Sunday 22nd March 2026

कतारमा नेपालीहरू लागु अाैषध कारोवारको भरिया


तितोपाटी – राजकुमार चौधरी २०१७ सेप्टेम्बर ७ देखि कतारको केन्द्रीय कारागारमा छन् । कतारी अदालतको आदेशअनुसार उनी १५ वर्ष जेल बस्नुपर्नेछ भने भने ३ लाख रियाल (झन्डै ९० लाख रुपैयाँ) जरिवाना बुझाएपछि मात्रै जेलबाट निस्कन सक्नेछन् । अदालतले चौधरी लागूऔषध तस्करीमा संलग्न भन्दै जेल पठाएको हो ।

कतारको केन्द्रीय कारागारमा रहेका नेपालीमध्ये सबभन्दा बढी जेल सजाय पाउने चौधरी नै हुन् । तर, लागूऔषधमा सजाय पाएका भने उनी मात्र होइनन् । कतारी जेलमा लागूऔषधको मुद्दासँग सम्बन्धित नेपाली मात्रै ३० जना छन् । ‘सबभन्दा धेरै नेपाली लागूऔषधसँग जोडिएका मुद्दामा जेल छन्,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘उनीहरू सबैको मुद्दा फैसला भइसकेको छ ।’ त्यस्ता मुद्दामा अनुसन्धानकै क्रममा रहेका नेपाली अन्य जेलमा पनि छन् ।

अदालतले लागूऔषध तस्करीसँग जोडिएकालाई ठूलो सजाय सुनाएको छ भने सेवनकर्तालाई कम । लागूऔषधकै मुद्दामा अभय लामाले १० वर्ष जेल र ४ लाख रियाल जरिवाना, वीरेन्द्र थापाले १० वर्ष जेल र दुई लाख रियाल जरिवाना, सन्तोष थापाले १० वर्ष जेल र ६ लाख रियाल जरिवाना, मुमबहादुर गुरुङले ७ वर्ष जेल र दुई लाख रियाल जरिवाना सजाय पाएका छन् ।

त्यस्तै, चन्दन कुमारले तीन वर्ष जेल र दुई लाख जरिवाना, रमेश मर्सेनीले तीन वर्ष जेल र दुई लाख जरिवाना, मिंनगर सेराले ७ वर्ष ६ महिना जेल र तीन हजार रियाल जरिवाना, जितेन्द्रकुमार साहले ५ वर्ष जेल र २ लाख रियाल जरिवाना, ताजु मियाँले तीन वर्ष जेल र दुई लाख रियाल जरिवाना, सुनील काफ्लेले ५ वर्ष जेल र दुई लाख जरिवाना, मोतीलाल ऋषि डिओले तीन वर्ष जेल र दुई लाख रियाल जरिवाना तिर्नुपर्ने सजाय पाएका छन् ।

कतारी अधिकारीले नेपालीलाई विभिन्न आपराधिक गिरोहले प्रयोग गर्न थालेको भन्दै नेपाली दूतावाससमक्ष चासो पनि व्यक्त गरेका छन् । ‘कतारका उच्च प्रहरी अधिकारीले लागूऔषध प्रयोग र बेचबिखनमा नेपाली कामदार प्रयोग भइरहेको प्रति चिन्ता जनाएका छन्,’ राजदूत कोइरालाले भने, ‘कतारमा नेपालीको छुट्टै छवि छ । नेपालीको इमानदारीको ब्रान्ड छ । तर, केही प्रलोभनमा परेर कतारी कानुनको फन्दामा पर्न थालेका छन् ।’

कतारमा दुई दशकदेखि कार्यरत सागर नेपाल नेपालीहरू भरियाका रूपमा प्रयोग भइरहेको प्रति चिन्ता व्यक्त गर्छन् । ‘यहाँको कडा कानुनबारे हामीले प्रचारप्रसार गर्दै आएका छौं । एक पटक त अभियान पनि गरेका थियौं ।

केही लागूऔषध कारोबार गर्नेले नेपालीलाई प्रयोग गर्दा सुरक्षित भइन्छ भनेर नेपालीलाई नै रोज्न थालेको स्थिति छ,’ नेपालले भने, ‘यसबारे कतारी निकायहरू पनि जानकार छन् ।’ लागूऔषध कारोबारमा कतारको कानुन कडा छ । मृत्युदण्डसम्मको सजाय दिने कानुनी व्यवस्था छ । ‘नेपालबाट आउँदा नै चेतना जगाउनुपर्ने अवस्था छ,’ राजदूत कोइरालाले भने, ‘कानुनको फन्दामा पर्नुअघि नै सचेत भए नेपाली जेल जानुपर्ने अवस्था आउने थिएन । नेपालीको प्रतिष्ठामा पनि दाग लाग्ने थिएन ।’

 

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...