Friday 9th October 2026

कविता: सफर


-गोबिन्द राज ओझा (राजन)
कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन,
जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन।
आँखाभित्र सजाएका ती सुनौला स्वप्नहरू,
आज तिनै स्वप्न खोज्दा मनभित्र उज्यालो नाम छैन।
कति भेटिए बाटोमा, कति छुटे मोडहरूमा,
आफ्नो भन्ने कोही अब हृदयमा स्थिर स्थान छैन।
कहिल्यै धड्कन्थ्यो जुन घर, आफ्नै प्रेमको आँगनझैँ,
आज त्यही घरभित्र आफ्नोपनको कुनै गान छैन।
हिजोसम्म हात समाई साथ दिने ती आत्मीयहरू,
आज बोलाउँदा फर्केर आउने त्यस्तो कुनै बिहान छैन।
आफैँलाई भेट्न खोज्छु, भीडभित्र हराउँदै पनि,
आफ्नै मनको कुनाभित्र आफ्नै परिचयको ज्ञान छैन।
जतन गरी राखेको थिएँ मुटुभित्र एउटा संसार,
समयले खोसिदियो, अब आफ्नो भन्ने त्यो थान छैन।
घाउहरूका कथा बोकी हिँडिरहेँ युगौँदेखि,
कुनै ग्रन्थमा भेटिँदैन, यस्तो पीडाको बयान छैन।
प्यास बोकी मरुभूमि पारि भौतारिन्छु म अझै,
सागर छन् वरिपरि, तर मेरो भागमा पानीदान छैन।
कस्तो समय आयो यहाँ, हाँसो खोज्छन् सबै छिट्टै,
अरूको आँसु पुछ्न कसैसँग अब समयदान छैन।
आफूबाट भागेर आखिर कहाँसम्म पुग्ला मान्छे,
आफ्नै छायाँ साथ भए पनि आफ्नै मनमा स्थान छैन।
सफर लामो छ अझै, रात ढल्दै बिहान आउला,
आशा जीवित छ भने जीवन कहिल्यै सुनसान छैन।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...