Thursday 29th October 2026

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क लागू हुने


काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको प्रकारअनुसार शुल्कदर निर्धारण गरेको जनाएको छ।

आयोजनाका अनुसार सुरुङमार्गको सञ्चालन तथा मर्मतसम्भारका लागि सेवा प्रयोग गर्ने सवारीसाधनबाट शुल्क संकलन गरिनेछ। शुल्क निर्धारण नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार गरिएको हो।

सार्वजनिक गरिएको दरअनुसार काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनका लागि फरक–फरक शुल्क तोकिएको छ। कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, मिनिबस तथा मिनिटिपर/ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ। बस तथा सिंगल रियर एक्सल भएका ट्रकले प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।

भारी सवारीसाधनतर्फ मल्टी एक्सल ट्रक, निर्माण उपकरण तथा अन्य ठूला साधनहरूले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालकै पहिलो सडक सुरुङमार्गमध्ये एक हो। यसले काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको यात्रा समय घटाउने तथा नागढुंगा सडकखण्डमा हुने सवारी जाम कम गर्ने अपेक्षा गरिएको छ।

आयोजनाले कात्तिक १५ गतेदेखि नियमित रूपमा टोल शुल्क संकलन सुरु हुने जानकारी दिएको छ। चालक तथा सवारीधनीलाई सुरुङमार्ग प्रयोग गर्दा तोकिएको शुल्क तिर्न तथा ट्राफिक नियम पालना गर्न आग्रह गरिएको छ।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...