अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा गरेका छन्। ट्रम्पले दुवै पक्ष सहमत भएको दाबी गरे पनि सम्झौताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामलाई समर्थन गरेको बताएका छन् तर यसबारे अमेरिकी पक्षबाट थप विवरणको प्रतीक्षा रहेको जनाएका छन्। उनले युक्रेन शान्ति र तनाव न्यूनीकरणका प्रयासको पक्षमा रहेको बताए।
तर जेलेन्स्कीले ट्रम्पको घोषणापछि पनि रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि आक्रमण जारी राखेको आरोप लगाएका छन्। उनले खार्किभलगायत क्षेत्रमा ऊर्जा संरचनामा आक्रमण भएको बताएका छन्।
रुस–युक्रेन युद्धमा दुवै पक्षले एकअर्काका ऊर्जा तथा तेल पूर्वाधारलाई निशाना बनाउँदै आएका छन्। प्रस्तावित ऊर्जा युद्धविराम कार्यान्वयन भए यसले युद्धको थप विस्तार रोक्न र तनाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।