Saturday 31st October 2026

कुवेतमा बङ्गलादेशीद्वारा सुरक्षा गार्डको हत्या


कुवेतको मुत्ला क्षेत्रमा निर्माणाधीन भवनको सुरक्षा जिम्मेवारी सम्हालिरहेका एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। कुवेतको गृह मन्त्रालयका अनुसार घटनाको सूचना प्राप्त भएको २४ घण्टा नबित्दै प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएको हो।

अरब टाइम्सका अनुसार गत शुक्रबार, अक्टोबर ३० को बिहान निर्माणस्थलको छतमा सुरक्षा गार्डको शव फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। त्यसपछि आपराधिक अनुसन्धान विभागअन्तर्गत जाह्रा अनुसन्धान शाखा र सार्वजनिक सुरक्षा क्षेत्रका अधिकारीहरू घटनास्थल पुगेर अनुसन्धान तथा प्रमाण सङ्कलनमा जुटेका थिए।

प्रहरी अनुसन्धानका क्रममा मृतकभन्दा एक दिनअघि मात्रै सोही निर्माणस्थलमा सुरक्षा गार्डको कामबाट हटाइएका पूर्वकर्मचारीमाथि शङ्का उत्पन्न भएको थियो। उनी बङ्गलादेशी नागरिक रहेको र मृतकले उनको ठाउँमा काम गर्न थालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका अनुसार आरोपित व्यक्ति आफ्नो भिसाको म्याद सकिएको विषयमा पक्राउ पुर्जी जारी भएपछि शार्क प्रहरी चौकीमा आफैँ उपस्थित भएका थिए। अनुसन्धानबाट उनी हत्यामा संलग्नता खुल्नुअघि नै देशनिकाला हुन खोजिरहेको आशङ्का गरिएको छ।

सोधपुछका क्रममा उनले कामको स्थानमा आफूलाई विस्थापित गरेका मृतकसँग विवाद भएपछि काठको टुक्रा र चक्कु प्रयोग गरी आक्रमण गरेको स्वीकार गरेको मन्त्रालयले जनाएको छ।

पक्राउ परेका आरोपितलाई हिरासतमा राखेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको कुवेतको गृह मन्त्रालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

कुवेतको मुत्ला क्षेत्रमा निर्माणाधीन भवनको सुरक्षा जिम्मेवारी सम्हालिरहेका एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। कुवेतको…

प्रतिकृयाहरू
...