गन्ध थाहा नपाउने
पिनासको उपचार
पिनासको उपचार प्रायः सबै अस्पतालहरूमा हुन्छ । नेपालको हकमा पिनासको उपचार निजी तथा सरकारी सबै अस्पतालमा हुन्छ। काठमाडौंमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, निजी मेडिकल कलेज तथा अस्पतालमा यसको शल्यक्रिया हुन्छ।
कतिपय अवस्थामा एन्टिबायोटिक औषधिको प्रयोगले पनि पिनास निको हुन्छ तर रुघाखोकी लाग्यो भन्दैमा आफूखुसी औषधि सेवन गर्नु भने उचित नहुने चिकित्सकहरू बताउँछन्। एन्टिबोयोटिकले निको नभएपछि मात्र नाकको हड्डी शल्यक्रिया गरिन्छ। एलर्जी समस्या भएका बिरामीले भने चिकित्सकको सिफारिसमा लामो समय औषधि खानुपर्छ। सँगसँगै आफूलाई कुन कुराले एलर्जी हुन्छ त्यो पत्ता लगाएर त्यसबाट बच्नुपर्छ।
चिकित्सकहरूका अनुसार नाकको हड्डी बांगो भएका कारणले पिनास भएको हो भने त्यसको शल्यक्रिया गर्न सकिन्छ। शरीरको रोग प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूले भने चिकित्सकको सल्लाहमा केही बढी समय नियमित एन्टिबायोटिक सेवन गरेर पिनास निको पार्न सकिन्छ।
रोगसँग लड्ने शरीरको प्रतिरक्षा क्षमता कमजोर भएकालाई बढी रुघा लाग्छ। प्रतिरक्षा बलियो भएकालाई कम लाग्छ। बारम्बार रुघा लागेपछि पिपमा परिणत भएर प्वालमा भरिन्छ। टाउको दुख्ने, नाक बन्द हुने, नाकबाट बाग्लो सिंगान बग्ने, मुखबाट खकार निस्कने, अनुहार दुख्ने, खोकी लागिरहने, नाकले केही थाहा नपाउने जस्ता लक्षण देखिन्छन्।
समयमै पिनासको उपचार नभए यसले जटिल रूप लिने चिकित्सकहरू बताउँछन्। नाकको बाटो हुँदै पिनासको पिप मस्तिष्कमा पुग्न सक्छ। मस्तिष्कमा पिप जम्यो भने ब्रेन एक्सिस (मस्तिष्कमा संक्रमण) र मेनेन्जाइटिस हुन्छ। साथै निमोनिया हुने, आँखामा खराबी आउने, साइनस मक्किने समेत हुन्छ।