Tuesday 22nd September 2026

जेल जानुपरे वा ज्यानको जोखिम भए पनि स्वदेश फर्कने – हसिना


बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतको नयाँ दिल्लीबाट आयोजित पत्रकार सम्मेलनमा आफू डिसेम्बर २०२६ भित्र बंगलादेश फर्कने घोषणा गर्दै कुनै पनि परिस्थितिसँग सामना गर्न तयार रहेको बताइन्। जेल जानुपरे पनि वा ज्यानको जोखिम भए पनि स्वदेश फर्कने आफ्नो निर्णय नबदलिने उनको भनाइ थियो। उनले आफ्नो उद्देश्य सत्ता प्राप्त गर्नु नभई देश र जनताको सेवा गर्नु रहेको दाबी गरिन्।

हसिनाले आफ्नो पार्टी अवामी लिगमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै लोकतान्त्रिक व्यवस्थामा कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु उचित नहुने बताइन्। उनले पक्राउ परेका पार्टी नेता–कार्यकर्तालाई रिहा गर्न, निष्पक्ष राजनीतिक वातावरण सिर्जना गर्न तथा जनतालाई स्वतन्त्र रूपमा आफ्नो मत व्यक्त गर्ने अधिकार सुनिश्चित गर्न वर्तमान सरकारसँग आग्रह गरिन्।

पत्रकार सम्मेलनमा उनले सन् २०२४ को विद्यार्थी आन्दोलनबारे पनि आफ्नो धारणा राखिन्। सुरुआतमा आन्दोलन शान्तिपूर्ण भए पनि पछि केही शक्तिहरूले त्यसलाई सत्ता परिवर्तनको अभियानमा रूपान्तरण गरेको उनको आरोप थियो। उनले आन्दोलनका क्रममा हिंसा भड्काइएको र त्यसको वास्तविक उद्देश्य सरकार परिवर्तन रहेको दाबी गर्दै यसबारे निष्पक्ष छानबिन हुनुपर्ने बताइन्।

वर्तमान अन्तरिम सरकारमाथि कडा टिप्पणी गर्दै हसिनाले बंगलादेशको अर्थतन्त्र कमजोर बन्दै गएको, लगानी घटेको, बेरोजगारी बढेको तथा कानुनी शासन र लोकतान्त्रिक संस्थाहरू कमजोर पारिएको आरोप लगाइन्। देशमा राजनीतिक अस्थिरता बढेको भन्दै उनले जनताको मतबाट निर्वाचित सरकारमार्फत मात्रै दीर्घकालीन समाधान सम्भव हुने धारणा व्यक्त गरिन्।

उक्त पत्रकार सम्मेलनमा हसिनाका छोरा सजिब वाजेद जोय तथा पूर्व बंगलादेशी क्रिकेट कप्तान एवं अवामी लिग नेता शाकिब अल हसन पनि अनलाइनमार्फत सहभागी भएका थिए। जोयले वर्तमान अवस्थाले बंगलादेशको भविष्यप्रति चिन्ता बढाएको बताए भने शाकिबले लोकतान्त्रिक प्रक्रिया पुनःस्थापना र राजनीतिक संवादको आवश्यकता औंल्याएका थिए। हसिनाको यो सम्बोधन सन् २०२४ मा सत्ता गुमाएपछि गरिएको पहिलो सार्वजनिक पत्रकार सम्मेलन भएकाले यसले बंगलादेशको राजनीतिमा नयाँ बहस सुरु गराएको छ।


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...