पहिले सबै जातीले सेतो टिका लगाउँथे
तितोपाटी – दशैं भन्नेबित्तिकै विशेष त्यही दिनको झल्को आउँछ, जुन दिन हामीले निधारभरि टिका लगाएर आशिर्वाद लिन्छौं । अग्रजको हातबाट चामलको अक्षता निधारमा लगाएर आशिर्वाद लिएपछि बल्ल दसैंले सार्थकता पाउको महसुस गर्छौं ।
खास किन लगाइन्छ त दसैंमा टीका ? त्यसको महत्व समृद्धि, शक्ति र युद्धसँग जोडिएको संस्कृतिविद प्रोफेसर डाक्टर जगमान गुरुङ बताउँछन् । ‘क्षत भनेको नाश हो, अक्षत भनेको नाश नहुने, यही नाश नहुने अन्नका रूपमा चामललाई अक्षता भनेर टीका लगाउन थालिएको हो ।’
अक्षता धानको चामलको हुन्छ । संस्कृतमा धन्य र नेपाली भनिने धान अन्नमध्येको उच्चकोटीको अन्नको रुपमा मानिने वरिष्ठ संस्कृतिविद गुरुङको भनाइ छ । उर्भर अन्न प्राणलाई धान्ने प्राणेश्वरका रुपमा चामललाई लिइन्छ । प्राणेश्वर अर्थात चामलको भात भोजन गर्नुभन्दा पहिले निधारमा लगाउने चलन सुरु भएको गुरुङको दाबी छ । यसले कृषि र समृद्धिसँग जोड्ने काम गरेको उनी बताउँछन् ।
दसैं र दसैंको अक्षता युद्ध परम्परासँग पनि जोडिएको गुरुङको तर्क छ । शरद ऋतु सुरु भएसँगै खेतबारीबाट विश्राम लिएर किसानहरुले हातहतियार सफाइ गर्ने र धार लगाएर राख्ने चलन छ । अझै पनि नवरात्रीमा हातहतियार पूजा गर्ने चलन छ ।
किन त ? ‘खेतबारीबाट काम मुक्त भएर हातहतियार सफा गर्ने, साँध लगाउने, पूजा गरेर दशमीको दिन हातहतियार अभिषेक गरेपछि निधारमा दहीमा मुछेको चामलको टीका लगाए हर्षबढाइँ गर्दै युद्धको अभ्यासमा निक्लने चलन थियो,’ डा. गुरुङ भन्छन्, ‘दसैं युद्ध परम्परासँग जोडिएको पर्व हो ।’ दसैंमा पुजिने दुर्गा एक शक्तिको प्रतीक भएको गुरुङ बताउँछन् ।
साँस्कृतिक पर्व दसैंमा लगाइने टीका भने फरक-फरक हुन्छ । अहिले पनि एकाथरिले रातो टीका निधारभरि लगाउँछन् भने अर्काथरीले सेतो । गुरुङ, मगर, राई, लिम्बू, तामाङ, नेवार लगायत जनजातिले सेतो टीका लगाउँछन् भने खसआर्यले रातो टीका । यसमा संस्कृतिविदहरुको फरक-फरक धारणा पाइन्छ । तर, वरिष्ठ संस्कृतिविद जगमान गुरुङ भने अहिले आएर रातो र सेतो भनेर विवाद गर्नु बेकारको कुरा भएको बताउँछन् ।
पहिलेपहिले सबैले दही र चामल मुछेर सेतै टीका लगाउने गरेको डा. गुरुङको तर्क छ । ‘पहिले कहाँ पाउनु अबीर, उत्पादनै हुँदैनथ्यो । सबैले सेतै टीका लगाउने हो,’ संस्कृतिविद् जगमानले भने, ‘रातो टीका लगाउन थालिसकेका जनजाती पनि आफ्नो पहिचान भन्दै सेतोमै फर्केका छन् । वास्तवमा, जनजाती मात्र होइन, खसआर्यले लगाउने भनेको पनि सेतै टीका हो ।’
