इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
दुर्घटना लाल सागर किनारका पर्यटकीय सहर दहाब र नुवेइबा जोड्ने राजमार्गमा भएको हो। बसमा ४३ जना सवार थिए, जसमध्ये २२ जना जोर्डनका नागरिक रहेका थिए। मृत्यु हुनेमध्ये १० जना जोर्डनका नागरिक रहेको जनाइएको छ।
घटनापछि २० वटा एम्बुलेन्स परिचालन गरी घाइतेहरूलाई नजिकका अस्पतालमा उपचारका लागि पठाइएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजिप्टमा सडक दुर्घटनाको समस्या गम्भीर बन्दै गएको छ। सरकारी तथ्यांकअनुसार गत वर्ष मात्र देशभर करिब ६ हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए।