मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै त्यस क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई आवश्यक परे मध्यपूर्व छाड्ने तयारी गर्न आग्रह गरेका छन्।
अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सूचनामा “क्षेत्रको सुरक्षा अवस्था निरन्तर जटिल बन्दै गएको छ र कुनै पनि बेला अचानक थप बिग्रन सक्ने जोखिम रहेको” उल्लेख गर्दै अत्यधिक सतर्क रहन अनुरोध गरेको छ।
दूतावासले नागरिकलाई उडान रद्द हुन सक्ने, हवाई क्षेत्र अस्थायी रूपमा बन्द हुन सक्ने तथा अन्य यात्रा अवरोध उत्पन्न हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै वैकल्पिक योजना तयार राख्न पनि आग्रह गरेको छ।
यो चेतावनी इरानी सेनाले अमेरिकामाथि मध्यपूर्वमा तनाव चर्काएको आरोप लगाइरहेका बेला आएको हो। यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारमाथि सम्भावित सैन्य कारबाहीको तयारी गरिरहेको दाबी गरेका थिए।
दूतावासका अनुसार केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान पुनः सञ्चालनको योजना स्थगित गरेका छन् भने केहीले चयनित गन्तव्यका उडानहरू नै रद्द गरेका छन्।
अमेरिकी नागरिकलाई परिस्थितिको निरन्तर निगरानी गर्न, सम्भव भए क्षेत्रबाट बाहिरिने विकल्पबारे विचार गर्न तथा अवस्था थप बिग्रिए तत्काल सुरक्षित रूपमा स्थानान्तरण हुन सक्ने गरी तयारी अवस्थामा रहन सुझाव दिइएको छ।
बीबीसी अरेबीका अनुसार काहिरा, अम्मान, यरुशलमलगायत मध्यपूर्वका विभिन्न सहरमा रहेका अमेरिकी दूतावासहरूले पनि यस्तै प्रकृतिका सुरक्षा सन्देश जारी गरेका छन्। ती सूचनामा इरानी सरकारको व्यवहार अप्रत्याशित रहेको र पछिल्ला घटनाक्रमले पूर्वसूचना वा स्पष्ट उक्साहटबिनै क्षेत्रका विभिन्न स्थानलाई निशाना बनाउन सक्ने जोखिम रहेको उल्लेख गरिएको छ।