कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास (क्याम्प) को भ्रमण गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा श्रम सहचारी जनार्दन गौतम र द्वितीय सचिव शिव बानियाँ ले करिब ५० जना नेपाली श्रमिकसँग करिब दुई घण्टासम्म प्रत्यक्ष संवाद गर्दै उनीहरूका जिज्ञासा, समस्या तथा सुझाव सुन्नुभएको थियो।![]()
अन्तरक्रियाका क्रममा श्रम सहचारी गौतमले कुवेतमा कार्यरत नेपाली श्रमिकले पालना गर्नुपर्ने कानुन, अधिकार र दायित्वबारे विस्तृत जानकारी दिनुभयो। उहाँले कुवेती कानुनको पूर्ण सम्मान गर्दै जिम्मेवार नागरिकको रूपमा व्यवहार गर्न आग्रह गर्नुभयो। पछिल्लो संवेदनशील क्षेत्रीय परिस्थितिलाई मध्यनजर गर्दै कुनै पनि युद्ध वा सैन्य गतिविधिसम्बन्धी फोटो तथा भिडियो खिच्ने वा सामाजिक सञ्जालमा साझा नगर्न विशेष आग्रह गर्नुभयो।
उहाँले पछिल्लो समय धेरै नेपाली विभिन्न प्रकारका अनलाइन ठगी (स्क्याम) को शिकार भइरहेको उल्लेख गर्दै डिजिटल करेन्सी वा छिट्टै धनी बनाइदिने प्रलोभनमा नपर्न सचेत गराउनुभयो। विदेशमा रहँदा अरूको सामान वा पार्सल ल्याउने–लाने क्रममा त्यसको प्रकृति राम्रोसँग बुझेर मात्र जिम्मेवारी लिनुपर्ने सुझाव पनि दिनुभयो।
त्यसैगरी, राहदानी (पासपोर्ट) र सिभिल आईडीको दुरुपयोगका कारण धेरै नेपाली कानुनी समस्यामा परेको तथा जेल सजायसमेत भोग्नुपरेका घटनाहरू दूतावासले देखिरहेको उल्लेख गर्दै आफ्ना व्यक्तिगत कागजात कुनै पनि अवस्थामा अरूलाई प्रयोग गर्न नदिन आग्रह गर्नुभयो।![]()
उहाँले नेपाली दूतावासको आधिकारिक फेसबुक पेज नियमित रूपमा पछ्याउन, सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्न तथा कुनै कानुनी समस्या परेमा नेपालमै रहेका मुद्दा–मामिलासमेत विदेशबाट कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा दूतावाससँग सम्पर्कमा रहन अनुरोध गर्नुभयो। साथै, ‘साहेल’ (Sahel) एप प्रयोग गरी कुवेत सरकारका विभिन्न सेवाहरू तथा सूचनामा सहज पहुँच प्राप्त गर्न सकिने जानकारी पनि दिनुभयो।
अन्तरक्रियाका क्रममा मदिरा तथा लागू पदार्थको दुरुपयोग, सहजीवन (Living Together) सम्बन्धी कुवेती कानुनी व्यवस्था र त्यसबाट उत्पन्न हुन सक्ने कानुनी जोखिमबारे पनि जानकारी गराइएको थियो।
कार्यक्रममा बोल्दै द्वितीय सचिव शिव बानियाँ ले अधिकांश नेपाली श्रमिकप्रति रोजगारदाताको धारणा सकारात्मक रहे पनि केही व्यक्तिगत बानी तथा व्यवहारमा सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाली दूतावास सधैँ श्रमिकहरूको साथमा रहेको उल्लेख गर्दै कुनै पनि समस्या पर्दा निर्धक्क रूपमा दूतावाससँग सम्पर्क गर्न आग्रह गर्नुभयो।
उहाँले जानकारीको अभाव, अत्यधिक विश्वास, अरूको प्रलोभनमा पर्ने प्रवृत्ति तथा विभिन्न अपराधिक गतिविधिमा अनाहकमा फस्ने कारण धेरै नेपाली जेलसम्म पुग्ने गरेको उदाहरण प्रस्तुत गर्दै विदेशमा बस्दा हरेक कदम सोचविचार गरेर चाल्नुपर्नेमा जोड दिनुभयो।![]()
कार्यक्रममा सहभागी श्रमिकहरूले दूतावासको प्रत्यक्ष उपस्थितिले आफूहरूलाई कानुनी सचेतना, सुरक्षा तथा आफ्ना अधिकारबारे स्पष्ट जानकारी प्राप्त भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।
प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएपछि नेपाली दूतावासका पदाधिकारीहरूले कम्पनीको श्रमिक आवास (क्याम्प) को निरीक्षणसमेत गर्नुभएको थियो। निरीक्षणका क्रममा श्रमिकहरू बसोबास गर्ने कोठा, सरसफाइ, सुरक्षा तथा आधारभूत सुविधाको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सुधार गर्नुपर्ने पक्षबारे कम्पनी व्यवस्थापनसँग छलफल गर्नुभएको थियो।
कार्यक्रममा अलमुल्ला क्लिनिङ कम्पनीका म्यानेजरसहित व्यवस्थापन टोलीको पनि उपस्थिति रहेको थियो। कम्पनी व्यवस्थापनले नेपाली श्रमिकहरूलाई सुरक्षित, व्यवस्थित र कानुनसम्मत कार्य वातावरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो भने दूतावासले श्रमिकहरूको हकहित, सुरक्षा र कल्याणका विषयमा कम्पनीसँग निरन्तर समन्वय गर्दै जाने जनाएको थियो।
उक्त कम्पनीमा करिब १९ सय नेपाली कामदारहरु कार्यरत रहेका छन ।