पछि यातायातको सुविधा भएपछि बल्ल अबीरको प्रयोग हुन थालेको उनको भनाइ छ । रातोलाई विजयीको प्रतीकका रुपमा टीका लगाउने गरिन्छ ।
‘विवाहमा बाध्य भएर धेरै दिन लगाएर भए पनि अबीर लिन जाने तर मितब्ययिताको आधारमा बाँच्ने बाहुन ४ पैसाको लिन धेरै दिन लगाएर जान सक्दैनथ्यो,’ उनले भने, ‘त्यसैले आˆनै ठेकीको दही र आफ्नो घरको चामल मुछेर टीका लगाउने हो ।’
पहिले नेवारले मात्रै रातो टीका लगाउने उनको तर्क छ । मुख्य बजार एरियामा अबिर बेच्ने नेवारले मात्र रातो टीका लगाउने गरेको गुरुङ बताउँछन् । अहिले आएर टीकाको सन्दर्भमा उल्टो भइरहेको उनलाई लागेको छ ।
अहिले आएर दसैंको टीकासम्बन्धी अपव्याख्या भएको गुरुङले बताए । ‘गुरुङ, मगर, राई, लिम्बू, तामाङ, थारुले रातो भनेको छ बाहुनको हो हाम्रो त सेता टीका भनिरहेका छन् । कि चाहिँ दसैं मान्नै हुँदैन नत्र हामीले सेतो टीका लगाउनुपर्छ भन्छन् उनीहरु,’ गुरुङले भने, ‘गुरुङले हामी त वुद्धिष्ट भन्छ । गुरुङले बुद्धिष्ट भनेर जानेकेा कति वर्ष भयो होला ? १ सय वर्ष पनि पुगेकेा छैन ।’
रातो हाम्रो होइन, हाम्रो टीका त सेतो हो भन्नु जनजातीले गरेको अपव्याख्या भएको उनको तर्क छ । गुरुङ, मगर, राई, लिम्बू, तामाङहरुले हाम्रो रातो होइन भन्नुभन्दा पहिले आफ्नो चलन हेर्नुपर्ने उनको भनाइ छ ।
‘अयँर-भयँर पुज्दा होस् या देउराली पुज्दा परेवा, कुखुरा, भेडो वा बोका जेसुकै काटे पनि थानको ढुंगामा पर्सिने चलन छ,’ गुरुङले भने, ‘भोग दिएको टाउकोको रगत थाल वा टपरीमा राखेको अक्षतामा मुछेर टीका लगाउने हो ।’
जसले रगतमा मुछेको टीका लगाउँछ उसैले रातो त हाम्रो होइन भन्न नमिल्ने उनको तर्क छ । यो संस्कृति नबुझेको जस्तो भएको गुरुङको भनाइ छ । अहिलेसम्म पनि त्यो चलन यथावत रहेको गुरुङ बताउँछन् ।
बाहुन त काटमार नै नगर्ने जात भएको संस्कृतिविद डा. गुरुङको भनाइ छ । ‘बाहुन काटमार गर्ने जातै होइन । क्षेत्री, गुरुङ, मगर, राइ, लिम्बुहरु लडाकु जाति हुन् । उनीहरुले दुश्मनलाई पछारेर, दुश्मनको छातीमा घुँडाले टेकेर, कम्मरको कर्दले काटेर रगतको टीका लगाउने जात हो,’ डा. गुरुङले भने । त्यसैले उनीहरुले रातो टीका हाम्रो होइन भन्नु भनेको संस्कृतिको अपब्याख्या भएको गुरुङको निश्कर्ष छ ।
बाहुन क्षेत्रीले पनि रातो टीका लगाउन थालेकाे धेरै वर्ष नभएको गुरुङले बताए । बिस्तारै बजारको पहुँच र भारतीयको प्रभावले विजयको प्रतीकको रुपमा सबैले रातो टीका लगाउने प्रचलन बढेको गुरुङको भनाइ छ । दसैं कुनै जात विशेषको पर्व नभएर सबै जातको सांस्कृतिक पर्व भएको उनको भनाइ छ ।
-अनलाइनखबरबाट