अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणले सत्ता परिवर्तन गर्ने लक्ष्य पूरा हुन सकेन र अन्ततः ११० दिनपछि अमेरिकाले इरानसँग अन्तरिम शान्ति समझ्दारी गर्यो। यससँगै आक्रमण रोक्ने, प्रतिबन्ध हटाउने र वार्ताबाट समाधान खोज्ने सहमति भयो। यस घटनालाई केहीले अमेरिकाको कमजोरी वा असफलताको रूपमा हेरेका छन्।
यसबीच चीनले कूटनीतिक रूपमा आफ्नो प्रभाव विस्तार गरेको देखिन्छ। युद्धका क्रममा चीनले तटस्थता कायम राख्दै शान्तिको पक्षमा आवाज उठायो, इरानसँग सम्बन्ध कायम राख्यो तथा ऊर्जा संकटलाई रणनीतिक रूपमा उपयोग गर्यो। चीनले दुवै पक्षसँग संवाद कायम राख्दै सन्तुलित भूमिका खेल्यो ।
अहिले अमेरिकाले पनि चीनको तटस्थ भूमिकाको प्रशंसा गरेको छ। विश्लेषकहरूका अनुसार यो द्वन्द्वले विश्व शक्ति सन्तुलनमा परिवर्तनका संकेत देखाएको छ, जसले अमेरिकी प्रभाव केही कमजोर र चीनको भूमिका सुदृढ भएको देखाउँछ।
यस घटनालाई कतिपयले ‘सुएज संकट’ जस्तै ऐतिहासिक मोडसँग तुलना गर्दै बहुध्रुवीय विश्व व्यवस्थातर्फको संकेत मानेका छन्। तर विज्ञहरूका अनुसार अमेरिका अझै पनि शक्तिशाली रहनेछ, तर आफ्नो वर्चस्व कायम राख्न अब बढी मूल्य चुकाउनुपर्ने अवस्था देखिएको छ।