अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी किभ पुगेका छन्। उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली प्रतिनिधिहरूसँग युद्ध अन्त्यका सम्भावित उपायबारे छलफल गरेका छन्।
वार्तापछि अमेरिकी पक्षले शान्तिपूर्ण समाधानप्रति आशावादी रहेको जनाएको छ। यस बीच, कूटनीतिक पहललाई सहयोग पुर्याउन रूस र युक्रेनले आफ्ना राजधानीहरूमा ७२ घण्टे अस्थायी युद्धविराम लागू गरेका छन्। यद्यपि राजधानी बाहिरका क्षेत्रमा रूसी आक्रमण जारी रहेको युक्रेनले जनाएको छ।
जेलेन्स्कीले न्यायपूर्ण शान्ति र भविष्यमा रूसी आक्रमण दोहोरिन नदिने व्यवस्था आवश्यक रहेको बताएका छन्।