Friday 28th August 2026

बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत संकलन समिति गठन


नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कुवेतमा रहेका नेपाली समुदायबाट सहयोग संकलन गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतको नेतृत्वमा राहत सहयोग संकलन समिति गठन गरिएको छ।

कुवेतमा रहेका नेपाली संघ–संस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकले प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बैठकले विपद्को यस कठिन घडीमा प्रभावित नेपालीको राहत तथा पुनःस्थापनाका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग जुटाउने निर्णय गरेको हो।

नेपाल सरकारले विपद् प्रभावितका लागि संकलन हुने सहयोगलाई एकद्वार नीति अन्तर्गत व्यवस्थित गर्ने भएकाले कुवेतमा संकलन हुने रकम पनि सोही नीतिअनुसार व्यवस्थापन गरिने भएको छ। समितिले संकलन गरेको सम्पूर्ण रकम नेपाली राजदूतावास कुवेतमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने निर्णय गरिएको छ। यसबाट राहत रकम पारदर्शी तथा व्यवस्थित रूपमा सरकारी संयन्त्रमार्फत प्रभावित नागरिकसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास लिइएको छ।

बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले गठन गरिएको समितिले कुवेतमा रहेका नेपाली समुदाय, विभिन्न संघ–संस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा सहयोगी मनहरूलाई अभियानमा सहभागी भई आफूले सक्ने सहयोग गर्न अपिल गरेको छ।

राहत सहयोग संकलन समिति

1. दिल कुमार पाख्रिन
2. विकास बहादुर सिंह
3. सुजन के.सी.
4. होम नाथ गिरी
5. राज मल्ल
6. रोशन राई
7. ईश्वर भण्डारी
8. केशल घलान
9. चुडा भट्टराई
10. जीवन सुनार
11. युवराज गैरे
12. इन्दिरा राई
13. निरज सिङ्ग ठकुरी
14. रमिता योन्जन
15. दुर्गा रोक्का
16. प्रविण थापा तामाङ
17. खुम रायमाझी
18. बल बहादुर काम्बाङ
19. कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्थाका अध्यक्षहरू पदेन सदस्य रहने

समितिको कार्यलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन कुवेतमा रहेका सम्पूर्ण पत्रकारहरूलाई पर्यवेक्षकको भूमिकामा रहने व्यवस्था गरिएको छ। पत्रकारहरूको पर्यवेक्षणले सहयोग संकलन तथा रकम हस्तान्तरण प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समितिले विपद्को समयमा मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै कुनै राजनीतिक, क्षेत्रीय वा व्यक्तिगत विभेदबिना प्रभावित नेपालीको सहयोगका लागि सबैलाई एकजुट हुन आह्वान गरेको छ। कुवेतमा रहेका सम्पूर्ण नेपालीको सानो–सानो सहयोगले पनि विपद्मा परेका परिवारका लागि ठूलो राहत बन्न सक्ने भन्दै अभियानमा साथ दिन आग्रह गरिएको छ।

नेपालका बाढी तथा पहिरो प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि कुवेतबाट जुट्ने सहयोग सम्बन्धित सरकारी कोषमा एकीकृत रूपमा पुर्‍याउने उद्देश्यसहित यो अभियान अघि बढाइएको हो।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि झापाली समाज…

भरतपुर — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा बगेर बेपत्ता भएकामध्ये चितवनमा हालसम्म १३५ वटा शव संकलन गरिएको छ। संकलित…

हिजोको बाढीले घर मात्र बगाएन—कैयौँ परिवारको संसार नै बगायो। कतै आमाको काख रित्तियो, कतै बाबुको सहारा खोसियो, कतै सिंगो परिवार…

प्रतिकृयाहरू
...