अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव फेरि बढेको छ। अमेरिकाले यी आक्रमणहरू होर्मुज जलडमरूमध्यमा जहाज र आफ्ना सैनिकमाथि भएको कथित इरानी गतिविधिको जवाफ भएको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले थप जवाफ दिए अझ कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। त्यसपछि इरानले “कडा प्रतिकार” गर्ने घोषणा गर्दै जोर्डनतर्फ मिसाइल प्रहार गरेको जनाएको छ।
इरानका अनुसार अमेरिकी मिसाइल आक्रमणमा दक्षिणी इरानको सिरिक क्षेत्रमा विवाह समारोह भइरहेको घरमा क्षति पुग्दा एक बालकसहित ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।
जोर्डनले इरानबाट प्रहार गरिएका १३ वटा ब्यालेस्टिक मिसाइलमध्ये अधिकांशलाई आकाशमै खसालेको जनाएको छ। कुवेतले पनि आफ्ना वायु रक्षा प्रणाली सक्रिय गरी इरानी मिसाइलहरूलाई रोक्ने प्रयास गरेको बताएको छ।