स्विट्जरल्याण्डको आराउस्थित एक र्याभ (Rave) कार्यक्रममा भएको गोलीकाण्डमा २२ वर्षीया एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार घटनापछि संदिग्ध आक्रमणकारीको खोजीका लागि व्यापक खोज अभियान सञ्चालन गरिएको छ।
घटना आइतबार बिहान सबेरै भएको बताइएको छ। घाइतेमध्ये चार पुरुष र एक महिला रहेका छन्, जसको उमेर २४ देखि २७ वर्षबीच रहेको छ। केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।
प्रहरीले घटनास्थल वरपरका क्षेत्रहरू घेराबन्दी गरेको छ र स्थानीय बासिन्दालाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। प्रत्यक्षदर्शीका अनुसार स्थानीय समयअनुसार करिब २:३० बजे गोली चलेको थियो।
प्रहरीले घटनाको कारण र आक्रमणकारीको पहिचानबारे अनुसन्धान जारी राखेको जनाएको छ।