Thursday 3rd September 2026

संचार उद्यमी हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा निधन


तितोपाटी – नेपालमा व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ। छातीमा असजिलो भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएका ज्ञवालीको उपचारका क्रममा निधन भएको हो।

चिकित्सकहरूले ज्ञवालीको माइल्ड अट्याकबाट निधन भएको जनाएका छन्। नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष ज्ञवाली कान्तिपुर पब्लिकेसनको पनि संस्थापक अध्यक्ष थिए। २०४७ को संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेन्टी गरेसँगै ज्ञवालीसहितको टोलीले २०४९ फागुन ७ गते कान्तिपुर पत्रिका प्रकाशन सुरु गरेको थियो । यसमा ज्ञवालीको महत्वपूर्ण योगदान थियो।

कान्तिपुर पत्रिका प्रकाशनसँगै नेपाली पत्रकारितामा नयाँ युग सुरु भएको हो। ज्ञवालीले २०४६ को राजनीतिक परिवर्तनपछि निजी क्षेत्रबाट कान्तिपुर पत्रिका प्रकाशन सुरु गरेर व्यावसायिक पत्रकारिताको थालनी गरेका थिए। उनी २०६२/०६३ को जनआन्दोलनपछि स्थापित अर्को सञ्चार गृह नेपाल रिपब्लिक मिडियाको संस्थापक अध्यक्ष बनेका थिए। रिपब्लिक मिडियालाई अघि बढाउन पनि उनको अतुलनीय योगदान रह्यो। निजी क्षेत्रबाट ठूलो लगानीमा पत्रिका प्रकाशनसँगै नेपाली पत्रकारिताले व्यावसायिक स्वरूप ग्रहण गरेको हो।

ज्ञवालीलाई नेपाली सञ्चार क्षेत्रका उद्यमी एवं पत्रकारले श्रद्धापूर्वक सम्झन्छन्। ज्ञवालीलाई नेपालमा व्यावसायिक पत्रकारिताको माहोल सिर्जना गर्ने एक कुशल व्यस्थापक र नेतृत्वकर्ताका रुपमा चिन्छन्। मुलुकमा मिसन पत्रकारिता चलिरहेका बेला त्यसलाई कसरी व्यावसायिक बनाउन सकिन्छ भन्नेमा ज्ञवालीको चिन्तनका कारण मिसन पत्रकारितापछि व्यावसायिक पत्रकारितालाई संस्थागत गर्न उनको भूमिका उल्लेखनीय छ।

ज्ञवाली लेख्ने/बोल्ने बौद्धिक व्यक्तित्व थिए । उनको निधन नेपाली समाजका लागि अपूरणीय क्षति हो। नेपालको व्यावसायिक पत्रकारिताका माध्यमबाट ज्ञवालीले नेपाली समाज परिवर्तनका लागि विशिष्ट योगदान पु-याएको स्मरण गरे। नेपाली समाज परिवर्तनका लागि संस्थागत रूपमा पत्रिका प्रकाशनको सुरुवात गर्न हेमराज ज्ञवालीको विशिष्ट योगदान छ। ‘नेपालमा व्यावसायिक पत्रकारिताको सुरुवात त्यतिबेलाबाट भएको हो। यसमा ज्ञवालीले पुर्याएको योगदान अतुलनीय छ।

संस्कृत भाषा उन्नयनका क्षेत्रमा ज्ञवालीको योगदान उल्लेखनीय रहेको थियो । ज्ञवाली जयतु संस्कृतम्को स्वर्ण महोत्सव २०५४ का बेला संस्थाको कोषाध्यक्ष थिए। श्रीभद्र शर्माको निधनपछि ज्ञवाली सो संस्थाको अध्यक्ष भएका थिए भने, ‘चारवर्षे कार्यकालमा उनले जयतु संस्कृतम्को अक्षयकोष वृद्धि गर्नुका साथै राष्ट्रियस्तरको संस्कृत सम्मेलन आयोजना गरेका थिए ।

भुवनेश्वर र पूर्णकुमारीका कोखबाट १९९५ साल चैत १७ गते रामनवमीका दिन गुल्मी जिल्लाको मानकोटमा जन्मिएका ज्ञवालीले वाराणसेय संस्कृत विश्वविद्यालयबाट शास्त्री र त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका थिए। २०१७ देखि सरकारी सेवामा प्रवेश गरेका ज्ञवालीले २०४४ सम्म तत्कालीन श्री ५ को सरकारको सेवामा प्रमुख जिल्ला अधिकारी, महानिर्देशक र सहसचिव जस्ता पदमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए।

अध्यात्म र सनातन धर्मप्रति आस्थावान् ज्ञवालीका भन्सार प्रशासन एक विवेचना, योगवाशिष्ठसार, माण्डूक्योपनिषद्, पुष्पाञ्जलि, पौरखी पुर्खा र मेरो जीवनका पानाहरू, हाम्रो बद्री केदार यात्रा, हनुमान स्मृतिसहित दर्जन बढी कृति प्रकाशित छन्। कला, साहित्य, संस्कृतिसहितका विषयमा निरन्तर कलम चलाउँदै आएका ज्ञवालीले विभिन्न धर्मग्रन्थको नेपालीमा अनुवाद गरेका छन्।

उनका धर्मपत्नी लग्क्ष्मी र तीन छोरा विनोदराज ज्ञवाली, अच्युतराज ज्ञवाली र धु्रवराज ज्ञवाली छन्।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

प्रतिकृयाहरू
...