सरकारले रसुवा–भोटेकोसी बाढीलगायत विभिन्न विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।
शिक्षामन्त्री सस्मित पोखरेलले सोमबार सार्वजनिक गरेको योजनाअन्तर्गत बाढी प्रभावित विद्यार्थीलाई आवासीयसहित पूर्ण वा आंशिक छात्रवृत्ति प्रदान गरिनेछ। दुवै अभिभावक गुमाएका बालबालिकालाई पहिलो प्राथमिकता दिइने र आवश्यकताअनुसार होस्टेलमा राखेर अध्ययनको व्यवस्था गरिने जनाइएको छ।
प्रारम्भिक चरणमा हिसान, प्याब्सन, एनप्याब्सन, ओपिन र नेपाल मन्टेश्वरी संघले सरकारसँग सहकार्य गरेका छन्। शिक्षा मन्त्रालयका अनुसार रसुवा–भोटेकोसी बाढीपछि २८ शिक्षक र ५ सयभन्दा बढी विद्यार्थी अझै सम्पर्कविहीन छन्। प्रभावित बालबालिकाको अध्ययन नरोकिने सुनिश्चित गर्न यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो।