आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित भइरहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले वर्षा गराउन सक्ने अनुमान गरिएको हो।
पूर्वानुमानअनुसार मंगलबारदेखि नै आकाशमा बादल बढ्न थाल्नेछ भने बिहीबार रातिबाट वर्षा सुरु हुन सक्छ। बिहीबार रातिदेखि शुक्रबार रातिसम्मको अवधि वर्षाका दृष्टिले बढी सक्रिय रहने अनुमान गरिएको छ।
विशेषगरी बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका केही क्षेत्रमा पनि उल्लेख्य वर्षा हुने आँकलन गरिएको छ। केही स्थानमा चार दिनको अवधिमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने बताइएको छ।
लगातार तथा छोटो समयमा भारी वर्षा हुँदा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। पहाडी तथा हिमाली जिल्लाहरूमा जोखिम तुलनात्मक रूपमा बढी रहने देखिएको छ।