पूर्वी युक्रेनको महत्वपूर्ण सहर क्रामाटोर्स्क तर्फ रुसी सेना बिस्तारै नजिकिँदै गएको छ। युक्रेनी अधिकारीहरूका अनुसार सहरमा दैनिक रूपमा बम र ड्रोन आक्रमण भइरहेका छन्, जसले जनजीवन निकै कठिन बनाएको छ।
त्यहाँ सहरका अधिकांश पुल नष्ट भइसकेका छन् र मानिसहरू सुरक्षा चिन्ताका कारण हतियार बोकेर हिँड्न बाध्य छन्।
युद्ध विश्लेषकहरूका अनुसार रूसले डोनबस क्षेत्रमा रहेको युक्रेनको प्रमुख रक्षात्मक क्षेत्र “फोर्ट्रेस बेल्ट” लाई कमजोर बनाउने प्रयास गरिरहेको छ। यस क्षेत्रमा स्लोभियान्स्क, क्रामाटोर्स्क, ड्रुज्खिभ्का र कोस्त्यान्तिनिभ्का जस्ता महत्वपूर्ण सहरहरू पर्छन्।
रूसको प्रगति सुस्त भए पनि उसले निरन्तर दबाब बढाइरहेको छ। यद्यपि यस क्रममा रुसी सेनाले ठूलो सैनिक क्षति व्यहोर्नुपरेको बताइएको छ।
यसैबीच, अग्रपंक्तिनजिकका क्षेत्रमा बसोबास गर्ने हजारौँ नागरिकका लागि अवस्था झन् कठिन बन्दै गएको छ। बारम्बारका आक्रमण, ड्रोनको खतरा र क्षतिग्रस्त पूर्वाधारका कारण उद्धार तथा आपूर्ति कार्य पनि चुनौतीपूर्ण बनेको छ।
सरसर्ती हेर्दा रूसले भविष्यमा स्लोभियान्स्क र क्रामाटोर्स्कमाथि ठूलो आक्रमण गर्न सक्ने अवस्था सिर्जना भएको छ ।