सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी मानवअधिकार समूहले इजिप्टको वायुसेनामाथि आक्रमण गरेको आरोप लगाएको भए पनि इजिप्टले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणपछि खानी क्षेत्रमा अफरातफरी मच्चिएको थियो। धेरै मजदुरको घटनास्थलमै मृत्यु भएको तथा केही अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ।
सुडानमा सन् २०२३ देखि जारी द्वन्द्वका कारण लाखौं मानिस जीविकोपार्जनका लागि जोखिमपूर्ण सुन उत्खननमा निर्भर बनेका छन्। विवादित हलायेब क्षेत्रमा भएको यो घटना स्रोतसाधन तथा सीमाक्षेत्रको नियन्त्रणलाई लिएर बढ्दो तनावको संकेतका रूपमा हेरिएको छ।