इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् भने ७१२ उडान रद्द वा प्रभावित भएका छन्।
ज्वालामुखीबाट निस्किएको खरानी ५० हजार फिटसम्म पुगेपछि जकार्तासहित विभिन्न क्षेत्रका विमानस्थल बन्द गरिएका हुन्। सिंगापुर, दोहा, सिड्नी र क्वालालम्पुर जाने तथा आउने उडानहरूमा समेत असर परेको छ।
अधिकारीहरूले हाल सुनामीको जोखिम नरहेको बताएका छन्। प्रभावित क्षेत्रका बासिन्दालाई घरभित्र बस्न र मास्क प्रयोग गर्न आग्रह गरिएको छ। खरानीका कारण केही विद्यालय बन्द गरिएका छन् भने स्थानीय बासिन्दाले आँखा पोल्ने र सास फेर्न समस्या भएको बताएका छन्।